गोपाल धर्मशाला अस्तव्यस्त, सरोकारवाला निकाय मौन

जनकपुर — चार बिघा जमिनमा रहेको कम्पाउन्ड पर्खालसहितको सुविधायुक्त गोपाल धर्मशाला कमजोर व्यवस्थापनका कारण अस्तव्यस्त बनेको छ । राजनीतिक संरक्षण प्राप्त केही व्यक्तिहरूको हालीमुहाली रहेको उक्त धर्मशालाको अस्तित्व संकटमा परेको छ ।

गोपाल धर्मशाला अस्तव्यस्त, सरोकारवाला निकाय मौन

जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन सडक विस्तार र ढल निकासका लागि धर्मशालाको उत्तर र पश्चिमतर्फको पर्खालसहितको टहरा भत्काउन थालिएको छ । धर्मशालाको पर्खाल तथा पुराना व्यावसायिक सटर भएका ठाउँमा केही व्यक्तिहरूले नाप नक्साबिना मनपरि नयाँ व्यावसायिक सटर निर्माण गर्न थालेपछि धार्मिक पर्यटकीय प्रमुख गन्तव्यस्थल धर्मशालाको अस्तित्व संकटमा परेको हो ।

विक्रम संवत् १९८३ मा भारत कोलकताका दाता रायबहादुर बलदेव दास रामेश्वर नाथानीले बनाएको उक्त धर्मशालाको व्यवस्थापन नाथानी परिवारले नै गर्दै आए पनि पछिल्ला तीन वर्षदेखि केही स्थानीय व्यक्तिलाई समेत सहभागी गराई दाता परिवारका योगेन्द्रकुमार नाथानीको अध्यक्षतामा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी, संघका वर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह र कौशलेन्द्रकुमार झासहितको सात सदस्यीय कार्यकारिणी समिति गठन गरी सञ्चालित छ । तर यो समिति पनि हचुवाका भरमा गठन भएको स्थानीयवासीको आरोप छ । समितिले धर्मशाला व्यवस्थापनका लागि मुन्सी (हिसाब राख्ने) देखि अन्य कर्मचारीको व्यवस्था गरेको भए पनि धर्मशालाको हिसाब पारदर्शी छैन ।

दाता नाथानी परिवारको सिफारिसमा केही व्यक्तिले नयाँ संरचना निर्माण गरेका छन् भने स्थानीय दवंग (डन) तथा राजनीतिक पहुँच भएका व्यक्तिले धाकधम्की देखाएर घरटहरा ठड्याएका छन् । मुख्य सञ्चालकलाई प्रभावमा पारी जग्गा अतिक्रमण गर्नेहरू पनि थुप्रै छन् । जबकि नेपाल सरकार अधिनस्थ यस्ता जग्गामा नयाँ संरचना निर्माण गर्न निषेध छ । दाता परिवारले नियुक्त गरेका मुख्य व्यवस्थापक राजकुमार झा कार्यकारिणी समिति बनेयता आफू जिम्मेवारीविहीन बनेको बताउँछन् भने कार्यकारिणी समितिका सदस्यहरू धर्मशाला व्यवस्थापनका लागि चाहिने आवश्यक बजेटको अभाव रहेको प्रतिक्रिया दिन्छन् ।

मुख्य व्यवस्थापक झा धर्मशालाको करिब १२ लाख वार्षिक आम्दानी र त्यति नै खर्च हुने बताउँछन् । ‘अलिअलि बचत हुन्छ । यसबाट धर्मशालाको मर्मत सम्भार हुन्छ,’ झाले भने । कार्यकारिणी समितिका सदस्य जितेन्द्रप्रसाद साह धर्मशालालाई अविलम्ब मर्मत सम्भार गर्नुपर्ने बताउँछन् । धर्मशालाको जग्गा अतिक्रमण गर्नेहरू पनि थुप्रै भएको उनको कथन छ, ‘गुरुयोजना बनाएर धर्मशालाको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

जनकपुरको मुख्य बजारमा अवस्थित गोपाल धर्मशालाको जग्गामा घरजम गर्ने तथा व्यावसायिक प्रयोजनका लागि भाडा लिनेहरूको संख्या ६० भन्दा अधिक छ । कोही वर्षांैदेखि भाडामा बस्दै आएका छन् भने कोही नयाँ संरचना निर्माण गरेर । मुख्य बजारमा पर्ने धर्मशालाको भाडा भने प्रति सटर ३ हजारदेखि ५ हजारसम्म मात्र रहेको व्यवस्थापक झाको कथन छ । जबकि यस क्षेत्रका निजी घरप्रति सटर मासिक १५ हजारभन्दा बढीमा भाडा लागेका छन् ।धर्मशालाको जग्गामा आफूखुसी घर निर्माण गर्न पाउने भएपछि केही व्यक्ति आफ्ना निजी घर भाडामा लगाएर, धर्मशाला परिसरमा निर्मित घरमा बस्दै आएका छन् । केहीले त आफ्ना घर नै बिक्री गरेर धर्मशालाको जग्गामा घर बनाएका छन् ।

स्थानीय सरकारले हस्तक्षेप गर्नुपर्छ
रमेशकुमार साह, पूर्वअध्यक्ष,
जनकपुर उद्योग वाणिज्य संघ
जनकपुरको मुटुमा अवस्थित गोपाल धर्मशालाको अस्तित्व नै संकटमा परेको छ । दाता परिवार मौन छन् । कार्यकारिणी समितको गठन हचुवाका भरमा गरिएको छ । चार बिघा बहुमूल्य जग्गालाई सदुपयोग गरेर पर्यटकीय महत्त्वको आधुनिक धर्मशाला निर्माण गर्न सकिन्छ । स्थानीय सरकारले यस्तो महत्त्वपूर्ण संरचनाको स्वामित्व ग्रहण गर्नुपर्छ । यसैगरी भागबन्डामा चल्यो भने धर्मशाला लुटको अखडा बन्न बेर छैन ।

ट्रस्टमा लग्नुपर्दछ
सुदर्शन सिंह, वडाध्यक्ष,
जनकपुर उपमहानगरपालिका ४
चार बिघा क्षेत्रफलमा फैलिएको गोपाल धर्मशाला र यसको जग्गा अत्यन्तै महत्त्वपूर्ण हो । गंगासागर र धनुषसागरको डिलमै अवस्थित यस धर्मशालालाई ट्रस्टमा लगेर भव्य रिसोर्ट निर्माण गर्नुपर्दछ । धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सस्तोमा सुविधा जनक आवास उपलब्ध हुन सक्छ । धर्मशालाभित्र र बाहिरका सम्पूर्ण घरटहरा तथा सर्टरहरू खाली गराई भव्य बजार बनाउन सकिन्छ । जसबाट धर्मशालालाई आम्दानी हुनुका साथै जनकपुरको विकासमा पनि टेवा पुग्नेछ ।

एकनासका सर्टर बनाउनुपर्दछ
शम्भु साह प्रेमी, अध्यक्ष,
श्रीराम युवा कमिटीमेयर लालकिशोर साहले जनकपुरको मुख्य बजारमा मिथिला शैलीको घर निर्माण गर्न तथा केसरिया रंगमा रंगाउन आहान गर्नु भएको छ । गोपाल धर्मशालाको उत्तर र पश्चिम भागको पर्खाल तथा सर्टरहरू भत्काइएका छन् । अचेल नयाँ संरचना बन्दैछ । नयाँ संरचना निर्माण गर्दा एकनासका सर्टर र एकै रंगले रंगाए नगरको शोभा बढ्ने थियो । यस विषयमा सरोकारवाला निकायहरूको ध्यान अझै पनि पुगेको छैन ।

गुरुयोजना बनाएर अघि बढ्नुपर्दछ
जितेन्द्रप्रसाद साह, सदस्य,
गोपाल धर्मशाला कार्यकारिणी समिति
गोपाल धर्मशाला जनकपुरको धरोहर हो । धार्मिक पर्यटकहरूका लागि सबैभन्दा सस्तो तथा सुविधायुक्त स्थान हो । यहाँ एक साथ दर्जनौं यात्रुबस पार्किङ गर्ने खाली स्थान छ । खाना पकाउने, लुगा सुकाउनेदेखि बिजुली, खानेपानी आदिको सम्पूर्ण सुविधा छ । सस्तो पनि छ तर यसलाई तत्कालै मर्मतसम्भार गर्नुपर्ने आवश्यकता छ । बजेट छैन । दाताहरूले मर्मतसम्भार गरिदिने वाचा गरेका छन् । आशा गरौं धर्मशालाको मुहार छिटै फेरिनेछ ।

बचत भए पो भारत पैसा पठाउनु ?
राजकुमार झा, मुख्य व्यवस्थापक
गोपाल धर्मशालाबाट कमाएको पैसा भारत पठाइयो भने हल्ला फैलाइएको छ तर वास्तविकता के हो भने वार्षिक जति आम्दानी हुन्छ, त्यति नै खर्च पनि हुन्छ । सामान्य मर्मतसम्भार गराउन समेत कठिन छ । फेरि कार्यकारिणी समिति गठन भएपछि मलाई कुनै अधिकार पनि छैन । हिसाब मुन्सीजी गर्नुहुन्छ । लेखापाल आम्दानी खर्चको हिसाब राख्छन्, मैले कसरी पैसो भारत पठाउनु ?

प्रकाशित : असार १०, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?