कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जोखिमपूर्ण स्थानमा ‘बोल्डर क्रेटिङ’

नदी नियन्त्रण
अवधेशकुमार झा

राजविराज — सप्तरीवासीलाई हरेक वर्ष वर्षातमा दु:ख दिने खाँडो नदीको तटबन्धअन्तर्गत जोखिमपूर्ण स्थानमा ‘बोल्डर क्रेटिङ’ गरिएको छ । गतवर्ष बालुवाको बाँध मात्र निर्माण गरिँदा कयौं स्थानमा तटबन्ध कटान भई नदीको बाढी मानव बस्तीमा प्रवेश गरेको थियो ।

जोखिमपूर्ण स्थानमा ‘बोल्डर क्रेटिङ’

खाँडो नदी नियन्त्रण गर्ने क्रममा यसवर्ष पूर्वी र पश्चिमी तटबन्ध मजबुत बनाउन ‘बोल्डर क्रेटिङ’ गरिएको र थप स्थानमा क्रेटिङ गर्ने कार्य भइरहेको खाँडो नदी नियन्त्रण आयोजना राजविराजका प्रमुख डिभिजनल इन्जिनियर विष्णुदेव यादवले बताए । प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोलीले खाँडोको तटबन्ध र भइरहेका कार्यबारे जानकारी लिएका छन् ।

‘गर्नुपर्ने काम धेरै छन्, साधनस्रोत र बजेट सीमित छ,’ प्रजिअ सुरेन्द्र पौडेलले भने, ‘भएका साधनस्रोतको अधिकतम प्रयोग गरी तटबन्ध मजबुत बनाउने कार्य भइरहेको छ ।’ उनले वर्षात सुरु भइरहेकाले नदी नियन्त्रणमा भइरहेको काम चाँडो सक्न निर्देशन दिए । खाँडो नदीको पूर्वी र पश्चिमी तटबन्धमा भइरहेका नियन्त्रणका कार्यबारे अनुगमनपश्चात प्रजिअ पौडेलले काम दु्रत गतिमा गुणस्तरीय तरिकाले गर्न निर्देशन दिए ।

यसवर्ष खाँडोको तटबन्धअन्तर्गत ५ किलोमिटरभन्दा बढीमा बोल्डर क्रेटिङ गरी तटबन्ध मजबुतीकरण गर्ने योजना रहेको छ । जसअन्तर्गत हालसम्म ३ किलोमिटर बोल्डर क्रेटिङको कार्य सम्पन्न भइसकेको र बाँकी पनि अन्तिम चरणमा रहेको आयोजनाका इन्जिनियर कुलदीप यादवले जानकारी दिए ।

गतवर्ष खाँडोमा २२ करोड खर्च गरिए पनि असारदेखि नै तटबन्ध कटानको शृंखला सुरु भएको थियो । गतवर्ष झन्डै १ दर्जन स्थानमा खाँडोको बाढीले तटबन्ध भत्काएको थियो भने कटान नियन्त्रणका क्रममा सुरक्षाकर्मीसँगै खटिइरहेका बेला देउरी भरुवामा एक जना डुबेर बेपता भएका थिए । देउरी भरुवा, मलेठ, डुमरी शिवथान, दिघवा, बिरौल र पौवाटोल नजिक खाँडोको बाढीले बाँध नै भत्काएको थियो । यस्तै लौनिया, विषहरिया, दिघवा, तोपालगायत विभिन्न स्थानमा गरी एक हजार मिटरभन्दा बढी तटबन्ध बाढीले कटान गरेको थियो । बाढीले तटबन्ध सुरक्षार्थ नदीमा लगाइएको ७ सय २० वटा प्रोकोपाइनसमेत बगेको थियो ।

तिलाठी र सकरपुरा लगायतमा गाउँबाट त नदी नै बगेको थियो । आयोजनाका इन्जिनयर यादवका अनुसार यसवर्ष ६ वटा टेन्डरबाट खाँडो नदीका विभिन्न स्थानमा तटबन्धमा बोल्डर क्रेटिङको कार्य भइरहेको छ । ‘दक्षिणमा लौनियासम्म तटबन्ध मजबुतीकरण गर्ने गरी यसवर्ष कार्य भइरहेको छ,’ इन्जिनियर यादवले भने । ‘बजेटले भ्याएसम्म कति गर्न सकिन्छ त्यति बोल्डर क्रेटिङ नै हुन्छ,’ आयोजना प्रमुख डिइ यादवले भने, ‘बालुवा मात्रको तटबन्धले हुँदैन, बोल्डर क्रेटिङबिना तटबन्ध सुरक्षित रहन सक्दैन, त्यसकारण क्रेटिङ नै गरी तटबन्ध मजबुतीकरण कार्य भइरहेको छ ।’

माथिल्लो भागमा तटबन्ध मजबुतीकरण भइरहे पनि खाँडो खोलाको पश्चिमी तटबन्धअन्तर्गत पुछारमा तिलाठीनजिक अझै पनि तटबन्ध निर्माण सुरु हुन सकेको छैन । नम्बरी जग्गा परेको भन्दै स्थानीयले मुआब्जा लगायतका माग राख्दै तटबन्ध निर्माण गर्न नदिएपछि गत वर्षदेखि नै तिलाठीमा तटबन्ध निर्माण सुरु हुन सकिरहेको छैन ।

प्रकाशित : असार ४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?