१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मेयर–उपमेयर विवाद: १ वर्षदेखि उपमेयर ‘बाइपास’

लक्ष्मी साह

बारा — पचरौता नगरपालिकाको मेयर र उपमेयरबीच चुनाव जितेदेखि सुर भएको विवाद अहिलेसम्म नसुल्झिँदा यहाँको काम प्रभावित भएको छ । चुनाव भएको वर्ष बित्न लाग्दासमेत दुबैबीचको विवाद नसुल्झिँदा अरू जनप्रतिनिधि हैरान छन् ।

मेयर–उपमेयर विवाद: १ वर्षदेखि उपमेयर ‘बाइपास’

विवादले पालिकाको आन्तरिक व्यवस्थापनदेखि बाहिरसम्म असर परेको छ । संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका मेयर रमेशकुमार यादव र राजपाबाट जितेकी उपमेयर इन्दुकुमारी यादवबीच चुलिएको विवाद सतहमा पुगेको हो । शपथग्रहण लिएको वर्ष दिनदेखि नै दुबैबीच शुद्ध बोलचालसमेत छैन । उनीहरूबीचको विवाद स्थानीय प्रशासनदेखि मन्त्रालयसम्म पुगेको छ ।

विवाद चुलिएपछि दुबैबीच लिखित जानकारीसम्बन्धी पत्राचारको एकअर्काबीच वर्षदेखि जुहारी चल्दै आएको छ । मैले यो सोधें, त मैले त्यो जानकारी मागें भन्दै दुबैले पत्रको फाइल देखाउँदै अन्तै ‘लबिइङ’ गर्दै हिँडेको देखिन्छ । दुबैबीच समन्वय अभावमा विकास निर्माणको अनुगमनसँगै न्यायिक समितिको काम अवरूद्ध भएको छ । ‘मलाई मेयरले सधैं ‘बाइपास’ गरेर राख्नुभयो,’ उपमेयर इन्दु कुमारी यादवले भनिन्, ‘बहुमतको अहंले ‘बाइपास’ राख्दा आफ्नो संयोजकत्वमा गठित आधा दर्जन समितिको काम प्रभावित भएको छ ।

स्थानीय प्रशासनदेखि मन्त्रालयसम्म गुनासो पोख्दा कसैले सुनेको छैन । सेवासुविधा त परै जाओस् ।’ आफ्नो संयोजकत्वमा न्यायिक समिति, राजस्व परामर्श समिति, गैरसरकारी संस्था समन्वय समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, विकास निर्माण अनुगमन समिति बने पनि नियमानुसार आफूले काम गर्न नपाएको उनले गुनासो गरिन् । उनका अनुसार न्यायिक समिति नगर सभाबाट गठन गर्नुपर्नेमा बोर्डबाट गठन गरियो ।

‘आएको मुद्दामा तोकआदेश गर्दासमेत दर्ता हुँदैनन् । गैरसरकारी संस्था र विकास निर्माण कहाँकहाँ के कति र कस्तो खाले योजना छ, त्यो पनि अनुगमनका लागि विवरण उपलब्ध गराएको छैन,’ उपमेयर इन्दुले भनिन्, ‘बजेट तथा कार्यक्रम तर्जुमा गर्ने आफ्नो जिम्मेवारी भए पनि अरू वडा अध्यक्षकै नेतृत्वमा बजेट तर्जुमा गरिएको छ ।’ कुन गैरसरकारकारी संस्थालाई कति बजेट केका लागि दिइएको छ, त्यो पनि आफुलाई जानकारी नदिइएको उनले बताइन् ।

‘१४ जनाले सामाजिक सुरक्षा भत्ता नपाएको उजुरी आफूकहाँ आउँदा सो भत्ता उपलब्ध गराउन आदेश गर्दासमेत सम्बन्धित व्यक्तिलाई धउपलब्ध नगराएपछि जिल्ला प्रशासनमा कारबाहीका लागि सिफारिस गर्नुपरेको छ,’ उपमेयर इन्दुले भनिन्, ‘कामै गर्न नदिने नियतले ‘मेयर साब’ ले सधैं ‘बाइपास’ गर्नुभएको छ ।’ स्थानीय प्रशासनले आफूलाई सुविधा दिन मेयरलाई सम्झाउँदा बुझाउँदासमेत वास्ता गर्नुभएको छैन ।’

अतिथिलाई चिया नास्तादेखि आफ्नो मोबाइल, गाडी र इन्धन सुविधासमेत आफ्नै खर्चले धानेको उनले बताइन् । अरू सबैलाई सुविधा दिइए पनि आफूलाई नदिइएको उनले गुनासो गरिन् । नगरपालिका कार्यालयको अनुसार सामाजिक विकास र भौतिक पूर्वाधारसहित सडक निर्माणमा झन्डै २२ करोड खर्च भइरहेको छ । यी बजेट सञ्चालनको अनुगमन गर्ने नियमतह जिम्मेवारी पाएकी उपमेयर इन्दुलाई बजेटको विवरणबारे थाहा छैन । ‘विवरण नै उपलब्ध गराउनुहुन्न । कसरी अनुगमन गर्ने ?’ उपमेयर इन्दुले भनिन् ।

नगरपालिकाको निमित्त कार्यकारी अधिकृत गौरी साहले उपमेयरले आफ्नो संयोजकत्वमा भएको समितिको बैठक नबसाउँदा र आफ्नो जिम्मेवारी पूरा नगर्दा उहाँको विकल्पमा कार्यपालिकाको कामकारबाही सुरु गरिएको बताए । ‘उपमेयर जी पहिला ‘अफिस’ मा बस्नुहुन्थ्यो, अब केही सातादेखि बस्न थाल्नु भएको छ । त्यसैले विवाद अब सुल्झिन्छ भन्ने आशा छ,’ उनले भने, ‘उहाँ आफ्नो सक्रियता न देखाएको कारण विवाद बल्झेर वर्ष बित्न लागेको छ ।’

गत शुक्रबार कलैयास्थित होटेल ‘कलैया इन’ मा दुबै पक्षको विवाद मिलाउन प्रयास गरिए पनि लिखित वा भरपर्दो सहमति नभएको स्रोतले बतायो । मेयरका तर्फबाट जिल्ला समन्वय समितिका अधिकृत भरत यादव, स्थानीय राजनीतिकर्मी अवधभूषण यादव र उपमेयरका तर्फबाट राजपाका केन्द्रीय नेता रामकिशोर यादव, राष्ट्रियसभा सदस्य रमेश यादवसहित मेयर रमेश र उपमेयर इन्दु सहभागी थिए ।

प्रकाशित : असार ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?