कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वन्यजन्तुको आक्रमणमा मृत्यु

बर्दिवास — महोत्तरीको गौशाला नगरपालिका ३ स्थित पचाइन टोलमा नीलगाईको आक्रमणबाट बुधबार एक वृद्धको ज्यान गएको छ ।

वन्यजन्तुको आक्रमणमा मृत्यु

भावर क्षेत्रअन्तर्गतको चारकोसे झाडीबाट बस्ती पसेको नीलगाईको आक्रमणमा परी ७५ वर्षीय रामस्वरूप महतोको मृत्यु भएको गौशालास्थित इलाका प्रहरीले जनाएको छ ।

उत्तरतर्फबाट आएको नीलगाईले खुला स्थानमा शौच गर्न गएका अवस्थामा बुट्यानबाट निस्केर महतोलाई आक्रमण गरेको थियो । प्रहरी निरीक्षक भोला भट्टका अनुसार आक्रमणबाट घाइते महतोको धनुषास्थित लालगढ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसअघि बस्ती पसेको हात्तीले भरतपुर ९, पडरियाका रामकैलाश राउतलाई छातीमा कुल्चेर मारेको थियो । गर्मीका कारण घरको आँगनमा सुतिरहेका राउतलाई एकाबिहानै गाउँ पसेको हात्तीले आक्रमण गरेको थियो ।

वन्यजन्तुको आक्रमणमा परी छिमेकी गाउँमा पनि एक महिला गम्भीर घाइते भएकी छन् । सिकारीबाट लखेटिएको आक्रोशित बँदेलले गौशाला नपा वडा नं १२ कान्तिबजारकी ६० वर्षीया जानकीदेवीलाई आक्रमण गरेको थियो ।

आफ्नै घरको आँगनमा बँदेलले टोकेर जानकीको बायाँ हातको कान्छी औंला झर्नुका साथै चिउँडोलगायत शरीरका अन्य भागमा गहिरो घाउ भएकाले उपचारका लागि काठमाडौं लगिएको उनका आफन्तले जनाएका छन् ।

चुरे विनाशले जंगलमा पानीको स्रोत सुकेको, डढेलोले बासस्थान क्षति भएको र गोठाला र गाउँले पस्नाले असुरक्षित बनेका वन्यजन्तु आत्मरक्षाका लागि आक्रामक हुन थालेको घटनाक्रमले देखाएका छन् । आक्रामक बनेका वन्यजन्तुबाट पछिल्लो समय मानिससमेत जोखिममा परेका जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालले जनाए ।

पातलिँदै गएको जंगल, मानव हस्तक्षेप, पानी र चरिचरनको अभाव तथा चोरी सिकारीका कारण जोखिममा परेपछि सुरक्षा खोज्दै भारतीय सीमामा पुग्न थालेपछि दुर्लभ मानिएका यी वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् ।

प्रकाशित : असार ७, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?