हचुवामा हुलाकी मार्ग
बारा — भारतीय परामर्शदाता कम्पनी ‘राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगम लिमिटेड (एनएचआइडीसीएल) को प्रत्यक्ष निगरानीमा बारा र पर्सामा निर्माणाधीन हुलाकी सडकमा हचुवाका भरमा काम भइरहेको पाइएको छ ।
दुवै जिल्लाका बहुप्रतीक्षित तीनवटा सडक झन्डै ४ अर्बको लागतमा निर्माण भइरहेका हुन् । पर्साको वीरगन्ज–ठोरी, बाराको मानमत–कलैया–मटिअर्वा र तामागढी–सिम्रौनगढ जोड्ने १ सय २७ किमि सडकमा कल्भर्ट निर्माण हचुवामा भइरहेको छ । निर्माण भएका पचासौं कल्भर्टबाट पानी निकास नहुने देखिएको छ । जसले सडकको भविष्य जहिले पनि खतरामा रहने प्राविधिकको भनाइ छ ।
अनुगमन गर्ने जिम्मा पाएका परामर्शदाता कम्पनीले सडक निर्माणको कुल बजेटबाट ८ प्रतिशत रकम अनुगमन गर्नका लागि मात्र लिँदै आइरहेका छन् । तर कतै पनि अनुगमन प्रभावकारी रूपमा नगरेकाले विवाद हुँदै आएको नेपाली प्राविधिक बताउँछन् ।
सडकको दुवैतिर १५/१५ किमि लिनुपर्नेमा कतै एकतर्फी मात्र माटो पुरिएको छ । कतै पैनी पनि पुरिदिइएको स्थानीयको भनाइ छ । पैनीको संरचनालाई नबिगार्ने सडक निर्माणको नियम छ ।
उता हुलाकी मार्ग निर्देशनालयका प्रमुख श्यामप्रसाद खरेलले थुपै्र ठाउँमा भारतीय कम्पनीले अनुगमनको काम नगर्दा समस्या भइरहेको स्विकारे । ‘कमजोरी सुधारका लागि पत्राचार गरेको छु,’ उनले भने । निर्देशन गरेपछि कतिपय ठाउँमा सडकको डिजाइनअनुसार काम गर्न कल्भर्ट निर्माणमा सुधार भएको उनले दाबी गरे । कतिपय ठाउँमा मुआब्जाका लागि समेत समस्या भएको उनले बताए ।
हुलाकी मार्ग आयोजना वीरगन्जका प्रमुख अनुठा पटेलले भारतीय निगरानीमा भइरहेको कामको जवाफदेही आफू र हुलाकी निर्देशनालय हुनुपर्ने बताए । ‘हामीलाई मुआब्जा दिनु छ, दिन्छौं । त्यसको लगत संकलन हुनुपर्यो,’ उनले भने, ‘लगत संकलनबाट यस वर्ष १८ करोड आएकोमा बारा र पर्सा जिल्ला प्रशासनमा उपलब्ध गराइसकिएको छ ।, तामागढी–सिम्रौनगढको लगत नआएकाले मुआब्जा उपलब्ध नभएको उनले बताए । सडकको अनुगमन गर्ने जिम्मेवारी हाम्रो नरहेको उनले बताए । ‘कहाँ खराब/राम्रो भएको छ, निर्देशनालय र भारतीय परामर्शदाता कम्पनीले जानून् ।’
भारतीय परामर्शदाता कम्पनीका नेपाल प्रमुख अमेय श्रीवास्तव सडक निर्माणमा भइरहेको त्रुटिबारे कुरा गर्न चाहँदैनन् । बाराको तामागढी–सिम्रौनगढ सडक खण्डमा मनोमानी गर्न थालेपछि दुई सातादेखि स्थानीय बासिन्दा संघर्ष समिति बनाएर आन्दोलित छन् । उनीहरू पटेर्वा भगवानपुर चोकमा धर्ना बसेका छन् । पुरानो नक्साबमोजिम नभएर नयाँ ढंगले काम गर्न थालेपछि त्यहाँ विवाद बढेको छ । त्यहाँका स्थानीय संघर्ष समिति काठमाडौं ‘डेलिगेसन’ गएपछि हुलाकी मार्ग निर्देशनालयको प्रमुख श्यामप्रसाद खरेलको नेतृत्वमा उक्त भारतीय परामर्शदाता कम्पनीसहितको टोली निर्माण स्थलमा आएर अनुगमन गरेको छ । ३ किमि सडकको काम अहिले नगर्ने आन्दोलित पक्ष र हुलाकी मार्ग निर्देशनालयसित सहमति भएको संघर्ष समितिका संयोजक महेन्द्र जयसवालले बताए ।
करिब १ अर्बको ठेक्कामा तामागढी–सिम्रौनगढ सडक बनिरहेको छ । ३० महिनामा सक्ने गरी २०७४ असार ३ मा शर्मा/पप्पु/रोशन जेभी र पप्पु/महाबीर जेभी कन्स्ट्रक्सन कम्पनीसित सम्झौता भएको थियो ।