कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैते धान भित्र्याउन चटारो

पवन यादव

निजगढ — किसानलाई चैते धान भित्र्याउन चटारो छ । बर्खाअघि नै धान सुरक्षित पार्न किसानलाई भ्याइनभ्याइ भएको छ । दैनिक ज्यालादारीमा मजदुर नपाएपछि मजदुरको समूहलाई धान काट्न र दाइँ गर्न ठेक्कामा दिइएको स्थानीय किसान केशवनाथ यादवले बताए ।

चैते धान भित्र्याउन चटारो

१० कठ्ठामा लगाइएको धान काट्न गाउँमा अहिले मजदुर नै पाउन मुस्किल परेको उनले बताए ।
‘दैनिक ज्यालामा धान काट्न लगाउँदा सस्तो पर्छ,’ उनले भने, ‘तर मजदुर नपाउने समस्याले ठेक्कामा दिन बाध्य हुनु परेको छ ।’ पानीले बाली बिगार्ने डरले ठेक्कामा दिनु परेको उनले बताए ।


सोही ठाउँमै १४ कठ्ठामा चैते धान खेती गरेका अर्का किसान विनोद यादवले अहिलेको खेती मजदुर अभावले धेरै महँगो पर्न थालेको बताए । ‘दैनिक ज्यालामा काम गर्ने मजदुर पाइँदैनन्,’ उनले भने, ‘तर ठेक्कामा दिने भनेपछि तिनै मजदुर आफ्नो हिसाबले ठेक्का सकार गरी छिटो काम गर्छन् ।’ ठेक्कामा लिएपछि चाँडै काम सकिदिन्छन् । ज्यालामा धेरै समय लगाउने गरेको उनले बताए ।


चैते धान खेती सिँचाइ अभावमा अहिले विस्तारै घट्दै गएको उनले बताए । ‘भूमिगत सिँचाइको सुविधा भएका मान्छेले मात्र चैते खेती गरिरहेका छन्,’ उनले भने, ‘सिँचाइ सुविधा नभएको खेतमा यो बाली लाउने चलन हट्दै गएको छ ।’ पहिला नदीमा पानी आउँदा अधिकांशले वर्षमा दुई बाली धान उमार्थे । अहिले मजदुर समस्या, सिँचाइ अभावमा चैते धान खेती घट्दै गएको बताए ।


चुरे क्षेत्रको विनाशसँगै नदीका मुहान सुक्न थालेको र नदीमा थोरै पानी आए पनि उद्योगहरूले नदीमै फोहोर पानी हालेपछि सिँचाइ सुविधा गुमेको किसानहरूको
भनाइ छ । दैनिक ज्यालामा काम गर्दा आफूहरूलाई घाटा लाग्ने भएकाले ठेक्कामा काम लिएर गर्नु परेको धान काट्न ठेक्का लिएका मजदुर रामअयोध्या रात कुर्मीले बताए ।
‘दैनिक ज्यालामा काम गर्दा ५ किलो धान ज्याला पाउँछौं,’ उनले भने, ‘त्यसले परिवार चलाउन मुस्किल पर्छ ।’ ठेक्कामा लिएपछि एउटा मजदुरको भागमा झन्डै २५ किलो (पाँच पसेरी) धान आम्दानी हुन्छ । त्यसैले महँगीको सामना गर्न र परिवारलाई पुग्ने गरी आम्दानी गर्न ठेक्कामा लिएर धान काट्नु परेको उनले बताए । सबै क्षेत्रका मजदुरको ज्याला बढे पनि हाम्रो ज्याला उस्तै रहेपछि ठेक्का विधिलाई कार्यान्वयन गर्नु परेको अर्का मजदुर जोखन महतो धानुकले बताए । ‘बढ्दो प्रविधिको प्रयोगले हामी निरक्षर मजदुरको रोजगारी समेत गुम्दै गएको छ,’ उनले भने, ‘किसानी मजदुरको काम घटे पनि थौरै कामबाट कामचलाउ आम्दानीका लागि ठेक्कामा काम गर्न मजदुरका लागि फलदायी सावित भएको छ ।’ चैते धान काट्न मजदुरलाई पूरै घाममा शरीर जलाएर काम गर्नुपर्छ । धेरै मजदुर घाम सह्न नसकेर बिरामी पर्छन् । त्यसैले चैते धान काट्न मजदुर अभाव रहने गरेको उनको ठम्याइ छ । सिँचाइ समस्या र मजदुर अभावका कारण चैते धान खेतीको क्षेत्रफल यस वर्ष झन्डै ३ सय हेक्टरले घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस आवमा १२ हजार २ सय ३० हेक्टरमा चैते धान खेती गरिएको कार्यालयको तथ्यांकले देखाएको छ ।


कार्यालयका अनुसार गत वर्ष १२ हजार ५ सय ३२ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । चैते धान खेती बर्सेनि महँगो हँुदै गएको किसानले बताए । किसानले लगाएको धानको उत्पादन बढाउन नसकिएको र भएको उत्पादनअनुसार लगानी नउठ्ने भएपछि सबभन्दा बढी खेत धनी किसान मारमा परेको किसानको भनाइ छ ।

प्रकाशित : असार ८, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?