२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सडक विस्तार नहुँदा सकस

पर्सा — वीरगन्ज महानगरपालिकाको मुख्य सडक विस्तार नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । त्रिभुवन राजपथ महानगरको मध्य भागबाट गुज्रिएको छ । गण्डक, पावरहाउस चोक हुँदै महानगरभित्र प्रवेश गर्ने राजपथ घण्टाघर, माइस्थान चोक, आदर्शनगर चोक, अलखिया चोक, छपकैया हुँदै रक्सौल सीमामा पुगेर अन्त्य भएको छ ।

सडक विस्तार नहुँदा सकस

पथलैया हुँदै वीरगन्ज आउने यो राजपथको समानान्तर पावरहाउस चोकदेखि घण्टाघरसम्म अर्को २ लेन सडक निर्माण भएकाले त्यहाँसम्म सडक साँघुरो भएको महसुस हुँदैन । तर घण्टाघरदेखि छपकैंयासम्म भने सडक अझै पनि २ लेनकै रहेकाले आवागमनम सकस हुने गरेको छ ।

मुख्य सडकबाटै सबैखाले सवारी गुड्ने र पार्किङ पनि यही सडकमा गरिने भएकाले आधा सडक मोटरसाइकल र अन्य हलुका सवारी पार्किङले ओगटेको हुन्छ । अलखिया चोकबाट घडिअर्वा हुँदै माइस्थानसम्म एकतर्फी सवारी साधन चल्ने नियम बनाइए पनि माइस्थानदेखि घण्टाघरसम्म दुबैतर्फ चल्ने भएकाले यहाँ धेरै भीडभाड हुने र जाम लाग्ने समस्या छ ।

पछिल्लो २ वर्षयता महानगरका सडकमा बाक्लै गुडिरहेका इरिक्साको चापको कारण यो सडक खण्ड झनै भीडयुक्त बनेको छ । त्रिभुवन राजपथको समानान्तर पूर्वतर्फ थप २ सडक छन् । २ र ३ नम्बर सडक नामकरण गरिएका यी सडक झनै साँघुरा छन् । तिनले १ नम्बर सडकलाई वैकल्पिक सडकका रूपमा खासै मद्दत गरेका छैनन् । यी सडक पनि इरिक्साको एकहोरो भीडले भरिएका हुन्छन् । यी सडकबाट ससाना रिक्सा गुज्रन पनि सकस हुन्छ । यी मात्र नभई आदर्शनगरदेखि लक्ष्मी बैंक चोक, माइस्थान चोकदेखि माइस्थान मन्दिर तथा घण्टाघरदेखि बसपार्कको सडक, घण्टाघरदेखि रानीघाट क्षेत्रको सडकजस्ता महानगरका अन्य व्यस्त सडकको अवस्था पनि नाजुक छ ।

महानगरको मुख्य सडक विस्तार गर्ने चर्चा झन्डै ३ दशकदेखि हुँदै आएको छ । यसले पूर्णता पाएको छैन । कहिले सडकछेउका घर धनीले अदालतमा रिट दायर गरेर त कहिले शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर सडक विस्तारको काममा अवरोध गर्दै आएको आरोप तथा गुनासो आम नगरवासीको छ । २ बर्वअघि सडक विस्तारको चर्चा चलेसँगै घरधनीहरूले सडक विस्तार रोक्न संघर्ष समिति नै गठन गरी अवरोध पुर्‍याइएको थियो । हाल निर्माणाधीन वीरगन्ज पथलैया व्यापारिक मार्ग विस्तारको योजनामा महानगरको मुख्य सडक परेको छैन । महानगरपालिकाको मुख्य सडक एक लेनमा खुम्चिँदा पनि सडक विस्तारमा कतैबाट तदारुकता देखिएको छैन ।

