कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१ किलो सुनसहित भरिया पक्राउ

भूषण यादब

वीरगन्ज — मोटरसाइकलको सिटमुनि रहेको एयर फिल्टरभित्र सुन लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

१ किलो सुनसहित भरिया पक्राउ

विशेष सूचनाका आधारमा नाकास्थित प्रहरी चौकी इनर्वाको टोलीले वीरगन्ज भन्सार ऐरिया पार गरेको ना४८प ३७७४ नम्बरको मोटरसाइकललाई शंकराचार्य गेट अगाडि नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकल खानतलासी गर्दा एक किलो सुन बरामद भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘सिटमुनि एयर फिल्टरभित्र राखिएको अवस्थामा सुन बरामद भएको हो,’ जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी ढकालले भने, ‘सुनको अवैध कारोवार गर्ने व्यापारीमाथि अनुसन्धान गरिरहेका छौँ ।’

एयर फिल्टरभित्र लुकाउन एक किलो सुनलाई ६ टुक्रा पारिएको थियो । मोटरसाइकल चालक सर्लाही हरिपुर नगरपालिका ९ निवासी सन्तोषकुमार साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार साह भरिया मात्र हुन् । पत्रकार सम्मेलनमै साहले एक व्यक्तिले सुन रक्सौल पुर्‍याइदिए बापत ५ हजार रुपैयाँ दिएको खुलाएका थिए । एक किलो सुनको बजार मूल्य ४९ लाख रुपैयाँ रहेको सुन व्यवसायीले बताए ।

सुनको ट्रान्जिट बन्दै वीरगन्ज
केही वर्षयता नेपालभन्दा भारतमा सुन महँगो भएपछि व्यापारीले ठूलो परिमाणमा सुन भारत पठाउन थालेका छन् । जानकारका अनुसार तेस्रो मुलुकबाट काठमाडौँ आएको अधिकांश सुन वीरगन्जकै नाका भएर भारत जाने गरेको छ । वीरगन्जका केही व्यापारी लामो समयदेखि सुनको कारोवारमा लगानी मात्र नगरी ओसारपसारको काम समेत संलग्न रहँदै आएका छन् । कारोवारीले काठमाडौँबाट रात्रि बस र इन्धन बोक्ने ट्यांकर लगायतका सवारी साधनमा भरियामार्फत सुन वीरगन्जसम्म ल्याउँछन् ।

अनि यहाँबाट अर्को समूहले नाका कटाएर गन्तव्यसम्म सुन पुर्‍याउँछन् । यस क्रममा पर्सा र मकवानपुर प्रहरीले पटक–पटक सुनसहित भरियालाई पक्राउ गरेको छ । भरिया पक्राउ परे पनि सुन कारोवारीसम्म हालसम्म प्रहरी र राजस्व विभागको अनुसन्धान पुग्न सकेको छैन । ‘किलोमा ५ लाख रुपैयाँ आम्दानी हुने सुन तस्करीमा वीरगन्जका अन्य व्यापारीले समेत लगानी गरेका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने ।

प्रकाशित : असार १७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?