रोकिएन हुन्डी कारोबार

करोड रुपैयाँसहित एक पक्राउ
भूषण यादव

वीरगन्ज — पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको रानीघाटबाट ठूलो परिमाणको रकमसहित एक हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । अवैध रूपमा वित्तीय कारोबार सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले महेश केशरीको घरमा आइतबार बिहान छापा मारेको थियो ।

रोकिएन हुन्डी कारोबार

स्रोत नखुलेको एक करोड १५ लाख रुपैयाँ र विभिन्न कागजात बरामद भएको प्रहरी उपरीक्षक रेवती ढकालले जनाए । हुन्डी कारोबारमा संलग्न आरोपमा प्रहरीले राहुल केशरीलाई नियन्त्रणमा लिएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग काठमाडौँमा पठाइने एसपी ढकालले बताए । ५ महिना अगाडि पनि पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको घन्टाघरदेखि बसपार्क जाने लिंकरोडमा रहेको दक्षिणकाली अटो पार्टसमा छापा मारी करिब ५६ लाख रुपैयाँ नगदसहित आधा दर्जन बैंकका तीन दर्जन चेकबुक, मोबाइल र कागजात बरामद गरेको थियो ।

मोटर पार्ट्सको पसलबाट ठूलो परिमाणमा हुन्डी कारोबार हुँदै आएको सूचनापछि प्रहरी आफैं ग्राहक बनेर गएको थियो । प्रमाण सहित हुन्डी कारोबारीलाई नियन्त्रणमा लिन एक प्रहरीलाई सादा पोसाकमा २ लाख रुपैयाँ दिएर पठाइएको थियो । त्यहाँ बसेका एक करोबारीले पैसा हुन्डी गरेबापत एक लाखको ५ हजार रुपैयाँ कमिसन लाग्ने बताएका थिए । अवैध कारोबारको प्रमाण जुटेपछि प्रहरीले पसल सञ्चालकसहित ४ जनालाई नियन्त्रण लिएको थियो । करिब साढे २ वर्ष अगाडि पनि प्रहरीले वीरगन्जको रेशमकोठीबाट एक करोड ३२ लाख ७८ हजार रुपैयाँसहित हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।

फस्टाउँदै हुन्डी
मुलुकको प्रमुख व्यापारिक सहर वीरगन्जमा लामो समयदेखि हुन्डी कारोबार फस्टाइरहेको छ । व्यवसायीका अनुसार यहाँ आयातीत वस्तुको न्यून मूल्यांकन गरी प्रतीतपत्रमार्फत थोरै रकम पठाउने र ठूलो रकम हुन्डीबाट पठाउने प्रचलन बढी छ । ती व्यवसायीले भने, ‘न्यून बिजकीकरण गरी सामान आयात गर्ने व्यवसायीले भन्सारमा घोषणा गर्ने रकम बराबरको प्रतीतपत्र (एलसी) खोलेर बाँकी रकम हुन्डीमार्फत पठाउँछन् ।’ भारतबाट नेपालमा निकासी गर्न रोक लगाइएका दाल, मलको पैठारीकर्ताले पनि भुक्तानीका लागि हुन्डीमार्फत रकम पठाउँछन् । अनधिकृत व्यक्तिले पैसाको गैरकानुनी स्थानान्तरण गर्ने व्यापारीलाई थाहा भए पनि उनीहरू विश्वासिलो र सुविधायुक्त भएको बताउँछन् ।

हप्तामा दुईपटक हुन्डीमार्फत ठूलो रकम दिल्ली पठाउने एक कपडा व्यवसायीले पैसा बुझाएको २ देखि ४ घण्टाभित्रै भनेको ठाउँमा पैसा बिनाझन्झट पुग्ने गरेको जनाए । उनले भने, ‘हुन्डीमार्फत बैंककै हाराहारीमा कारोबार भइरहेको छ ।’ सुन, कपडा, खाद्यान्न, मोटरपार्टस, हार्डवेयरका व्यवसायीले हुन्डीमार्फत पैसा पठाउने गरेका छन् । बिनाझन्झट र कम समयमा भनेको ठाउँमा पैसा पाइने हुनाले हुन्डीमा व्यापारीको आकर्षण बढेको व्यवसायीको दाबी छ ।

‘मुख्य कारोबारीले पैसा पठाउने (ग्राहक) लाई भारतीय १० रुपैयाँ नोटको नम्बर र पैसा दिने व्यक्तिको सम्पर्क नम्बर दिन्छन्,’ एक कारेबारीले भने, ‘ग्राहकले सोही नम्बरमा फोन गरेर नोटको नम्बर भनेपछि उताबाट म्यासेज आएको जवाफ आउँछ । निर्धारित समय र ठाउँमा बोलाएर नोटको नम्बर हेरी रकम भुक्तानी हुन्छ ।’ नोटमा भएको नम्बरले चेकको काम गर्छ । नोटको स्थानान्तरणले रकम स्थानान्तरण भएको पुष्टि गर्ने ती कारोबारीले सुनाए ।

प्रकाशित : असार २५, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?