लागूऔषध सेवन गर्न सीमापारि

रौतहट — सीमावर्ती भारतको बैरगनिया बजारमा लागूऔषधको सेवन तथा कारोबारी गर्नेको संख्या बढेको छ । यस्तोमा युवाको जमात बढी देखिएको छ । उनीहरू पारि सेवन गर्ने र खरिद गरी लुकाएर ल्याउने गर्छन् ।

लागूऔषध सेवन गर्न सीमापारि

कुलतमा फसेका युवाहरूले भारतीय भूमिलाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । जिल्ला प्रहरीले लागूऔषध सहित केहीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।


बैरगनिया बजारबाट लागूऔषध सेवन र ओसारपसार गर्न लाग्दा गौर नगरापालिका २ बाट दुई साताअघि स्थानीय बिवेक मैनाली र सनोज रायमाझी पक्राउ परे । प्रहरीले उनीहरूका साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद गर्‍यो ।


बैरगनिया बजारमा दिनहुँ नेपाली युवाहरू लागूऔषध खरिद र सेवन गर्न जान्छन् । फर्किंदा उनीहरू पक्राउ पर्छन् । पछिल्लो १० वर्षदेखि यही क्रम चल्दै आएको छ । यो बजारमा राजधानीदेखिका युवा लागूऔषध खरिद गर्न आउँछन् ।


बैरगनियाका विभिन्न औषधि पसलमा खुलेआम नेपालमा प्रतिबन्धित औषधि र लागूऔषध बिक्री हुन्छ । यही बजारमा कोरेक्स, फेन्साडाइल, नाइट्रोभेट ट्याबलेटजस्ता प्रतिबन्धित औषधि सेवन र खरिद गरिन्छ । मैनली र रायमाझीलाई स्मास प्रोक्रान, नाइट्रोभेट ट्याबलेट लिएर आउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र केसीले बताए ।


‘हामीले सीमापारि जाने युवामाथि कडा निगरानी बढाएका छौं,’ उनले भने, ‘भारतीय भूमि ट्रान्जिट प्वाइन्ट बन्दै गएको भन्ने सुनेको छु । यसलाई कुनै पनि हालतमा भत्काउँछु ।’ जिल्ला प्रहरीले ३ साताभित्र ५ जनालाई लागूऔषध सहित पक्राउ गरेको जनायो । प्रहरीले यमुनामाई नगरपालिका ५ स्थित अजयसाह सोनारको साथबाट गएको जेठ १ गते डाइजेल्याब, नुर्फिन, एभिल इन्जेक्सन र फेरागन जस्ता प्रतिबन्धित औषधि बरामद गरेको थियो ।


यी औषधि भारतीय बजारबाट ल्याइएको हो । सोनारलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनायो । गौर नगरपालिका ४ बाट अंकित रायमाझी र महमदसाबिर अन्सारी विभिन्न लागूऔषध सहित पक्राउ परेको प्रहरीले जनायो ।


त्यस्तै चन्द्रपुर नगरपालिका ६ स्थित रमेशकुमार यादव र विष्णु पटेलको साथबाट विभिन्न लागूऔषध बरामद गरिएको जिल्ला प्रहरीले जनायो । उनीहरूविरुद्ध लागूऔषधको मुद्दा दायर गरिएको छ ।

चन्द्रनिगाहपुरबाट बिहान दिनहुँ मोटरसाइकलमा युवाहरू सीमापारि जान्छन् । उनीहरू त्यहीं बसेर सेवन गर्छन् । फर्कने बेला खरिद गरी मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँछन् । भन्सार सुरक्षामा खटेका सुरक्षाकर्मीले पत्तो पाउँदैनन् । त्यहाँबाट चन्द्रनिगाहपुर आउन ४२ किलोमिटर लामो दुरी तय गर्नुपर्छ । त्यस बीचमा दजनौँ प्रहरी चौकी र पोस्टहरू पर्छन् ।


सुरक्षाकर्मीको आँखा छलेर उनीहरू यहाँसम्म आइपुग्छन् । सीमा क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले समेत केही गर्दैनन् । सीमामा चेकजाँच समेत हुँदैन । उनीहरू निर्वाध ओहोरदोहोर गर्छन् । कसैले सुइँको समेत पाउँदैनन् । नेपाल प्रहरीले चेकजाँचका क्रममा र विशेष सुराकी पायो भने मात्र पक्राउ गर्न सफल हुन्छन् ।


महंगोमा बिक्री

लागूऔषध कारोबारीले भारतबाट १ सय ५० रुपैयाँ तिरेर कोरेक्स, फेन्साडिल जस्ता प्रतिबन्धित औषधि ल्याउँछन् । यो लागूऔषध सेवनकर्ताले प्रयोग गर्छन् । पारिबाट ल्याइएर १ बोतलको ५ सय रुपैयाँसम्म बिक्री गर्छन् । यस्तो धन्दामा युवाहरू सक्रिय छन् ।


चन्द्रनिगाहपुर, गरडा र बागमती बजारमा यसको कारोबार फस्टाउँदै गएको छ । मोटरसाइकलमा युवाहरू ओसारपसार गर्छन् । खोकी लागेका बिरामीहरूका लागि यो औषधि प्रभावकारी हुन्छ । ५ वर्षअघिदेखि नै नेपाल सरकारले यस्ता औषधि बिक्रीमा प्रतिबन्ध लगाइएको छ । भारतमा खुलेआम बिक्री हुने हुँदा नेपाली युवाहरू पारिकै बजारबाट ल्याउने गर्छन् ।


‘भारतीय बजारबाट प्रतिबन्धित सामान ओसारपसार गर्नेहरूको सञ्जाल भत्काउने प्रयासमा छौँ,’ एसपी केसीले भने, ‘लागूऔषध कारोबारी र सेवनकर्ता खोजी/खोजी पक्रेर कारबाही गर्छौं ।’

प्रकाशित : असार ६, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?