कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँसले धानेको जीवन

भरत जर्घामगर

सिरहा — घेराबेरा, घर निर्माण, नाङलो, चाल्नो, ढकी, डोको, टोकरी लगायत उब्जनी थन्काउने भकारी बनाउन समेत बाँसको प्रयोग गरिन्छ । यहाँका हरेक किसानका घरमा बाँसबाट बनाइएका सामग्री अत्यधिक प्रयोगमा आउँछन् ।

बाँसले धानेको जीवन

पछिल्लोपटक बाँस तथा निगालोको फूलदानी, फोटो फ्रेम, कप, टेबुल ल्याम्प स्टेन्ड लगायत सामग्री ग्रामीण भेगमा चल्तीमा छन् । अधिकांश दलित, भूमिहीन सुकुम्बासी परिवारको जीविकोपार्जनको आधार बाँस व्यापार र बाँसजन्य सामग्री बनेको छ । तराईका दलित डोम समुदायको पुख्र्यौली पेसा बाँसजन्य सामग्रीको बिक्री–वितरण हो । बाँसका सामग्रीको प्रयोग बढ्न थालेपछि उनीहरूकै सिको गर्दै अन्य दलित तथा भूमिहीन सुकुम्बासी परिवारले पनि जीविकोपार्जनको मुख्य आधार बाँसजन्य सामग्री बनाउँदै आएका छन् ।

सिरहाका हरेक दलित र भूमिहीन सुकुम्बासी बस्तीमा बाँसजन्य सामग्री उत्पादन भइरहेको देख्न सकिन्छ । यसको व्यावसायिक र बजारीकरणमा ध्यान दिन नसक्दा यो गुजारा चलाउने माध्यम मात्र बनेको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय लहान अन्तर्गत लघु उद्यम विकास कार्यक्रमको तथ्यांकअनुसार वन पैदावरमा आधारित बाँसका सामग्री उत्पादन र बिक्री वितरणमा ३ सय ४० परिवार संलग्न छन् । यो तथ्यांक घरेलुले तालिम दिएर उत्पादनमा संलग्न गराएका परिवारमात्र हुन् । त्यसबाहेक जिल्लामा हरेक संघसंस्थाले यस्ताखाले सीपमूलक तालिम दिँदै आएका छन् ।

सिरहा सखुवानन्कारकट्टी ३ पनडुब्बीका ४८ वर्षीय सत्यलाल यादवले कृषकबाट किनेको बाँस बजारमा बिक्री गरेरै १२ वर्षदेखि गुजारा धान्दै आएका छन् । बाँस व्यापारबाटै उनले १ छोरा र १ छोरीसहित परिवारको लालनपालन चलाउँछन् । उनी उदयपुरको कोल्टे, सप्तरीको शिशुवारी लगायत उत्तरवर्ती क्षेत्रका कृषकबाट बाँस खरिद गरी गाउँघर लगायत बजारमा बिक्री गर्छन् ।

‘बयलगाडामा एकपटकमा ४८ थान बाँस लोड गर्छु,’ सत्यलालले भने, ‘४८ थान बाँस २ हजार ५ सयमा किनेर ४ हजार रुपैयाँसम्ममा बिक्री गर्छु ।’ १० कठामात्र जग्गा रहेका उनले बाँसले नै आफ्नो जीवन धानेको सुनाउँछन् । घरायसी प्रयोजनका लागि गाउँघरमा बाँसको माग अत्यधिक रहेकाले बिक्रीमा समस्या नभए पनि बाँस पाउनै मुस्किल हुन थालेको उनले बताए ।

सत्यलालसँगै उनका छिमेकी ४५ वर्षीय रामसेवक यादव बाँस व्यापार गर्छन् । २ कठा मात्र जग्गाजमिन भएका रामसेवक जनमजदुरीमा खटी गुजारा चलाउन समस्या भएपछि बाँस व्यापारतर्फ लागेका हुन् । ‘आम्दानी राम्रै छ,’ उनले भने, ‘अब त बाँस पाउनै कठिन भो ।’
सत्यलाल र रामसेवक मात्र होइन जिल्लामा ४८ परिवार बाँस व्यापारमा संलग्न छन् ।

