महानगरमा जनशक्ति अभाव

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकामा सीमित जनशक्तिका कारण कर्मचारीमाथि अत्यधिक कार्यभार बढेको छ । सेवाग्राहीले पनि कार्यालयबाट छिटो र छरितो सेवा पाउन सकिरहेका छैनन् । 

वीरगन्ज महानगरपालिकाको कार्यालय । तस्बिर : शंकर

जनशक्ति अभावले आफूहरूलाई काम गर्न गार्‍हो भएको गुनासो महानगरपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषाल गर्छन् । हाल कार्यालयमा राजपत्रांकित द्वितीय तहको उपसचिव अधिकृत ५ जनाको दरबन्दी रहेकोमा ५ वटै पद रिक्त रहेका छन् ।

Yamaha

राजपत्रांकित द्वितीय उपसचिव (कृषि), राजपत्रांकित द्वितीय उपसचिव (स्वास्थ्य), उपसचिव लेखा राजपत्रांकित द्वितीय (लेखा) र सिनियर डिभिजन इन्जिनियर राजपत्रांकित द्वितीय (प्राविधिक सिभिल, जनरल, स्यानिटरी, सिँचाइ, हाइ वे), शाखा अधिकृत राजपत्रांकित तृतीय (शिक्षा/प्रशासन/कानुन) तहको एकएकवटा दरबन्दी रहेकोमा सबै खाली छन् ।

त्यसैगरी, अधिकृत २१ दरबन्दी रहेकोमा १७ पद रिक्त छ । महिला विकास/जनस्वास्थ्य अधिकृतका २ वटा दरबन्दी रहेकोमा एउटा खाली छ । नापी अधिकृतको एक, वन अधिकृतको ३, कम्प्युटर अधिकृतको एक, गुणस्तर नियमन अधिकृतको एक दरबन्दी रहेकोमा सबै खाली छन् ।

लेखा अधिकृतको २ दरबन्दीमा एक, कृषि तथा पशु विकास अधिकृतको २ दरबन्दीमा २, इन्जिनियरको ६ दरबदीमा ५, तथ्यांक अधिकृतको २ दरबन्दीमा एक, नगर प्रहरी निरीक्षकको २ दरबन्दीमा एक, शिक्षा प्राविधिक सहायकको २ दरबन्दीमा एक, कृषि प्राविधिक सहायकको २ दरबन्दीमा २ खाली छन् । लेखापालको ७ वटै दरबन्दी खाली छ ।

अन्य अधिकांश पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । संघीय बाहेकका महानगरपालिकाको जम्मा कर्मचारी संख्या ६ सय ५५ छ । तिनमा अधिकांश श्रेणीविहीन कर्मचारी हुन् ।

जसमा ८ फायरम्यान जवान, ४५ कार्यालय सहयोगी, ३ चैनम्यान, १० चौकीदार, १५ कुल्ली, ८ माली, १ यान्त्रिक हेल्पर, ४३ नाइके र १ सय ९३ स्वीपर छन् । जनशक्ति कम हुँदा सीमित जनशक्तिउपर अत्यधिक कार्यभार परेको अधिकृत भुषाल बताउँछन् । ‘हामीबिहान ६ देखि राति ९ बजेसम्म पनि कार्यालयकै काम गरिरहेका हुन्छौं,’ उनले भने, ‘यसरी काम गर्न निक्कै गार्‍हो भएको छ ।’

कार्यालयमा अधिकृत स्तरका कर्मचारी कम र तल्लो तहका कर्मचारी बढी रहेको अवस्था छ । यस्तो अवस्थामा तल्लो तहका कर्मचारीबाट अधिकृत तहका कर्मचारीले गर्ने काम लिन सकिँदैन । ‘दक्षता नभएका कर्मचारीबाट दक्ष काम लिन सकिँदैन,’ उनले भने, ‘अप्ठेरो गरी जेनतेन कार्यालय सञ्चालन गरेका छौं ।’

आफूले कार्यालयमा रहेको यो समस्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी जानकारी गराइसकेको उनले बताए । असार मसान्तसम्म अपुग कर्मचारीको व्यवस्था गरिदिने आश्वासन मन्त्रालयबाटपाएको उनले बताए ।

