२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सडक विस्तारमा अवरोध

जनकपुर पुनर्निर्माण
शाहीमान राई

जनकपुर — वैशाख अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणकै बेला निर्माणाधीन सडक कालोपत्रे गरिसक्ने योजना थियो । मोदी भ्रमणका बेला थाति रहेको सडक कालोपत्रे निर्माण अझै सुरु हुन सकेको छैन ।

सडक विस्तारमा अवरोध

एसियाली विकास बैंकको आर्थिक सहयोगमा जनकपुर उपमहानगरपालिका सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन सडक विस्तार, कालोपत्रे र ड्रेन निर्माणमा ढिलाइ भएको हो । जनकपुरको सहरी विकासका लागि सञ्चालित सडक विस्तार अभियानमा अधिकांश स्थानीयवासी सरोकारवालाले आफ्नो घर भत्काउने, सडकका लागि जग्गा दिएर संयमताका साथ सहयोग गरे पनि विभिन्न ठाउँमा जग्गा विवादका कारण निर्माण अवरुद्ध छ ।


सडक विस्तार तथा निर्माण तीव्र पार्न ठेकेदारलाई उपमहानगरपालिकाले जग्गा खालि गरिदिनुपर्ने सर्त छ । उपमहानगरपालिकाले बिनामुआब्जा सडकको दायाँबायाँ घरहरू भत्काउन लगाएको छ । जनकपुर सहरको विकासका निम्ति करिब २ हजार घर भत्काउनुपर्नेमध्ये ९५ प्रतिशत व्यक्तिले घरटहरा भत्काइसकेको जनकपुर उपमहानगरपालिकाको योजना प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए । उनले रामचोक, शिवचोक, वन्सी चोक, थापाचोक लगायत अन्य केही ठाउँमा विवादका कारण निर्माण अवरुद्ध रहेको बताए ।


एसियाली विकास बैंकको (एडीवी) को एक अर्ब ९० करोड (१९ दशमलव ४४ मिलियन डलर) रुपैयाँ आर्थिक सहयोगमा जनकपुरको मुख्य सहर पिडारीचोक–भानुचोक, कदम चोक–मुरली चोक हुँदै भवनपुराचोकसम्म, मुरली चोक–एयरपोर्ट, मुरलीचोक, राममन्दिर, भानुचोक–रेलवेस्टेसन–कदमचोक हुँदै शिवचोक, भानुचोक–शिवचोक–जनकचोक–रामचोक–जानकी मन्दिर, मुरलीचोक–तिरहुतियागाछी–महावीरचोक हुँदै जानकी मन्दिरसम्म ९ किलोमिटर सडक विस्तार, कालोपत्रे र ३१ किलोमिटर सडकमा हयुमपाइप जडान गरी ढल निकासका लागि ड्रेन निर्माणाधीन छ ।


सडक कालोपत्रे, विस्तार र ड्रेन निर्माणका लागि जनकपुर उपमहानगरपालिकाले जेडआईपीसी र रमन कन्स्ट्रक्सन कम्पनी संयुक्तलाई ठेक्का सम्झौता दिएको छ । जनकपुर एकीकृत सहरी विकास आयोजना सन् २०१३ मा सुरु भएपछि २०१५ मा सम्झौता गरी २०१६ देखि काम सुरु गरेको ठेकेदार कम्पनीका इन्जिनियर अवधकिसोर साहले बताए ।


उनले जनप्रतिनिधि नहँुदा निर्माण मुआब्जा, क्षतिपूर्ति र जग्गा विवादले काम ढिलो भए पनि स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको सहयोगमा निर्माण कार्य तीव्रता दिएको बताए । तर सडकको दायाँबायाँ घरटहरा भत्काउन ढिलो हुनु र सहरको चोकचोकमा विवाद समाधान नभएपछि निर्माण व्यवसायी कम्पनीले सम्झौताको म्याद समेत गुजारेको छ । पहिलोपटक ६ महिनाको लागि थप गरिएको म्याद समेत २०१८ जुन ५ मा गुज्रिसकेको कम्पनीका इन्जिनियर अवधकिसोर साहले बताए ।


उनले जनकपुरको रामचोक, मुरलीचोक, कदमचोक, भानुचोक, पिडारीचोक, शिवचोक लगायत चोकचोकमा विवाद रहेको बताए । ‘उपमहानगरले जग्गा खाली गरिदिएपछि काम गर्ने हो, विवादैविवाद छ, कसरी काम गर्ने ?’ इन्जिनियर साहले भने, ‘काम गर्ने ठाउँ नपाएपछि ठेक्का सम्झौताको म्याद समेत गुजार्नुपर्‍यो ।’


ठेकेदार जेडआईपीसी रमन कन्स्ट्रक्सन कम्पनीले ३१ दशमलव ८० किलोमिटर ड्रेनमध्ये २२ किलोमिटर र ९ दशमलव २९ किलोमिटर सडक विस्तार र कालोपत्रे गर्नुपर्नेमध्ये ६ किलोमिटर निर्माण सम्पन्न गरिसकेको इन्जिनियर साहले बताए । उनले भुक्तानी पाउनुपर्ने ९८ करोड ९८ लाखमध्ये ६७ करोड रुपैयाँ भुक्तानी पाइसकेको बताए ।


जनकपुर उपमहानगरपालिकाले मुख्य सडकको चौडाइ तीस मिटर, सहायक सडक २० मिटर, पुराना बजारको सडकहरू १५ मिटर, १३ मिटर, ९ मिटर र दायाँबायाँ फुटपाथ दुईदुई मिटर र साघुरोमा एकएक मिटरको पेटी निर्माण गर्ने जनाएको छ । तर सडक दायाँबायाँ बनेका संरचनाहरू हटाउन कतिपयले अmझै मानिरहेका छैनन् । विभिन्न ठाउँमा विवादले घरटहरा भत्काउने र सडक विस्तार कार्य अवरुद्ध भएको जनकपुर उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।


महावीर चोकमा तीन पुस्तादेखि व्यापार व्यवसाय गर्दै आएका गोविन्द सिकारियाले आफ्नो घर भत्काएर पुनर्निर्माण गर्दै सडक विस्तार अभियान समयमा पूरा नभए जनकपुरवासीले सास्ती भोग्नुपर्ने बताए । उनले तीन महिनाभित्र निर्माण कार्य पूरा गर्न सरोकारवाला ठेकेदार, उपमहानगरपालिका र सरकारसित अनुरोध गरेका छन् । घरजग्गा भत्काउन उपमहानगरपालिकाले अधिग्रहण गर्दै क्षतिपूर्ति दिएर मात्रै भत्काउनुपर्नेमा बिनामुआब्जा क्षतिपूर्ति जबरजस्ती घरभत्काउन लगाएकोमा व्यापारी व्यवसायीले दु:खी भएको गुनासो गरेका छन् ।


निर्माणाधीन ३१ किलोमिटर ढल निकास ड्रेन र ९ किलोमिटर कालोपत्रे बाहेक जनकपुर उपमहानगरपालिकाको राजमार्गदेखि पूर्व क्षेत्रमा सहरी विकास तथा भवन निर्माण विभागले ८३ करोड लगानीमा सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गरिरहेको छ । सहरी विकास तथा भवन निर्माण विभागले करिब २१ किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने जनाएको छ ।


एकीकृत सहरी विकास आयोजनाले फोहोरमैला व्यवस्थापन, ल्यान्डफिल्ड साइड व्यवस्थापन कार्य गर्ने जनाएको छ । त्यसपछि सानाठूला खोला खोल्सीको पानी एक ठाउँ व्यवस्थित गरी आउटलेट निकास पठाउने ५ वटा आयोजना छन् ।


आवागमनमा समस्या
महावीरचोकदेखि जानकी मन्दिर र जनकचोकदेखि रामचोक हँुदै जानकी मन्दिरतर्फ जाने पुरानो बजारका घरहरू भत्काइएकाले सवारी आवागमन बन्द भएको छ । जताततै सडक अवरुद्ध भएकाले पैदलयात्रीलाई हिँडडुल गर्न र व्यापारीलाई सामान ओसारपसार गर्न कठिनाइ भएको छ । जनकपुरको विकासका लागि सञ्चालित अभियान राम्रो भए पनि जताततै एकैचोटी घरहरू भत्काएर पूरै सहर लथालिङ्ग बनेको उनीहरूले गुनासो गरेका छन् ।


पुनर्निर्माण अभियानमा जनकपुर सहरको अवस्था अव्यवस्थित र अस्तव्यस्त बनेको उनीहरूको गुनासो छ । जनकपुर उपमहानगरपालिका अन्तर्गत एकीकृत सहरी विकास आयोजना र नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागले प्रदेश नं २ को राजधानी सहर जनकपुरको मुख्य बजारमा सडक विस्तार, ढल निर्माण र सरसफाइको निम्ति सुरु गरेको अभियानलाई स्थानीयवासीले सकारात्मक लिए पनि लालपुर्जा भएको करोडौं मूल्य बराबरको घरजग्गा बिनामुआब्जा, क्षतिपूर्ति, राहत नदिइ भत्काउन लगाएकोमा कतिपय उपमहानगरवासीले गुनासो गरेका छन् ।


मुलुकको कानुनअनुसार व्यक्तिको नाममा रहेको निजी सम्पत्तिमाथि राज्यले नियन्त्रण, कब्जा वा अधिग्रहण गर्दा क्षतिपूर्ति मुआब्जा दिने व्यवस्था भए पनि आफूहरूले नपाएको धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले गुनासो गरे ।


नेपालको कानुनअनुसार व्याक्तिको नाममा लालपुर्जा भएको घरजग्गा राज्यलाई आवश्यकता परे मुआब्जा क्षतिपूर्ति दिएर अधिग्रहण गर्ने व्यवस्था रहेको धनुषा क्षेत्र नं २ (ख) का प्रदेश सांसद रामआशिष यादवले बताए । ‘मुआब्जा दिएर व्यक्तिको जग्गा कब्जा गरिएकोलाई अधिग्रहण भनिन्छ, जसलाई बिना मुआब्जा राज्यले कब्जा गर्छ त्यसलाई त अतिक्रमण भनिन्छ ।’ सफा जनकपुर, सुन्दर जनकपुरको अभियानता समेत रहेका सांसद यादवले भने, ‘जसको क्षति भएको छ, उसलाई मुआब्जा दिनुपर्छ, यद्यपि जनकपुर उपमहानगरपालिकाले मुआब्जा नदिएको होला तर दीर्घकालीन विकासका निम्ति कसैले पनि विकास कार्यलाई अवरोध गरेका छैनन्, आफ्नो जग्गाघर भत्काउने, बनाउने र जग्गा समेत दिएर जनकपुर उपमहानगरपालिकाको अभियानलाई नगरवासीले साथ दिएका छन्, जनकपुरवासीको महानता हो ।’


खानेसवपानी, विद्युत् र टेलिफोन अवरुद्ध
जनकपुर उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा भत्किएका विद्युत् पोल तार व्यवस्थापन नगर्दा विद्युत् आपूर्तिमा समस्या भएको छ । विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक कामकाजमा बाधा भएको छ ।


सडक विस्तारका क्रममा नेपाल टेलिकमको वितरण लाइनमा समस्या भएपछि टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको छ । सडक विस्तारका क्रममा खानेपानीको पाइप टुटफुट भएपछि ओभरटयाङमार्फत खानेपानी संस्थानले वितरण गर्दै आएको पिउनेपानी सेवा बन्द भएको छ । सर्वसाधारणको घरमा धारा जडान भए पनि पानी आउने गरेको छैन ।

प्रकाशित : असार ८, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?