५६ वर्षदेखि नाङलोसँग खेल्दै
१० वर्ष जत्तिको हुँदा नाङलो बनाउन सुरु गरेका सिरहा कालाबन्जरका ६६ वर्षीय उत्तिमलाल माझी अहिले पनि त्यही पेसालाई निरन्तर दिइरहेका छन् । १५ कट्ठा जग्गाले वर्षभरि गुजारा चलाउन धौधौ हुने भएकाले पनि पुख्र्यौली पेसा गर्न बाध्यता भएको उनी सुनाउँछन् । उनलाई ६० वर्षीया पत्नी सुकुमायाले सघाउँछिन् । बाजे बिकाउदेखि बुवा बिलटसमेत नाङलो बनाएरै बिते । बुढ्यौलीमा यही नाङलोसँग खेलिरहेको उनी सुनाउँछन् ।

आठाना पैसादेखि नाङलो बनाएर बिक्री गर्न सुरु गरेका उनी अहिले एउटा नाङलो घरमै आउने व्यापारीलाई ४ सय रुपैयाँमा बिक्री गर्छन् । ‘बाँस घरमै व्यापारीले ल्याउँछन् भने बिक्रीका लागि पनि घरमै व्यापारी आउँछन्,’ उनले भने, ‘बिक्रीमा समस्या भएन, एउटा नाङलोबाट १ सय रुपैयाँ कमाइ हुन्छ, बुढ्यौली शरीरले बनाउन सकेको छैन ।’

दिनभरमा एउटा नाङलो बनाउने गरेका उनको परिवारले दिनमा ५ वटासम्म बनाउँछन् । उत्तिमलाल मात्र होइन कालाबन्जरका ६ घरपरिवारको गुजाराको माध्यम बाँसजन्य सामग्रीको उत्पादन र बिक्री वितरण नै हो । ती बस्तीका युवा युवतीदेखि वृद्धवृद्धासम्म बाँसका सामग्री बनाइरहेका भेटिन्छन् ।

सीपको कमाइ
हातमा सीप भए पैसा कमाउन विदेशिनुपर्छ भन्ने छैन । स्वदेशमै बसेर व्यवसाय गरी राम्रै आम्दानी लिन सकिन्छ । यही कुरा पुष्टि गरेका छन् सिरहा गुदिगाउँका काले सार्कीले । स्थानीय स्तरमा पाइने बाँस तथा निगालेबाट विभिन्न किसिमका आकर्षक सामान निर्माण गरी उनले राम्रो आम्दानी गरेका छन् । आफ्नै घरमा बाँस, निगालोको सामान निर्माणको काम सञ्चालन गर्दै आइरहेका काले भन्छन्, ‘वर्षौंदेखि बाँस, निगालोको काम गर्दै आइरहेको छु । सिक्ने काम कहिल्यै सकिँदैन । काम गर्दै जाँदा कहिलेकाहीं समस्या पनि आउँछ । तर यो क्षेत्रमा भविष्य राम्रो र आयआर्जनको माध्यम देखेर आकर्षित भएको हुँ ।’

सामान बिक्रीबाट परिवार गुजारा गरी वार्षिक १५/२० हजार रुपैयाँ आम्दानी भइरहेको उनको कथन छ । १५ वर्षदेखि बाँस तथा निगालोको सामान बनाउन थाले पनि तीन वर्ष गैरसरकारी संस्थाद्वारा सञ्चालित दुई साताको बाँस तथा निगालो तालिम लिएपछि उनले व्यावसायिक रूपमा आधुनिक सामानसमेत बनाउन थालेका हुन् । उनले भने, ‘अहिले तालिम लिएपछि गाउँघरमा संस्थाले तालिम दिलाउन प्रशिक्षक बनाउने गरेका छन् ।’

आफनो व्यवसायबाट छ जनाको परिवार पालेको बताउँदै उनले भने, ‘अहिले आफ्नो व्यवसाय पनि राम्रैसँग सञ्चालन गरेको छु, गाउँगाउँ गएर चेला पनि बनाएको छु । भत्ता पनि पाएको छु ।’ जिल्लाको उत्तरवर्ती चुरे क्षेत्रमा बाँस र निगाला प्रशस्त पाइने भएकाले रोजगारीका लागि उपयोगी माध्यम बन्ने गरेको छ ।

प्रकाशित : असार १५, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?