२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

छुवाछूत हटाउन दलित अभियान

भरत जर्घामगर

सिरहा — मधेसका गाउँघरमा दलित समुदायबीच पनि छुवाछूत अन्त्यका लागि सिरहा मिर्चैयाका दलित महिलाले पहिलोपटक अभियान सुरु गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लागू भएको आठ वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनुमा दलित–दलितबीच छोइछिटो कायम रहनु नै बाधकका रूपमा रहेको उनीहरूको ठहर छ ।

छुवाछूत हटाउन दलित अभियान

दलित विकास मञ्च कल्याणपुरले मिर्चैया नगरपालिकाको सहयोगमा नगरक्षेत्रका महिलालाई भेला गरी ६ दिने सशक्तीकरण अभियान थालेको छ ।

अभियानमा सहभागी ललिता सदा मुसहरले मधेसका गाउँघरमा दलित समुदायकै डोम, हलखोर, मुसहर जातिले छोएको अन्य दलित समुदायकैं चमार, दुसाध जातिले समेत नखाने गरेकै कारण समस्या भएको बताइन् । ‘चेतना अभावका कारण दलित–दलितबीच पनि छोइछिटो अझै पनि रहेको पायौं,’ उनले भनिन्, ‘दलित महिला भेलाले दलितबीच छुवाछूत हटाउने निष्कर्ष निकालेर अभियान थालेका हौं ।’
अभियानमा सहभागी मिर्चैया नगरपलिका कार्यपालिका सदस्य विनु महराले मुसहरले डोमले छोएको नखाने, डोमले छोएको चमार समुदायले नखाने विभेद गर्ने अवस्थासम्म पाएको बताइन् । ‘दलित–दलितबीचमै पनि यस्तो अवस्था पाएपछि अन्य जातिले झन छोइछिटो गर्न सक्ने अवस्था देखेर छुवाछूत हटाउ अभियान सुरु गरेका हौं,’ उनले भनिन् । दलित–दलितबीच कायम छोइछिटो नगर्ने प्रतिबद्धता भेलामा भएको उनले जानकारी दिइन् ।

‘अभियानले वर्णव्यवस्थामा आधारित सबैखाले भेदभावको अन्त्य गर्नमा सघाउ पुग्ने आशा गरेका छौं,’ उनले भनिन्, ‘सबै खाले विभेद र बहिष्करणको अन्त्यका लागि सबैको पहिचान र अस्तित्वलाई सम्मान गर्ने वातावरण निर्माण गर्नका लागि राज्यले समतामूलक सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्छ ।’नेपालमा २६ जाति दलित समुदायमा पर्छन् । तीमध्ये मुसहर, डोम, चमार, दुसाध, तत्मा लगायत १९ जाति मधेसी दलित छन् । मधेसी दलितबीच पनि छोइछिटो हटाउन सशक्तीकरण अभियान सुरु गरिएको दलित विकास मञ्चकी अध्यक्ष रूना महराले बताइन् ।

दलित विकास मञ्चका कार्यकारी निर्देशक सन्जय महराले मिलापत्र गराउने चलनकै कारण जातका आधारमा दलित समुदायमाथि हुने छुवाछूत, उत्पीडन र हिंसाका घटनाहरूमा कमी आउन नसकेको बताए । ‘संवैधानिक र कानुनी रूपमा छुवाछूत, भेदभावलाई सामाजिक अपराध करार गरिएको छ तर दलित समुदायले प्रत्येक दिन छुवाछूत भेदभावको सिकार भइरहनु परेको छ,’ उनले भने ।

प्रकाशित : असार २०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?