१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मेयरलाई तारेखमा छाडियो

‘प्रारम्भिक बयान लिइएको छ, विस्तृत विवरण अख्तियार पठाउँछौं’
शिव पुरी

रौतहट — जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढीमाई नगरपालिकाका मेयरसहित ५ जनालाई नियन्त्रणमा लिई साँझ छाडेको छ । चन्द्रपुर नगरपालिकास्थित होटल हिमालयनबाट मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल लगायतका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।

मेयरलाई तारेखमा छाडियो

पक्राउ परेकै स्थलमा प्रहरीले नगरपालिकाको चेकसहित विभिन्न कागजात फेला पारी प्रशासनमा बुझाएको थियो । उनीहरू सित पालैपालो बयान लिएर चाहिएका बेला हाजिर हुने सर्तमा प्रशासनले छाडेको हो ।

नगरपालिकाको विभिन्न योजनाको भुक्तानीलगायतको काम होटलमा बसेर गरिरहेको सूचनापछि मेयर श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायव सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादवलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘नियन्त्रणमा लिईएकाहरूको प्रारम्भिक बयान लिएका छौं,’ उनले भने,’ विस्तृत विवरण अख्तियारको हेटौंडा कार्यालयमा पठाउने छौं ।’

लेखापाल मिश्रकै कारण भुक्तानीमा ढिलासुस्ति र झमेला हुन थालेपछि बिहानदेखि होटलको रुम नम्बर १११ मा मेयर यादव लगायतका कर्मचारी छलफल गर्न बसेका थिए । मेयर लगायतका कर्मचारी होटलमा बसेर भुक्तानीका लागि चेक काटिरहेको भन्दै स्थानीयले अख्तियारको हेटाैंडा कार्यालयलाई जानकारी गराएका थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयलाई एक्सनमा जान अख्तियारले निर्देशन दिएको हो । प्रजिअ रिजालको निर्देशनमा तत्कालै होटलबाट मेयरलगायतलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई अपराह्न सदरमुकाम गौर पठाएको थियो ।

नगरपालिकाका कर्मचारीका अनुसार नगर परिषद्का बारेमा समेत केही छलफल गर्न होटलमा बसेका थियौं । सबै कर्मचारीले लेखापाल मिश्रको बदमासीले मेयर लगायतका कर्मचारीले सास्ती भोग्नुपरेको आरोप लगाएका छन् ।

नगरप्रमुख यादवले लेखापाल मिश्र कार्यालयमा हाजिर नहुने र उनलाई सर्लाहीको बलराबाट बोलाएर कार्यालयकै काम गराउन लागिएको बताए । ‘हामीले कुनै किसिमको अनियमितता गर्न लागेका होइनौं,’ उनले भने, ‘कार्यालय समय अगावै नियमअनुसार नै कार्यालयका कर्मचारीको तलब भत्ता र अन्य काम गर्न बसेका हौं ।’

लेखापाल मिश्र कार्यालयमा हाजिर नभएपछि नगरप्रमुख यादवलाई विभिन्न योजनाको भुक्तानीमा समस्या हुँदै आएको थियो । उनले पटक–पटक भुक्तानी रोक्न नहुने भन्दै लेखापाल मिश्रलाई बोलाउने गरेका थिए ।

प्रकाशित : असार २८, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?