आईसीपी–सुक्खा बन्दरगाहमा सुविधा कम

शंकर आचार्य

पर्सा — सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ३ साताअघि मालवाहक कन्टेनर बोक्ने उपकरण रिचस्टेकरमा अचानक आगलागी भयो । बन्दरगाह परिसरमा आगो नियन्त्रण गर्ने प्रविधि भए पनि त्यसको प्रयोगले आगो समयमा नियन्त्रण हुन सकेन ।

जसले गर्दा उपकरण जलेर क्षतिग्रस्त भयो । ३ वर्षअघि पनि बन्दरगाह परिसरमै राखिएको ग्यास लाइटर बोकेको एउटा कन्टेनरभित्र अचानक आगो लागेको थियो । विस्फोटसहित आगलागी भएपछि आगो नियन्त्रणमा लिन निक्कै लामो समय लागेको थियो ।

यी आगलागीका घटनालाई समयमै नियन्त्रण गर्न सकिएको भए त्यति ठूलो क्षति हुने थिएन । दुवै घटनामा बारुण यन्त्र आउन्जेल ठूलो क्षति भइसकेको थियो ।करिब ५ वर्षअघि बन्दरगाह परिसरमै एक मजदुरलाई विषालु सर्पले टोक्यो । तर उनलाई उपचारका लागि अस्पताल लग्दालग्दै बाटोमै मृत्यु भयो ।

मुलुकको पहिलो र अत्याधुनिक समेत मानिएको सिर्सिया सुक्खा बन्दरगाहमा भएका भवितव्यका यी प्रतिनिधि घटना हुन् । भारतबाट दैनिक जसो मालवाहक रेल आउने र त्यसबाट कन्टेनर तथा अन्य मालसामान लोड अनलोड गर्नुपर्ने भएकाले यहाँ जोखिमसँगै दुर्घटनाको सम्भावना पनि अत्यधिक रहन्छ ।

हाल मुलुककै पहिलो एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) पनि यसै बन्दरगाहको पश्चिम सिमानासँगै जोडिएर निर्माण गरिएको छ । झण्डै ४ महिनादेखि आईसीपी सञ्चालनमा रहेको छ । मुलुककै २ ठूला सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा संरचनाले मुलुकको आयात निर्यात व्यापारमा ठूलो सहजीकरण मात्र गरेको छैन । वीरगन्ज महानगरको पश्चिमी भेगमा चहलपहल बढाउनुका साथै त्यस क्षेत्रका जग्गा जमिनको मूल्य पनि आकाशिएको छ ।

तर मुलुकको प्रवेशद्वारको २ ठूला नाका/भन्सार रहेको क्षेत्रमा अत्यावश्यक तथा न्यूनतम भौतिक सुविधाको आवश्यकता महसुस गरिएको छ । आगलागी तथा दुर्घटना आदि हुँदा बारुण यन्त्र, बिरामी बोक्ने एम्बुलेन्स, सुविधा सम्पन्न अस्पताल मात्र नभई यस क्षेत्रमा सार्वजनिक शौचालय तथा स्नानघरको समेत आवश्यकता देखिएको बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरी बताउँछन् । पछिल्लो समय आईसीपी समेत सञ्चालनमा आएपछि यस भेगमा आर्थिकसँगै मानवीय गतिविधि र चहलपहल पनि बढन गएको उनले बताए ।

Yamaha

‘त्यसकारण सुक्खा बन्दरगाह र आईसीपीलाई लक्षित गरी यस क्षेत्रमा मजदुर अस्पताल, बारुण यन्त्र, एम्बुलेन्स, सार्वजनिक शौचालय तथा स्नानघर आदिको आवश्यकता हामीले महसुस गरेका छौं,’ चौधरी भन्छन् । एम्बुलेन्स बोलाएर वीरगन्जको मुख्य बजारमा रहेका अस्पतालसम्म मजदुरलाई लग्न झन्डै आधा घण्टा समय लाग्ने र बारुणयन्त्र पनि वीरगन्बाटै आउन समय लाग्ने भएकाले क्षति भइसकेको हुन्छ ।

हाल दैनिक आईसीपी र सुक्खा बन्दरगाहबाट गरी १ हजार ५ सयभन्दा बढी मालवाहक सवारी साधनको आवागमन यस क्षेत्रमा हुने गरेको छ । तर सार्वजनिक शौचालय अभावमा चालक तथा सहचालकले खुला शौच गर्नुपर्ने अवस्था आएको छ । यसले यस क्षेत्रको वातावरण दुर्गन्धित हुनुका साथै महानगरलाई खुला दिसा मुक्त गर्ने अभियानमा नकारात्मक असर परिरहेको छ ।

वीरगन्ज/आईसीपी भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव पनि नेपाल र भारत दुवैतर्फको आईसीपीमा तत्कालै अत्याधुनिक वारुणयन्त्र सेवा उपलब्ध हुनुपर्ने बताउँछन् । आईसीपी हँुदै दैनिक ठूलो संख्यामा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास बोकेका ट्यांकर तथा बुलेट भित्रिने भएकाले ती सवारी साधन अति जोखिमपूर्ण हुन्छन् । तिनमा आगलागीका घटना भइहाले तत्कालै नियन्त्रणमा नलिए ठूलो मानवीय तथा भौतिक क्षतिको सम्भावना हुन्छ ।

कम्तीमा आईसीपी परिसरमा हुने घटना दुर्घटना आदिलाई लक्षित गरी आईसीपीमै दुर्घटना न्यूनीकरण तथा भइहाले क्षति न्यूनीकरणका लागि आवश्यक सुविधा उपलब्ध हुनुपर्ने माग सञ्चालक इन्टरमोडल यातायात विकास समितिका अधिकारीसँग गरिसकेको यादव बताउँछन् ।

आईसीपीस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख हेमेन्द्र मोहन शाही आईसीपी परिसरमा फायर फाइटिङको व्यवस्था रहेको र प्राथमिक उपचारका लागि डिस्पेन्सरी समेत रहेको बताउँछन् ।आईसीपी परिसरमै आधा दर्जन शौचालय रहे पनि मालवाहक गाडीको संख्या बढदा ती शौचालयले चालक र सहचालकको चाप धान्न सक्दैनन् । आईसीपीमा नपुग पूर्वाधारको निर्माणको प्रक्रिया हाल जारी रहेको उनले बताए ।

प्रकाशित : असार २७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सप्तरीमा २० प्रतिशत मात्र रोपाइँ

सिँचाइ र मजदुर अभाव
अवधेशकुमार झा

राजविराज — समयमा पानी नपर्दा बिउ उत्पादनमा समस्या भएको छ । जसोतसो उत्पादन भए पनि अहिले सिँचाइको अभावमा रोपाइँ प्रभावित हुन पुगेको हो ।

जिल्लामा कुल ७० हजार हेक्टर धानखेती योग्य जग्गामध्ये हालसम्म २० प्रतिशत जग्गामा मात्र रोपाइँं हुन सकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भागिरथ यादवले बताए ।

उनका अनुसार गत वर्ष यो समयसम्म जिल्लामा ४० प्रतिशतभन्दा बढी रोपाइँं भइसकेको थियो । ‘कुनै बेला पानी नपर्दा बिउ उत्पादनदेखि रोपाइँसम्म सुख्खाको मार त कुनै बेला बाढीले रोपाइँं गरेको धान पनि बगाइदिने अवस्था वर्षौंदेखि सप्तरीवासीको नियती बन्दै आएको छ ।

‘एकातिर सिँचाइ अभावको सुख्खाको मार खेप्नुपर्छ, अर्कोतिर जसोतसो लगाइएको बाली पनि बाढीले बगाउने गर्छ’, सप्तरी तोपाका कृषक सत्यनारायण यादवले भने, ‘हाम्रो खेती अकाशे पानीकै भरमा हुने गर्छ, कहिले वर्षा नहँुदा पीडा त कहिले वर्षाकै कारण डुबानको पीडा ।’ जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार पछिल्लो चार वर्षयता सप्तरीको धान उत्पादनमा निरन्तर ह्रास आउँदै गरेको अवस्था छ । यस वर्ष सप्तरीमा १ लाख ४९ हजार ८ सय ७५ मेट्रिक टन धान उत्पादन भएको छ । प्रतिहेक्टर २ दशमलब ७५ मेट्रिक टनका दरले गत वर्ष धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादवले जानकारी गराए ।

कार्यालयकै तथ्यांकलाई हेर्ने हो भने आव ०७०/७१ र ०७१/७२ मा यहाँ ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टरका दरले धान उत्पादन गरिएको थियो भने ०७३/७४ मा मात्र २ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । एकातिर उत्पादन दरमा निरन्तर कमी आइरहेको अवस्था छ भने अर्कोतिर बर्सेनि ठूलो परिमाणमा खेतीयोग्य जग्गा बाँझै रहने गरेको समस्या पनि राज्यका लागि चुनौतीपूर्ण बन्न गएको छ । सप्तरी धान उत्पादनका लागि मुलुकमै प्रसिद्ध रहेको जिल्ला हो । यहाँको कुल खेतीयोग्य जग्गामध्ये ५० प्रतिशत जग्गा आकासे पानीका भरमा खेती हुन्छ भने बाँकी ५० प्रतिशत जग्गामा विभिन्न नहर र सिँचाइ प्रणालीबाट सिञ्चित हुने दाबी गरिए पनि ती नहर र सिँचाइ योजनाको अवस्था भने अस्तव्यस्त छ । राणाकालमै निर्माण गरिएको मुलुककै पहिलो सिँचाइ प्रणाली चन्द्र नहर सप्तरीमै रहेको छ । यसका अतिरिक्त कोसी पश्चिमी नहर वितरण प्रणाली, कोसी पम्प नहर प्रणाली, कोसी वितरण प्रणाली, ग्रामीण पूर्वाधार विकास कार्यक्रम र सिँचाइ सेक्टर लगायतका पुर्वाधार समेत यहाँ रहेका छन् । यद्यपि अधिकांशको अवस्था हाल जीर्ण र अस्तव्यस्त नै छ । चन्द्र नहरको सिँचाइ क्षमता १० हजार ५ सय हेक्टर रहेको छ । तर विभिन्न ठाउँमा नहर भत्किनुका साथै अतिक्रमण गरिएकाले सिँचाइ सुविधा पुर्‍याउन सक्ने अवस्था छैन ।

त्यस्तै कोसी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार ३ सय हेक्टरमा सिँचाइ गर्ने रहे पनि ६ हजार ६ सय १६ हेक्टरमा मात्र पुगिरहेको छ । कोसी वितरण प्रणालीले ११ हजार सात हेक्टरमा सिँचाइ गर्नुपर्नेमा ७ हजार ८ सय ५३ हेक्टरमा मात्र सिँचाइ सुविधा पुर्‍याइरहेको छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले ३ हजार ६ सय ६५ हेक्टर तथा सेक्टर सिँचाइले २५ सय हेक्टरमा मात्र सिँचाइ सुविधा पुर्‍याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । सिँचाइ व्यवस्थाको अस्तव्यस्ताकै कारण यस सप्तरीको धन उत्पादनमा निरन्तर ह्रास आउनुका साथै ठूलो क्षेत्रफल जग्गा बाँझो नै रहने गरेको हो । यति धेरै सिँचाइ प्रणाली भए पनि असारको अन्तिम साता बित्दा अहिले कोसी पश्चिमी नहरमा मात्र सिँचाइका लागि पानी छोडिएको छ ।

वर्षा नहुँदा र सिँचाइ नपाउँदा मात्र होइन, रोपाइँ गर्ने मजदुर समेत नपाउँदा रोपाइँ ढिलो भइरहेको तोपाका कृषक सत्यनारायण यादवको भनाइ छ । ‘चर्को घाम र गर्मी अत्यधिक छ,’ यादवले भने, ‘गाउँमा रोपाइँ गर्ने मजदुर भेटिरहेको छैन, सीमित मजदुरले सबैतिर भ्याउनुपर्ने भएकाले पनि रोपाइँ ढिलो भइरहेको छ,’ कृषक यादवले भने । ग्रामीण क्षेत्रमा धेरै स्थानका अधिकांश युवा विदेसिएको र रोपाइँका जानकार मजदुर समेत अभावले रोपाईंमा समस्या भएको छ ।

प्रकाशित : असार २७, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT