१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

तयार हुँदै क्षतिग्रस्त संरचना

महोत्तरी —  गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण धमाधम सम्पन्न हँुदैछ । केही सम्पन्न हुने तयारीमा छन् ।

तयार हुँदै क्षतिग्रस्त संरचना

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दसंैपछि सुरु गरेको थियो ।


आरआरएनका महोत्तरी संयोजक विशाल तिमल्सेनाका अनुसार गत वर्ष आएको बाढीले स्थानीय तहको संरचनामा पुर्‍याएको क्षतिमध्ये केही विद्यालय भवन, स्वास्थ्य चौकी, सामुदायिक भवन, सडक कल्भर्ट, बजार सेड तयार भई हस्तान्तरणसमेत गरिएको छ । केही तयारीको अवस्थामा पुगेको उनले जनाए । पुनर्निर्माणअन्तर्गत अहिले १ करोड २५ लाख मूल्य बराबरको योजना अघि सारिएको छ ।


तत्कालका लागि रातु र बिग्हीको डुबानमा परेर क्षतिग्रस्त स्वास्थ्य चौकी र सडक कल्भर्टलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको तिमल्सेनाले जनाए । यसैअन्तर्गत जलेश्वर ११ स्थित पिगौनाको क्षतिग्रस्त स्वास्थ्य चौकीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।


३० लाख ६५ हजारको लागतमा ४ महिनाअघि सुरु भएको स्वास्थ्य चौकी आगामी साउन महिनाभित्र निर्माण सम्पन्न हुने तिमल्सेनाले जनाए । निर्माणमा ८१ हजार रुपैयाँ बराबरको स्थानीयले श्रम सहयोग जुटाइदिएका छन् ।


स्वास्थ्य चौकी र सडक डुबानमा परेपछि गाउँका सुत्केरी, नाबालक र बिरामीले खेप्नु परेको दु:खबारे स्थानीय गुड्डी मिश्रले पीडा सुनाइन् । वडाध्यक्ष रामसनन्दन पाण्डेका अनुसार क्षतिग्रस्त स्वास्थ्य चौकी निर्माणका लागि आफूसमेत गाउँलेले निकै पहल गरेका बताए । तर सुनिदिने कोही भएनन् । आरआरएनले पीडा सुनिदिएपछि अब भने बन्ने आश जागेको बताए ।


निर्माणमा सहभागी सीडीपी महोत्तरीका इन्जिनियर प्रकाश खडकाले निर्माण सम्पन्न र निर्माणाधीन संरचना भूकम्प र बाढीजस्ता प्रकोपबाट कम क्षति हुने मापदण्डहरू प्रयोग गरिएको जनाए । यसअघि पनि आरआरएनले धिरापुर, पडौल र सिगियाहीमा स्वास्थ्य चौकी निर्माण गरी समुदायमा हस्तान्तरण गरिसकेको छ ।


बिग्हीको बाढीले क्षति पुर्‍याएपछि मटिहानी नगरपालिका ९ सिमरदहीको लक्ष्मिनारायण माविको पठनपाठन नै बाधित हुँदै आएको थियो । शिक्षकहरूका अनुसार बाढीपछि भवन अभावले एउटा कोठामा २ वटा कक्षा गाभेर पढाउने बाध्यता थियो ।


आरएनएनले सामुदायिक विकास कार्यक्रमअन्तर्गत करिब साढे ३४ लाखको सहयोगमा २ कोठे भवन, शौचालय र फर्निचर निर्माण गरिदिएपछि अहिले पठनपाठन केही सहज भएको प्रध्यानाध्यापक राजकिशोर चौधरीले जनाए ।


रातु, जंगाहा र अंकुशी खोलाको बाढीले क्षति पुर्‍याएको बलवा, एकडारा, समसी र रामगोपालरमा ८० लाखको लागतमा ६ कल्र्भटको निर्माण पनि सुरु गरिएको संयोजक तिमल्सेनाले जनाए । कल्र्भट निर्माणपछि ती गाउँका सडकमा आवागमन सहज हने स्थानीयको अपेक्षा छ । यसअघि आरआरएनले ४ करोड लागतमा ४ विद्यालयका भवन, ३ सामुदायिक भवन, ३ स्वास्थ्य चौकी र २ बजार सेड गरी दर्जन संरचना निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) बाढीबाट क्षतिग्रस्त स्थानीय तहका संरचना पुनर्निर्माणमा जुटेको संस्था हो । यसलाई नेपाल तथा बेलायत सरकारले सहयोग जुटाइदिएका छन् ।


जिल्ला दैवीप्रकोपका अनुसार महोत्तरीमा गत वर्षको साउन २९ र ३० गते परेको अविरल वर्षापछि आएको बाढीबाट एक अर्ब बराबरको धनमालको नोक्सानी भएको थियो । बाढीका कारण ९ जनाले ज्यान गुमाएका थिए ।


२ हजार ५ सय ४ परिवार घरबारविहीन भएका थिए । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठका अनुसार विद्यालय, स्वास्थ्य चौकीलगायतका संरचनामा व्यापक क्षति पुगेको थियो । तिनै क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्दै गत वर्षदेखि नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले बाढीपीडितको सहयोगमा क्रियाशील रहेको जनाइएको छ ।

प्रकाशित : असार ६, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?