कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सप्तरीमा २० प्रतिशत मात्र रोपाइँ

सिँचाइ र मजदुर अभाव
अवधेशकुमार झा

राजविराज — समयमा पानी नपर्दा बिउ उत्पादनमा समस्या भएको छ । जसोतसो उत्पादन भए पनि अहिले सिँचाइको अभावमा रोपाइँ प्रभावित हुन पुगेको हो ।

सप्तरीमा २० प्रतिशत मात्र रोपाइँ

जिल्लामा कुल ७० हजार हेक्टर धानखेती योग्य जग्गामध्ये हालसम्म २० प्रतिशत जग्गामा मात्र रोपाइँं हुन सकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भागिरथ यादवले बताए ।

उनका अनुसार गत वर्ष यो समयसम्म जिल्लामा ४० प्रतिशतभन्दा बढी रोपाइँं भइसकेको थियो । ‘कुनै बेला पानी नपर्दा बिउ उत्पादनदेखि रोपाइँसम्म सुख्खाको मार त कुनै बेला बाढीले रोपाइँं गरेको धान पनि बगाइदिने अवस्था वर्षौंदेखि सप्तरीवासीको नियती बन्दै आएको छ ।

‘एकातिर सिँचाइ अभावको सुख्खाको मार खेप्नुपर्छ, अर्कोतिर जसोतसो लगाइएको बाली पनि बाढीले बगाउने गर्छ’, सप्तरी तोपाका कृषक सत्यनारायण यादवले भने, ‘हाम्रो खेती अकाशे पानीकै भरमा हुने गर्छ, कहिले वर्षा नहँुदा पीडा त कहिले वर्षाकै कारण डुबानको पीडा ।’ जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार पछिल्लो चार वर्षयता सप्तरीको धान उत्पादनमा निरन्तर ह्रास आउँदै गरेको अवस्था छ । यस वर्ष सप्तरीमा १ लाख ४९ हजार ८ सय ७५ मेट्रिक टन धान उत्पादन भएको छ । प्रतिहेक्टर २ दशमलब ७५ मेट्रिक टनका दरले गत वर्ष धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादवले जानकारी गराए ।

कार्यालयकै तथ्यांकलाई हेर्ने हो भने आव ०७०/७१ र ०७१/७२ मा यहाँ ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टरका दरले धान उत्पादन गरिएको थियो भने ०७३/७४ मा मात्र २ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । एकातिर उत्पादन दरमा निरन्तर कमी आइरहेको अवस्था छ भने अर्कोतिर बर्सेनि ठूलो परिमाणमा खेतीयोग्य जग्गा बाँझै रहने गरेको समस्या पनि राज्यका लागि चुनौतीपूर्ण बन्न गएको छ । सप्तरी धान उत्पादनका लागि मुलुकमै प्रसिद्ध रहेको जिल्ला हो । यहाँको कुल खेतीयोग्य जग्गामध्ये ५० प्रतिशत जग्गा आकासे पानीका भरमा खेती हुन्छ भने बाँकी ५० प्रतिशत जग्गामा विभिन्न नहर र सिँचाइ प्रणालीबाट सिञ्चित हुने दाबी गरिए पनि ती नहर र सिँचाइ योजनाको अवस्था भने अस्तव्यस्त छ । राणाकालमै निर्माण गरिएको मुलुककै पहिलो सिँचाइ प्रणाली चन्द्र नहर सप्तरीमै रहेको छ । यसका अतिरिक्त कोसी पश्चिमी नहर वितरण प्रणाली, कोसी पम्प नहर प्रणाली, कोसी वितरण प्रणाली, ग्रामीण पूर्वाधार विकास कार्यक्रम र सिँचाइ सेक्टर लगायतका पुर्वाधार समेत यहाँ रहेका छन् । यद्यपि अधिकांशको अवस्था हाल जीर्ण र अस्तव्यस्त नै छ । चन्द्र नहरको सिँचाइ क्षमता १० हजार ५ सय हेक्टर रहेको छ । तर विभिन्न ठाउँमा नहर भत्किनुका साथै अतिक्रमण गरिएकाले सिँचाइ सुविधा पुर्‍याउन सक्ने अवस्था छैन ।

त्यस्तै कोसी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार ३ सय हेक्टरमा सिँचाइ गर्ने रहे पनि ६ हजार ६ सय १६ हेक्टरमा मात्र पुगिरहेको छ । कोसी वितरण प्रणालीले ११ हजार सात हेक्टरमा सिँचाइ गर्नुपर्नेमा ७ हजार ८ सय ५३ हेक्टरमा मात्र सिँचाइ सुविधा पुर्‍याइरहेको छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले ३ हजार ६ सय ६५ हेक्टर तथा सेक्टर सिँचाइले २५ सय हेक्टरमा मात्र सिँचाइ सुविधा पुर्‍याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । सिँचाइ व्यवस्थाको अस्तव्यस्ताकै कारण यस सप्तरीको धन उत्पादनमा निरन्तर ह्रास आउनुका साथै ठूलो क्षेत्रफल जग्गा बाँझो नै रहने गरेको हो । यति धेरै सिँचाइ प्रणाली भए पनि असारको अन्तिम साता बित्दा अहिले कोसी पश्चिमी नहरमा मात्र सिँचाइका लागि पानी छोडिएको छ ।

वर्षा नहुँदा र सिँचाइ नपाउँदा मात्र होइन, रोपाइँ गर्ने मजदुर समेत नपाउँदा रोपाइँ ढिलो भइरहेको तोपाका कृषक सत्यनारायण यादवको भनाइ छ । ‘चर्को घाम र गर्मी अत्यधिक छ,’ यादवले भने, ‘गाउँमा रोपाइँ गर्ने मजदुर भेटिरहेको छैन, सीमित मजदुरले सबैतिर भ्याउनुपर्ने भएकाले पनि रोपाइँ ढिलो भइरहेको छ,’ कृषक यादवले भने । ग्रामीण क्षेत्रमा धेरै स्थानका अधिकांश युवा विदेसिएको र रोपाइँका जानकार मजदुर समेत अभावले रोपाईंमा समस्या भएको छ ।

प्रकाशित : असार २७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?