कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गृहिणीबाट उद्यमी

सामुदायिक विकास कार्यक्रमले सीप र स्रोत उपलब्ध गराएपछि सयौं ग्रामीण महिला गृहिणीबाट रोजगार र उद्यमी
लक्ष्मी साह

बारा — कोल्हवी नगरपालिका–५ बेलवाकी ३५ वर्षीया चम्पा खडकालाई गृहिणी भएर दिनचर्या बिताउँदा उकुसमुकुस थियो । घरमा पतिले कमाएको थोरै पैसाबाट परिवार धान्न मुस्किल पथ्र्यो । तर अहिले उनी गाउँमा ब्युटिपार्लरको व्यवसाय गरेर महिनाको अतिरिक्त १५ हजार कमाउन थालेपछि परिवार धान्न ४ महिनादेखि कठिनाइ छैन ।

गृहिणीबाट उद्यमी

‘आफू ब्युटिसियन भएर गाउँको महिलालाई सुन्दरता दिएको छु । पैसा पनि कमाएको छु,’ उनले भनिन्, ‘गाउँमा विवाह व्रतबन्धलगायत सामाजमा सांस्कृतिक र वैवाहिक कार्य हुँदा दुलहीलाई सिंगार्दै फुर्सद हुँदैन । यसकै आम्दानीले छोराछोरी पढाएको छु ।’ बेरोजगार भएर बस्नुभन्दा सीप सिकेर व्यवसाय गर्नु जीवकोपार्जका लागि उत्तम भएको उनले बताइन् । उनकै सिको गरेर बारागढी गाउँपालिका–३ खोपवाकी पुनम चौधरी ब्युटिसियनको सीपले रोजगार भएकी छन् । गाउँबाट ५ किमि उत्तरमा पर्ने कोल्हवी बजारमा उनले ब्युटिसियनको व्यवसाय गरेर राम्रो आम्दानी हात पार्न थालेकी छन् ।


बारागढी गाउँपालिका–५ सिंहासनीकै ३५ वर्षीया पवित्रा दुलाल पतिले कमाएको पैसाबाट घर धान्न मुस्किल परेपछि मुढा बनाउने सीप सिकेर उद्यमी भएकी छन् । गाउँकै हाटबजारमा मुढा बेच्छिन् । र, पैसा कमाउँछिन् । गाउँमा उनी रोजगार भएपछि धेरैले उनको सिको गरेका छन् । ‘गाउँमा बाँसको काम गर्दा केहीले डोमको काम गरेको भन्थे । तर, अहिले त्यही पेसाबाट कमाउन थालेपछि अरूले सिको गरेका छन्,’ उनले भनिन्, ‘आफू गाउँको उद्यमी भएकोमा गर्व छ ।’


यी महिला उदाहरण मात्र हुन् । ग्रामीण पुनर्निर्माण संस्थाबाट सञ्चालित सामुदायिक विकास कार्यक्रमबाट जिल्लाका सयौं गृहिणी सीपमा दक्ष भएर रोजगार बनेका छन् । परिवारको जीविकोपार्जनको जिम्मा लिएका छन् । कति ग्रामीण महिला उद्यमीसमेत बनेका छन् । त्यस्तै अन्य महिला हाते कढाइको सीप सिकेर उद्यमी बनेका छन् । पचरौता, कोल्हवी, महागढीमाई, सिम्रौनगढ नगरपालिका र बारागढी, करैयामाई, फेटा, आदर्शकोतवाल गाउँपालिका गरी ८ वटा स्थानीय तहका महिला उद्यमी र व्यवसायी बनेका छन् । ‘सामुदायिक विकास कार्यक्रमले सीप र स्रोत उपलब्ध गराएपछि सयौं ग्रामीण महिला गृहिणीबाट रोजगार र उद्यमी बनेका छन्,’ बारागढी गाउँपालिकाकी उपमेयर लक्ष्मीदेवी रायले भनिन्, ‘जीविकोपार्जनमा सीपले सहयोग पुर्‍याएको छ ।’


सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक विपिन दासका अनुसार ३ सय ५५ महिलालाई व्यवसाय गर्न संस्थाले २ करोड ५५ लाख अनुदान उपलब्ध गराएको छ । यसबाहेक जिल्लाको ८ वटा स्थानीय तहमा आर्थिक, सामाजिक, सीप, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा लगानी गरेको उनले बताए । ‘महिला र युवा लक्षित कार्यक्रमले जीवनस्तरमा परिवर्तन ल्याएको छ,’ उनले भने, ‘रोजगार, उद्यम र व्यवसायबाट वञ्चित त्यस्ता समुदायको पहिचान गरी जीविकोपार्जन कार्यक्रम ल्याइएको छ ।’

प्रकाशित : असार १३, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?