कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सस्तियो आँप

जनकपुर — ‘मालदह । आऊ आऊ एक सयमे दू किलो मालदह आम लिय ।’ जनकपुर अञ्चल अस्पताल जाने बाटोमा आँप बेच्दै गरेका एक बिक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए ।

सस्तियो आँप

अस्पताल नजिकै आमनागरिकको भीडभाड पनि त्यतिकै भएकाले ग्राहक पनि झुम्मिएका थिए । जनकपुर १ का कारी भन्ने गोविन्द पूर्वे आँप बेच्दै थिए ।


आँप मिथिलाञ्चलको सबैभन्दा लोकप्रिय फल हो । यसलाई फलहरूको राजा पनि भनिन्छ । यहाँ व्यक्तिको जन्मदेखि मृत्यु पर्यन्त आँपको प्रयोग हुन्छ । यसको पात र पल्लवको प्रयोग शुभकार्यमा कलश राख्न हुन्छ, सुकेको काठ हवन र यज्ञादिमा प्रयोग हुन्छ ।


शव जलाउन पनि आँपको काठलाई प्राथमिकता दिइन्छ । अचेल जनकपुर बाजारमा मात्र होइन, ग्रामीण इलाकामा आँपको पटके पसल देख्न सकिन्छ ।


मिथिला संस्कृतिका जानकार परमेश्वर कापडी आँपलाई मिथिला संस्कृतिको सर्वाधिक लोकप्रिय रूखको संज्ञा दिन्छन्, ‘आँप एउटा फलमात्र होइन, यो मिथिला संस्कृतिको प्रतीक पनि हो । यसको प्रयोग जन्मदेखि मृत्युसम्म हुन्छ ।’


पुराणमा वर्णन भएअनुसार शिव पार्वतीको विवाह आँप रूखको छाहरीमा भएको थियो । यो रूख स्वर्गको बगैंचाबाट नारदमुनिले धरतीमा ल्याएका थिए । पण्डित सुभाष मिश्र शास्त्रमा वर्णन भएका पञ्चपुष्प अर्थात् पाँच फूलमध्ये चम्पा, शमी, कमल, कनेरसँगै आँप पनि एक हो ।


विशेषत: पुसदेखि भदौसम्म आँपको मौसम मानिन्छ । मञ्जरी, टिकुला, कोषा हुँदै आँप वैशाख पहिलो सातादेखि पाक्न थाल्छन् । कृषिविद भदौसम्म आँपको सिजन मान्छन् । कृषि विज्ञानका जानकार कृषक राजेन्द्र यादव मिथिलामा छिटो पाक्ने, मध्यमा पाक्ने तथा ढिलो पाक्ने गरी तीन प्रजातिका आँपको खेती हुने गरेको बताउँछन् ।


बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया, गुलावखास लगायत छिटो पाक्ने जातका आँप हुन भने मालदह, सिपिया, दशहरी, फजिली लगायतका आँप मध्यमा पाक्छन् । कलकतिया र भदैया लगायतका आँप ढिलो गरी पाक्ने आँप हुन् तर बिक्रेताहरू बढी मूल्य पाउने लोभमा हानिकारक केमिकल प्रयोग गरेर कुसमयमै आँप पकाउन थालेको कृषक राजेन्द्र यादवको कथन छ ।


‘यसरी हानिकारक केमिकल प्रयोग गरेर कुसमयमा पकाएको आँपको स्वाद त बिग्रिन्छन् नै उपभोक्ताको जनस्वास्थ्यमा पनि हानिकारक प्रभाव पर्छ,’ यादवले भने । मिथिलाञ्चलमा आँपको बगैंचा नहुने किसान र गाउँ विरलै होला । संस्कृतिविद प्रमेश्वर कापडी मिथिलाञ्चलमा आँपको बगैंचालाई पारिवारिक प्रतिष्ठाको विषय मान्छन् । ‘पहिला पहिला पोखरी, इनार र बगैंचा नहुने परिवारमा अभिभावक केटी दिन मान्दैनथे,’ उनी भन्छन् ।


पछिल्ला दिनहरूमा आँपको व्यावसायिक खेती हुन थालेपछि आँप खेती हुने क्षेत्रफलमा निरन्तर वृद्धि हँुदै आएको छ । कृषि विकास कार्यालय धनुषाबाट प्राप्त जानकारीअनुसार आव ०६९/७० मा २ हजार ८५ हेक्टर जग्गामा आँपको खेती गरिएको थियो भने ०७०/७१ मा २ हजार १ सय ५ हेक्टरमा तथा आव ०७१/७२ मा २ हजार २ सय ५५ हेक्टर जग्गामा आँपको खेती गरिएको थियो ।आव ०७३/७४ मा २ हजार ३ सय १ हेक्टरमा तथा आव ०७४/७५ मा २ हजार ३ सय ६६ हेक्टर जग्गामा आँपको खेती गरिएको छ ।

बाली विज्ञान अधिकृत बद्रीप्रसाद साहका अनुसार आव ०७३/७४ मा प्रतिहेक्टर १ दशमलव ९ मेट्रिक टनका हिसाबले ४ हजार ३ सय ७१ मैट्रिक टन आँप उत्पादन भएको थियो भने चालू वर्षमा प्रतिहेक्टर ८ मेट्रिक टनका हिसाबले १८ हजार ९ सय २८ मेट्रिक टन आँप उत्पादन हुने दाबी अधिकृत साहको छ ।

आँप उत्पादनको समस्या अल्टरनेट बियरिङ आँप उत्पादनको प्रमुख समस्या अल्टरनेट बियरिङ हो । कृषिविदहरू एक वर्ष बिराएर बाली लाग्ने प्रवृत्तिलाई अल्टरनेट बियरिङ भन्छन् । ‘गत वर्ष प्रतिहेक्टर करिब २ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष प्रतिहेक्टर ८ मेट्रिक टन उत्पादन हुनु अल्टरनेट बियरिङकै प्रभाव हो,’ कृषिविद राजेन्द्र यादव भन्छन् ।


वागवानीविज्ञहरूका अनुसार यस भेगमा लगाइएका अधिकांश पुराना जातिका आँप एक वर्ष बिराएर फल्छन् । गत वर्ष आँपको उत्पादनमा ह्रास आएको कारण यस वर्ष वृद्धि हुने सजिलो गणना किसान समेत गर्छन् । बघचौडाका आँप उत्पादक सुकुमार कापर भन्छन्, ‘एक वर्ष बिराएर फल्ने आँपको विशेषता हो । गत वर्ष फलेको थिएन । यस वर्ष राम्रो फल्यो ।’ विगत चालीस वर्षदेखि आफूले यस्तै देख्दै आएको दाबी कापरको छ ।


यस भेगका पारम्परिक बगैंचामा मालदह, कलकतिया, बम्बै, दशहरी, गुलावखास, कृष्णभोग, जर्दालु, लडुवा, चौरिया, भदैया, निमुवा, बरवरिया, चिनिया, फैजली, बिज्जु आदि जातिका आँपको रूख अधिक लगाउँछन् । यी जातिका रूख ठुला हुने हुँदा अधिक उत्पादन हुन्छ । किसानहरू फलसँगै दाउरा तथा काठसमेत प्राप्त गर्ने हुँदा यिनै जातिका रूख रोप्न मन पराउँछन् ।


तर पारम्परिक जातिका आँपका रूखमा वर्ष बिताएर फल्ने भएका कारण व्यावसायिक किसान आम्रपाली, मल्लिका, दशहरी, अलफान्सो, अनवररतौल जस्ता आधुनिक जातका आँपको रूख रोप्न थालेका छन् । आधुनिक जातिका आँपमा अल्टरनेट बियरिङ कम हुने गरेको देखिएको छ ।

पारम्परिक जातिका आँपको फल तयार हुन सामान्यतया ८ महिना लाग्छ । पुसदेखि सुरु हुने आँप फल्ने प्रक्रिया भदौमा पूरा हुन्छ । तर आधुनिक जातिका आँप ६ महिनामै तयार हुन्छ ।

प्रकाशित : असार ६, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?