प्रकाशित : असार ६, २०७५ १०:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीरगन्जमा रगत अभाव

शंकर आचार्य

पर्सा — वीरगन्जमा मागको तुलनामा रगत अभाव देखिएको छ । गर्मीमा रक्तदान कम हुने र बिरामी पनि बढ्ने भएकाले रगत अभाव हुने गरेको छ । पछिल्ला दिन ‘ओ’ र ‘बी’ पोजिटिभ रगतको माग ह्वात्तै बढेको छ ।

माग बढिरहे पनि रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको मौज्दात स्वात्तै घटेको छ । शनिबार सिर्सिया खल्वाटोलामा रक्तदान कार्यक्रमबाट ६० पोका रगत संकलन हुँदा पनि आइतबार केन्द्रमा करिब १ सय २५ पोका रगत मात्र मौज्दात छ ।


रेडक्रस सोसाइटी वीरगन्जका सहायक राजन श्रीवास्तवले पर्सादेखि रौतहटसम्मै रक्तदान गर्ने प्रवृत्ति अत्यन्त कम रहेकाले अभाव हुने गरेको बताए । ‘सर्वसाधारणमा अझै पनि रक्तदानसम्बन्धी चेतनाको कमी छ,’ उनले भने, ‘आवश्यकता परेर आउनेहरू पनि सट्टाबापतको रगत दिन हच्किन्छन्, उनीहरू बिरामी आफ्नो छिमेकी वा परको नातेदार रहेको भनी ढाँट्छन् ।


उनका अनुसार रगतको आवश्यकता जतिबेला जोसुकैलाई पर्न सक्ने थाहा पाएर पनि बुझ पचाउने धेरै हुन्छन् । वीरगन्जमा उपक्षेत्रीय स्तरको सरकारी अस्पताल र निजी अस्पताल तथा पोलिक्लिनिक पनि एक दर्जन हाराहारी रहेकाले दैनिक ठूलो परिमाणमा रगत आवश्यक पर्ने गरेको श्रीवास्तवको भनाइ छ ।


भारतदेखिका बिरामी उपचार गराउन आउने भएकाले रगतको अत्यधिक माग हुने गरेको छ । केन्द्रमा दैनिक ५० देखि ६० पोका रगतको माग आउने गरेको उनले बताए । ‘रगत माग्न आउनेलाई खाली हात फर्काउन सकिंदैन, गम्भीर बिरामीको हकमा हामी सिफारिस पनि खोज्दैनौं,’ उनले भने, ‘तर आपूर्ति र वितरणको तालमेल मिलाउन अत्यन्तै गाह्रो भइरहेको छ ।’


डेढ वर्षअघि केन्द्रमा रगत ‘सेपरेटर कम्पोनेन्ट मेसिन’ पनि प्रयोगमा ल्याइएको छ । यसबाट एक पोका रगतलाई तीन पोकासम्म बनाउन सकिन्छ । रक्तदाताले दिने रगतबाट अब रिच प्लाज्मा, प्याक्सेल र फ्रेस फ्रोजन प्लाज्मा गरी रक्ततत्त्वलाई ३ श्रेणीमा विभाजन गर्न सकिन्छ । केन्द्रकी प्राविधिक दिल्लीमाया घिमिरेका अनुुसार प्याक्सेल रातो रगत हो भने पीआरपी र फ्रेस फ्रोजन प्लाज्मा सेतो तत्त्व हो ।


नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार फ्रेस फ्रोजन प्लाज्मा रगत बाक्लो पार्ने तत्त्व कमी भएका बिरामीलाई दिइन्छ । रिच प्लाज्मा भने डेंगु, क्यान्सर रोगी, रगतमा प्लेटलेट कमी भएका, सर्पदंशका बिरामी, कलेजो फेल भएका र मुटु रोगसम्बन्धी औषधि खानेहरूलाई दिइन्छ । प्याक्सेल सामान्य रगतको कमी भएका सबै बिरामीलाई दिइन्छ । पछिल्लो समय सेतो रगत अर्थात् रिच प्लाज्माको माग बढिरहेको सिंहले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT