कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाला भन्दै मरिच तस्करी

भूषण यादव

वीरगन्ज — मरिच तस्करी प्रकरणमा एक छाला उद्योगीलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भन्सार प्रज्ञापनपत्रमा छाला घोषणा गरी मरिच भारत निकासी गरेको पाइएपछि ग्लोबल लेदर ट्रेनिङ उद्योगका सञ्चालक सन्जय अग्रवाललाई बुधबार पक्राउ गरिएको हो ।

छाला भन्दै मरिच तस्करी

धरौटी नबुझाएपछि अग्रवाललाई हिरासतामा पठाएको विभागका अनुसन्धान अधिकृत धु्रव पोखरेलले जनाए । विभागले मरिच तस्करीका मुख्य अभियुक्त अग्रवालमाथि बिगो र बिगो दोब्बर बराबर ३ करोड ७६ लाख रुपैयाँ धरौटी माग गरेको थियो । बुधबार विभागमा बयान दिन गएका अग्रवाललाई धरौटी मागिएको थियो ।


यसैगरी मरिच तस्करीका मतियार भन्सार प्रज्ञापनपत्रमा वस्तु घोषण गर्ने एजेन्टका प्रतिनिधि दिलिप श्रीवास्तवमाथि १ करोड ५० लाख र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्र कुमारमाथि १ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको उनले जनाए । बिगो बापतको जरिवाना नबुझाएपछि हाल तीनै जना हिरासतमा रहेको पोखरेलले बताए । ‘भन्सार प्रज्ञापनपत्र, उद्योगीले बुझाएको बिल र गोदाममा गरिएको छापामारीको आधारमा अनुसन्धान थालिएको छ,’ कान्तिपुरसँग पोखरेलले फोनमा भने, ‘शंकाको घेरामा अन्य फर्म पनि छन् ।’


गत जेठ २१ गते पर्सा प्रहरीले भन्सार जाँचपास प्रक्रिया पूरा गरी भारततर्फ गइरहेको यूपी ७८ बीटी ३८०४ नम्बरको ट्रकलाई सिमाना नजिकैको शंकराचार्य गेटबाट नियन्त्रणमा लिएको थियो । विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रकबाट १२ मेट्रिक टन मरिच बरामद गरेको थियो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार भारतीय नम्बरको ट्रकमा छाला भनी मरिच लोड गरी मुख्य नाकाबाटै भारत लगिरहेको सूचना आएपछि प्रहरीले नाकामा प्रत्येक भारतीय गाडीको चेकजाँच गरेको थियो । ट्रक चालकसहित मरिच लोड भएको ट्रक थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान पठाएको थियो ।


मरिच बरामद भएको ट्रकको भन्सार प्रज्ञापनपत्रमा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको ग्लोबल लेदर ट्रेनिङ उद्योगले भारत कानपुरको मेरिट इक्जिम नामक फर्मलाई छाला निकासी गरेको उल्लेख गरिएको थियो । ‘भन्सार जाँचपास प्रक्रियामा छाला ग्रीन च्यानलमा पर्ने भएकाले वस्तुको भौतिक प्रशिक्षण गरिन्न,’ एक भन्सार अधिकृतले भने, ‘प्रज्ञापनपत्र लगायत निकासीको कागजात मात्र अध्ययन गरिन्छ, व्यापारीले त्यसैको फाइदा उठाएर छालाको नाममा मरिच अवैध तरिकाले भारत पठाए ।’


वीरगन्ज भन्सार प्रमुख सेवन्तक पोखरेलका अनुसार उत्पादन निकासीका लागि व्यापारीले वीरगन्ज उद्योग वाणिज्य संघबाट उत्पत्तिको प्रमाणपत्र र वाणिज्य कार्यालयबाट छाला निकासीको प्रमाणपत्र लिएका थिए । नेपालबाट भारततर्फ जाने मालवाहक सवारी होस् वा कुनै खाली भारतीय गाडी भन्सार गेट पार हुनु अगाडि नै भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती टोलीले जाँच गर्छ ।


‘मरिच बरामद भएको ट्रकको प्रज्ञापनपत्रमा दुईवटा ट्रकमा २५ मेट्रिक टन वेट ब्लु छाला निकासी भएको उल्लेख छ,’ एक प्रहरी अधिकृतले भने, ‘एउटा ट्रक नियन्त्रणमा आएन ।’ प्रज्ञापनपत्रमा उल्लेख भएको परिमाण र निर्यातकर्ता उद्योगीले विभागमा पेस गरेको बिलमा समेत अन्तर भेटिएको राजस्व अनुसन्धानका अधिकृतले बताए । प्रज्ञापनपत्रमा केरमेट गरी ट्रक नम्बर समेत सच्याएको भेटिएको छ । मरिच तस्करीको अनुसन्धान गरिरहेका राजस्वका कर्मचारीका अनुसार दुईवटै ट्रकमा मरिच नै गएको दाबी गरेका छन् । ग्लोबल लेदरका सञ्चालक सञ्जय अग्रवालका नाता पर्ने भाइ अनिल पटवारी माथि पनि राजस्व टोलीले अनुसन्धान गरिरहेको छ ।

ट्रान्जिट बन्दै वीरगन्ज
मरिच तस्करीमा संलग्न व्यापारीका अनुसार भारतमा मरिच आयातमा करिब ७० प्रतिशतभन्दा बढी राजस्व तिर्नुपर्छ । आफ्ना किसानको उत्पादनलाई प्रवद्र्धन गर्न भारत सरकारले मरिच आयातमा उच्च कर लागू गरेकाले सीमावर्ती क्षेत्रका नेपाली व्यापारीले तेस्रो मुलुकबाट मरिच नेपाल भित्र्याई खुला नाकाबाट सजिलै भारत पठाउने गरेका छन् । नेपालमा अहिले मरिच आयातमा १० प्रतिशत भन्सार महसुल लाग्छ । तर, जेठ १५ अगाडिसम्म जम्मा ५ प्रतिशत भन्सार महसुल तिर्नु पथ्र्यो ।


०७५/०७६ को बजेटमा सरकारले मरिच आयातमा थप ५ प्रतिशत महसुल वृद्धि गरेको हो । वीरगन्जबाट रक्सौलमात्र पुर्‍याइदिए तेब्बर मूल्यमा मरिच बिक्री हुने भएकाले व्यापारीले तेस्रो मुलुकबाट मरिच नेपाल भित्र्याई भारततर्फ पठाउँदै आएका छन् । सम्बद्ध कारोबारीका अनुसार वीरगन्जमा ६ सय रुपैयाँ पर्ने एक किलो मरिचको रक्सौलमा हजारदेखि १२ सय भारतीय रुपैयाँ पर्छ ।


‘भारतीय रेल्वे सञ्जालसँग जोडिएको वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा तेस्रो मुलुकबाट भारतको कोलकाता हुँदै मरिच आइपुग्छ,’ एक व्यापारीले भने, ‘बन्दरगाहबाट ट्रकमा लोड भएका मरिचका कन्टेनर वीरगन्ज आसपासका गोदाममा अनलोड हुन्छन् अनि लाइन खुलेको नाकाबाट टयाक्टर, पिक अफ जिप र ट्रकमा लोड भएर भारत निकासी हुन्छ ।’ ट्रेडिङ कारोबारमा संलग्न व्यापारीदेखि लिएर वीरगन्ज उद्योग वाणिज्य संघका केही पदाधिकारी समेत मरिचको अवैध व्यापारमा लागेको स्रोतको दाबी छ ।


गत साता राजस्व विभागको टोलीले मरिच तस्करीमा संलग्न रहेको आशंकामा वीरगन्जको ५ वटा गोदाममा छापामारेको थियो । विभागका अनुसन्धान अधिकृत धु्रव पोखरेलले मरिच तस्करीको अनुसन्धान अहिले प्रारम्भिक चरणमै रहेको बताउँछन् । ‘वीरगन्जमा छापामारिएको वाहेक अन्य फर्महरू पनि शंकाको घेरामा छन्,’ उनले भने । पछिल्लो १० महिना यता प्रहरीले १८ टन मरिच भारततर्फ तस्करी हुने क्रममा बरामद गरेको छ । मरिच ढुवानी गर्ने एक थान १० चक्के ट्रक, दुइटा टयाक्टर, एउटा मोटरसाइकल सहित ८ जना मानिस नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको कार्यालयले जनाएको छ । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख सूर्य सेढाईका अनुसार यो आर्थिक वर्ष २ अर्व १६ करोड मूल्य बराबरको ५ हजार ६ सय २१ मेट्रिक टन मरिच आयात भएको छ ।

प्रकाशित : असार ८, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?