१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कारागारमा अवैध असुली

भूषण यादव

वीरगन्ज — पर्साको वीरगन्ज कारागारमा महिला कैदीहरूबाट चौकीदारले पैसा असुल्ने गरेका छन् । कारागारमा खटिने चौकीदारलाई रकम नबुझाए यातना दिने गरेको कैदी बन्दीहरूले बताएका छन् ।

कारागारमा अवैध असुली

गत वर्ष लागूऔषध मुद्दामा परी करिब डेढ वर्ष कैद सजाय भोगेर रिहा भएकी रूपा श्रेष्ठले कारागारभित्र अवैध रूपमा रकम असुली हुने गरेको गुनासो गरिन् । उनी गत असार १ गते रिहाइ भएकी हुन् । उनीजस्तै कारागारमा रहेका अन्य कैदी बन्दीले समेत त्यस्तो गुनासो गर्दै आएका छन् ।

वीरगन्ज कारागारमा एक सय जना महिला कैदी बन्दी छन् । ‘मागेजति पैसा नदिए अनेक यातना दिन्छन्,’ बारा सिमराकी रूपा श्रेष्ठले भनिन्, ‘गलत कुराको विरोध गर्दा पनि कुटपिट गर्छन्, बोल्नै पाइँदैन ।’

उनले आफन्त भेट्न आएका बेला दिएको पैसासमेत चौकीदारले जबरजस्ती लिने गरेको सुनाइन् । चौकीदारले कैदी बन्दीहरूसित जबरजस्ती रकम असुली व्यापक हुने गरेको गुनासो नौलो भने होइन । उनले कारागारमा मानव अधिकार टोली अनुगमन निरीक्षण आउँदा पहिले नै कारागारमा हुने नकारात्मक कुरा नगर्न, नबोल्न कैदी बन्दीलाई प्रतिबन्ध लगाउने गरिएको छ । ‘चौकीदारले जेलभित्र बाउन्सर पालेका छन्,’ उनले भनिन्, ‘कारागारमा चौकीदारको आदेश नमान्दा टेलिफोनमा कुराकानी गर्ने अवसरबाट समेत वञ्चित गराउँछन्, आफन्तसित भेटघाट गर्न पनि दिँदैनन् ।’

कारागारमा चौकीदारले उठाएको रकम जेल प्रशासनका कर्मचारीलाई दिने गरिएको बताइएको छ । कारागारका चौकीदार र जेल प्रशासनका कर्मचारीले जबरजस्ती कैदी बन्दीबाट जबरजस्ती रकम असुल गरेको विवरण संकलन गरेर मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई उपलब्ध गराएका छन् । तर अवैध रकम असुली र दुव्र्यवहारको विरोध गर्ने कैदीलाई कारागार प्रशासनले अन्यत्र सरुवा गरिदिने गरेको उनीहरूको गुनासो छ ।

महिला कैदी चौकीदार जमुना कुँवरले संकलन गरेको रकम कारागार प्रशासनका एक जना नायब सुब्बालाई दिने गरेको बताएका छन् । तर कारागार इन्चार्ज चक्रपाणि गौतमले कैदी बन्दीबाट रकम असुल गरिएको अस्वीकार गरेका छन् । उनले कुनै चौकीदार वा नाइकेसँग चित्त नबुझ्दा रिसइबी साध्नका लागि भए पनि कैदीबन्दीले उजुरी दिने गरेको बताए । उनका अनुसार कैदी बन्दीमध्येबाटै विश्वासिलो कैदीलाई चौकीदार बनाउने गरिएको छ । ‘विभिन्न निकायबाट बेलाबेला कारागारभित्र अनुगमन हुन्छ,’ कारागार इन्चार्ज गौतमले भने, ‘मैले जानेबुझेसम्म त्यस्तो भएको छैन, छ भने कारबाही गर्छु ।’

राणाकालमा स्थापना भएको वीरगन्ज कारागारमा महिला र पुरुष गरी हाल करिब ११ सय कैदीबन्दी छन् । क्षमताभन्दा झन्डै दोब्बर संख्या हुँदा कोचाकोच भएर बस्न बाध्य कैदी पछिल्लो समय कारागारको आन्तरिक प्रशासन हेर्ने चौकीदार र भाइ नाइकेको आर्थिक र शारीरिक शोषणले प्रताडित बनेका छन् । सुरक्षाको डरले जेलभित्र कोही बोल्न सक्दैनन् तर सजाय काटेर जेलबाट बाहिरिने बित्तिकै भेट्ने सबैलाई अवैध असुली र शारीरिक यातनाका किस्सा सुनाउने गरेका छन् ।

कारागारलाई यातनागृह नभई सुधारगृहका रूपमा विकास गर्ने सरकारको योजना रहे पनि त्यो प्रभावकारी कार्यान्वयनमा आएको देखिँदैन । कारागार तथा हिरासत अनुगमन मार्गनिर्देशिका २०६५ मा कैदीबन्दीहरूको हकहित संरक्षण तथा व्यावसायिक सीप विकास, शिक्षा, स्वास्थ्यलगायत उचित प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।

प्रकाशित : असार ५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?