विकासको मेरुदण्डै सडक सञ्जाल भएको वास्तविकताबाट वीरगन्ज भने अझै अलग्गै रहन पुगेको यथार्थ स्थानीयलाई जानकारी छ । देशका प्राय: अन्य ठूला/साना सहरमा सडक विस्तारको अभियानै चलेको र कतिपय सहरले ६ लेनमा विस्तारसमेत गरिसकेका छन् । वीरगन्जको २ लेन सडक भने बिहान ८ देखि राति ९ बजेसम्म एक लेनमै खुम्चिन बाध्य हुन्छ । महानगरले एक लेनमा मोटरसाइकल, गाडी, रिक्सा, साना गाडी तथा इरिक्सालाई पार्किङको लागि छुट्याएको छ । बाँकी एक लेन सडकले सम्पूर्ण महानगरको सवारीको चापलाई धान्नुपरेको छ । बेलाबेलामा सडक विस्तार हुने चर्चा त चल्छ तर महानगरवासीको आशा जाग्न नपाउँदै फेरि अदृश्य शक्तिको रोकावटले त्यो निराशामा परिणत हुने गरेको छ ।

पानीटंकीका अविनाश झा पछिल्लो समय महानगरमा बढ्दो सवारी चापसंँै मुख्य सडक अति साँघुरो भएकाले विस्तार आवश्यक रहेको बताउँछन् । ‘यहाँ आउने ठूला नेता र मन्त्रीहरू आर्थिक नगरी र आर्थिक राजधानीको उपमा दिन पछि पर्दैनन्,’ उनले भने, ‘आर्थिक राजधानी भने आफैं साँघुरो र खुम्चँदै गएकाले हामीलाई निक्कै सकस भएको छ ।’

रेशमकोठीका मुकेश खेतान पछिल्लो एक दशकयता महानगरमा बढेको जनसंख्या र सवारीको चापको कारण नगरको मुख्य सडक विस्तार गर्न अति आवश्यक भइसकेको बताउँछन् । ‘यो सडक विस्तार हुन नदिन बाइपास र आईसपीतर्फको सडक विस्तारको चर्चा चलाइँदै छ,’ उनले भने, ‘तर महानगरको मुख्य सडकनै साँघुरो र अस्तव्यस्त भए महानगरवासीको दु:ख कहिले पनि अन्त्य हुँदैन, त्यस कारण यो काम अविलम्ब गर्नुपर्छ ।’

महानगरका व्यापारीहरू पनि मुख्य सडक विस्तार हुने हल्लाले खुलेर व्यवसायमा लगानी गर्न नसकेको बताउँछन् । आदर्शनगरस्थित मुख्य सडकमा कुरियर चलाएका हरि पन्त ढिलो चाँडो एक दिन सडक विस्तार हुने नै भएपछि महानगरले चाँडो निकास दिएर हाल रहेको दुविधा अन्त्य गर्नुपर्ने बताउँछन् । उनले भने, ‘केही सीमित व्यक्तिको स्वार्थका कारण लाखौं महानगरवासीलाई सधैं अप्ठेरोमा पारिराख्नु पनि भएन, अब स्थानीय तह मात्र नभई प्रदेश सरकारले पनि २ नम्बर प्रदेशको एक मात्र महानगर, मुलुकको आर्थिक राजधानी तथा प्रवेशद्वार वीरगन्जलाई सभ्य, व्यवस्थित र सुन्दर बनाउन यहाँको मुख्य सडक विस्तार गर्न आँट गर्नुपर्छ ।’ मुख्यमन्त्री महम्मद लालबाबु राउतको गृहनगर समेत भएकाले वीरगन्जलाई सोहीअनुरूप अघि बढाउनुपर्ने उनले बताए । गत महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ वीरगन्ज आउँदा मुख्य सडक विस्तार गरिने बताएका थिए ।

महानगरका प्रमुख विजय सरावगी मुख्य सडक हालसम्म त्रिभुवन राजपथअन्तर्गत नै रहेकाले त्यो संघीय सरकारकै अधिकार क्षेत्रभित्र पर्ने बताउँछन् । ‘यो राजमार्ग महानगरको अधिकार क्षेत्रभित्र पर्दैन, हालसम्म संघीय सरकारकै अधिकार क्षेत्रमा छ,’ उनले भने, ‘संघीय सरकारले विधिसम्मत रूपमा हस्तान्तरण गरे महानगर यसको स्वामित्व लिन तयार छ, सडक विस्तार हुनु पर्ने माग जनताको छ, यसको पक्षमा म पनि छुँ तर महानगरलाई कुरुप बनाएर वा मुख्य सडकका बासिन्दाको उठीबास हुने गरी हुने तोडफोडको पक्षमा म छैन, सबैलाई चित्त बुझाएर सडक विस्तार हुनुपर्छ ।’

प्रकाशित : असार ११, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?