१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘हरुवाचरुवा’ महिला उद्यमतर्फ आकर्षित

भरत जर्घामगर

सिरहा — अरूको खेतमा बनिबुतो गरी गुजारा चलाउँदै आएका हरूवाचरुवा परिवारका महिलालाई साबुन र सर्फ बनाउने तालिम दिन सुरु गरिएको छ ।

‘हरुवाचरुवा’ महिला उद्यमतर्फ आकर्षित

लहानस्थित सामुदायिक विकास मञ्चले सिरहाको धनगढीमाई, लक्ष्मीपुर पतारी लगायतका कृषि बधुवा मजदुर हरूवाचरुवा परिवारका ५० महिलालाई साबुन र सर्फ बनाउने तालिम दिएको हो । मञ्चका अध्यक्ष विनोद चौधरीले साना व्यवसाय सञ्चालनका लागि हरूवाचरुवा परिवारका ५० महिलालाई उद्यमशीलताका माध्यमबाट स्वरोजगारका लागि सात दिने तालिम दिइएको बताए ।

यसअघि मञ्चले हाटबजारमा चटपटे, तरकारी, चिया पसल लगायत साना व्यवसाय सञ्चालनका लागि १५ हजार रुपैयाँका दरले हरूवाचरुवा परिवारलाई रकम उपलव्ध गराएको थियो । उनका अनुसार जग्गावालको खेतमा बँधुवा मजदुरका रूपमा काम गर्ने परिवारलाई स्वरोजगारको माध्यमबाट आर्थिक स्वतन्त्रता दिलाउन सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको हो ।

‘अब हामीले जमिन्दारले दिएको ज्याला र मजदुरीले मात्र बाँच्नुपर्ने अवस्था सधैंभरि नरहला’ तालिममा सहभागी धनगढीमाई नगरपालिका ९ चैनपुरकी ४५ वर्षीया दिलिपदेवी रामले भनिन्् ‘अब तालिममा सिकेको सीपबाट साबुन र सर्फ बनाई जिल्लाको विभिन्न बजारहरूमा बेचेर गुजारा चलाउँछु ।’गिरहतको जग्गामा जनमजदुरी गर्दा दैनिक २ सय रुपैयाँ बराबरको ८ किलो धानमात्र पाउने गरेका हरूवाचरुवा महिलाले ज्याला मजदुरीबाट गुजारा चलाउन धौधौ भएपछि आयआर्जनका लागि सीपमूलक तालिम लिन आएकी सुनाइन् ।

दिलिपदेवी र उनका पति सिल्टुको दैनिक ४ सय ज्यालाले ४ छोरी र १ छोराको लालनपालन गर्दै आएका छन् । ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरूले गिरहतले दिने न्यून ज्यालाका कारण परिवार गुजारा चलाउन समस्या भएपछि उद्यमका लागि सीप सिक्न थालेको दिलिपदेवीले सुनाइन् ।दिलिपदेवी जस्तै दैनिक जनमजदुरीबाट ५ छोरी र १ छोराको लालनपालनमा समस्या आएपछि स्वरोजगारका लागि सीपमूलक तालिममा मुसहरनीयाकी ५० वर्षीया केसीया सदा मुसहर सहभागी भएकी छन् । ‘गुजारा जसोतसो चलाउनै पर्‍यो, जनमजदुरीको न्यून ज्यालाले धान्न गाह्रो भएपछि केही उद्यम गरौं भनेर सीप सिक्न आएकी हुँ,’ उनले भनिन्, ‘बुढ्यौलीमा भए पनि सीप सिकेर व्यवसाय गर्ने सोच बनाएर सहभागी भएकी हुँ ।’

हरूवाचरुवा महिलालाई सीप सिकाउन सक्रिय येशु महतोले दिनभर जनवनमा खट्ने समयले साबुन बनाउँदा मुनाफा पनि हुने र सीप सिकिने हुँदा कामकाजी महिलाका लागि यो तालिम उपयोगी हुने बताइन् । जनगणना २०६८ को तथ्यांकअनुसार २ लाख १७ हजार घरधुरीको एक टुक्रा पनि जमिन छैन । ती परिवार जनमजदुरी गरी गुजारा चलाउँछन् । १० लाख ३० हजार घरधुरीको खेतीका लागि आफ्नो भूमि छैन । नेपालमा ४२ हजार ५३ हजार २ सय २० घरधुरीको बसोबास छ ।

प्रकाशित : असार २६, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?