२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

महानगरमा जनशक्ति अभाव

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकामा सीमित जनशक्तिका कारण कर्मचारीमाथि अत्यधिक कार्यभार बढेको छ । सेवाग्राहीले पनि कार्यालयबाट छिटो र छरितो सेवा पाउन सकिरहेका छैनन् । 

महानगरमा जनशक्ति अभाव

जनशक्ति अभावले आफूहरूलाई काम गर्न गार्‍हो भएको गुनासो महानगरपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषाल गर्छन् । हाल कार्यालयमा राजपत्रांकित द्वितीय तहको उपसचिव अधिकृत ५ जनाको दरबन्दी रहेकोमा ५ वटै पद रिक्त रहेका छन् ।


राजपत्रांकित द्वितीय उपसचिव (कृषि), राजपत्रांकित द्वितीय उपसचिव (स्वास्थ्य), उपसचिव लेखा राजपत्रांकित द्वितीय (लेखा) र सिनियर डिभिजन इन्जिनियर राजपत्रांकित द्वितीय (प्राविधिक सिभिल, जनरल, स्यानिटरी, सिँचाइ, हाइ वे), शाखा अधिकृत राजपत्रांकित तृतीय (शिक्षा/प्रशासन/कानुन) तहको एकएकवटा दरबन्दी रहेकोमा सबै खाली छन् ।


त्यसैगरी, अधिकृत २१ दरबन्दी रहेकोमा १७ पद रिक्त छ । महिला विकास/जनस्वास्थ्य अधिकृतका २ वटा दरबन्दी रहेकोमा एउटा खाली छ । नापी अधिकृतको एक, वन अधिकृतको ३, कम्प्युटर अधिकृतको एक, गुणस्तर नियमन अधिकृतको एक दरबन्दी रहेकोमा सबै खाली छन् ।


लेखा अधिकृतको २ दरबन्दीमा एक, कृषि तथा पशु विकास अधिकृतको २ दरबन्दीमा २, इन्जिनियरको ६ दरबदीमा ५, तथ्यांक अधिकृतको २ दरबन्दीमा एक, नगर प्रहरी निरीक्षकको २ दरबन्दीमा एक, शिक्षा प्राविधिक सहायकको २ दरबन्दीमा एक, कृषि प्राविधिक सहायकको २ दरबन्दीमा २ खाली छन् । लेखापालको ७ वटै दरबन्दी खाली छ ।


अन्य अधिकांश पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । संघीय बाहेकका महानगरपालिकाको जम्मा कर्मचारी संख्या ६ सय ५५ छ । तिनमा अधिकांश श्रेणीविहीन कर्मचारी हुन् ।


जसमा ८ फायरम्यान जवान, ४५ कार्यालय सहयोगी, ३ चैनम्यान, १० चौकीदार, १५ कुल्ली, ८ माली, १ यान्त्रिक हेल्पर, ४३ नाइके र १ सय ९३ स्वीपर छन् । जनशक्ति कम हुँदा सीमित जनशक्तिउपर अत्यधिक कार्यभार परेको अधिकृत भुषाल बताउँछन् । ‘हामी बिहान ६ देखि राति ९ बजेसम्म पनि कार्यालयकै काम गरिरहेका हुन्छौं,’ उनले भने, ‘यसरी काम गर्न निक्कै गार्‍हो भएको छ ।’


कार्यालयमा अधिकृत स्तरका कर्मचारी कम र तल्लो तहका कर्मचारी बढी रहेको अवस्था छ । यस्तो अवस्थामा तल्लो तहका कर्मचारीबाट अधिकृत तहका कर्मचारीले गर्ने काम लिन सकिँदैन । ‘दक्षता नभएका कर्मचारीबाट दक्ष काम लिन सकिँदैन,’ उनले भने, ‘अप्ठेरो गरी जेनतेन कार्यालय सञ्चालन गरेका छौं ।’


आफूले कार्यालयमा रहेको यो समस्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी जानकारी गराइसकेको उनले बताए । असार मसान्तसम्म अपुग कर्मचारीको व्यवस्था गरिदिने आश्वासन मन्त्रालयबाट पाएको उनले बताए ।

प्रकाशित : असार ६, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?