२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अवैध मदिराले सामाजिक अपराध बढ्यो

शिव पुरी

रौतहट — प्रहरीले घरेलु मदिरा उत्पादनमा कडाइ गर्न थालेको छ । आइतबार मात्र इलाका प्रहरी चन्द्रनिगाहपुरले ४ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । पुसयता अवैध मदिरा उत्पादन गर्ने ३६ जना फक्राउ परिसकेका छन् ।

अवैध मदिराले सामाजिक अपराध बढ्यो

केही दिनअघि प्रहरीले मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४ सय लिटर बरामद गरेको थियो । गोप्य सूचनापछि खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बरामद भएको हो ।

घरेलु मदिराका कारण विभिन्न घरेलु हिंसा र जघन्य अपराध हुने गरेकाले कडाइ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोइरालाले बताए । ‘मदिराकै कारण दिनहँु झैझगडा र घरेलु हिंसा बढेको पाइएको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न निगरानी बढाएका छाैं।’ चन्द्रनिगाहपुर क्षेत्रमा घरेलु मदिरा उत्पादनमा महिलाको सक्रियता बढी भएको पाइएको छ ।

यसअघि मदिरासहित महिला पक्राउ परेका थिए । डीएसपी कोइरालाका अनुसार चन्द्रनिगाहपुरका २, ३, ४, ६, ८, ९ र १० नम्बर वडाका विभिन्न बस्तीहरूबाट अवैध मदिरा उत्पादन गरिरहेको अवस्थामा ३६ जनालाई पक्राउ गरिएको छ । करदाता कार्यालयले उनीहरूबाट ६ लाख ७५ हजार जरिवाना असुलेको छ ।पक्राउ परेकालाई मदिरा ऐन २०३१ र अन्तशुल्क ऐन २०५८ अन्तर्गत कारबाही गरिएको हो । तर, जरिवाना तिरेपछि पनि उनीहरूले अवैध काम छाडेका छैनन् । घरेलु मदिराले स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै घरेलु हिंसा, महिला हिंसा, चोरी, लुटपाट र कुटपिट, बलात्कार र यौनदुराचार, अशान्ति, होहल्ला, झैझगडा र ग्याङफाइट तथा दुर्घटना बढेको प्रहरी ठम्याइ छ ।

सस्तो पर्ने भएकाले स्थानीय बजार, मेला र सीमापारि भारतसम्म यहाँको मदिरा बिक्री हुन्छ । आर्थिक अवस्था कमजोर भएका र खासगरी मजदुरहरूले घरेलु मदिरा सेवन गर्छन् । ग्रामीण भेगका बस्तीहरूमा यसको उत्पादन बढी हुने गरेको प्रहरीले जनायो । जिल्लाभरि कति रक्सी भट्टी सञ्चालनमा छन् भन्ने जिल्ला प्रहरीसित यथार्थ विवरण छैन । भट्टी नष्ट गरिए पनि त्यसका मालिक खासै पक्राउ पर्दैनन् ।

सुरुमा कडाइ, पछि छुट
जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख आउनासाथ मदिरा नष्ट गर्ने अभियान नै चलाउँछन् । २/३ महिनासम्म जिल्लाभरि अवैध मदिरा उत्पादन र बिक्रीमा कडाइ गर्छन् । तर त्यसपछिका दिनमा खासै निगरानी हुँदैन । जिल्ला प्रहरीले पछिल्लो समय झन्डै ६५ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जनाएको छ । प्रहरीले मदिरा उत्पादन गर्ने विभिन्न उपकरण समेत बरामद गरेको थियो ।

उत्तरी भेगका गाउँमा उत्पादनमा केही कडाइ गरे पनि दक्षिणी भेगमा प्रहरी मौन छ । केही महिनाअघि जिल्ला प्रहरीको घुमुवा टोलीलाई मदिरा उत्पादन गर्ने गिरोहसित ‘सेटिङ’ मिलाउने गरेको आरोप लागेको थियो । अहिले पनि सुरुमा कडाइ गर्ने र पछि सेटिङमा उत्पादन गर्न दिइने गरेको गौरका एक स्थानीयले बताए ।

प्रकाशित : असार २६, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?