बाढीले पुल भत्काउँदा आवागमन ठप्प
महोत्तरी — बाढीले जंगाहा पुलमा क्षति पुर्याएपछि प्रहरीले आवागमनमा रोक लगाएको छ । बाढीले सडकसँग जोड्ने पुलको पूर्वी भाग ‘अवोटमेन्ट वाल’ मा क्षति पुर्याएको हो । सार्वजनिक आवागमन ठप्प भएपछि महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले क्षतिग्रस्त पुलको निरीक्षण गरे ।
पुल उच्च जोखिममा रहेकाले मानवीय क्षति हुन नदिन सवारी सञ्चालनमा रोक लगाएको उनले बताए । बाढीले पुलको दायाँबायाँ कटान गरी पूर्वी खण्डमा क्षति गरिरहेकाले औरही नगरपालिकाको कृषि बजारसमेत जोखिममा परेको छ ।
पुलको एक नम्बर पिलर वरिपरिको माटोसमेत बाढीले बगाएपछि जोखिम बढेको प्राविधिकले जनाएका छन् । बर्दिवास–जलेश्वर सडक खण्डलाई सर्लाही सदरमुकाम मलंगवासँग जोड्ने १ सय ४९ मिटर लम्बाइको जंगाहा पुलमा आवागमन ठप्प भएपछि सर्वसाधारण मार्कामा छन् । उनीहरूलाई सदरमुकाम जलेश्वर पुग्न बर्दिवास वा भारतीय घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
पुलबाट आवागमन ठप्प भएपछि ३ दर्जन टेम्पो सञ्चालकको रोजीरोटी पनि प्रभावित भएको छ । यात्रुले पनि सास्ती पाएका छन् । स्थानीय कृषकको उत्पादनलाई गौशाला र औरही बजार पुर्याउन असहज भएको छ । औरही–गौशालाबीच ३० भन्दा बढी टेम्पो सञ्चालनमा थिए । दैनिक हजार बढी यात्रु र कृषि व्यापारलाई सेवा दिए पनि पुल भत्किएपछि रोजीरोटी गुमेको टेम्पो चालक विमल साहले बताए । ‘पुल क्षतिसँगै हामीलाई पनि छाक टार्ने समस्या परेको छ,’ साहले भने ।
सामान्य बाढीमा पनि क्षति हुन थालेपछि पुलको गुणस्तर कमसल रहेको आशंका गरिएको छ । अहिले भने तत्काल मर्मत गरी आवागमन सहज बनाउन स्थानीयसँग औरही नगरपालिकाका मेयर सुनिल यादवले माग गरेका छन् । उनले मर्मतका लागि जनकपुरस्थित डिभिजन सडक कार्यालयलाई समेत आग्रह गरेको बताए । डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले बिहीबारसम्म एकतर्फी भए पनि सडक खुला गरिने बताए ।
डिभिजन सडक कार्यालयका डिई कुवेर नेपालीका अनुसार प्रतिकूल मौसम र बजेट अभावले तत्काल जंगाहा पुलको मर्मत हुन सक्दैन । ‘अहिले पुलमा थप क्षति हुन नदिन प्रयास मात्र गर्न सकिन्छ । त्यसका लागि ठेकेदारलाई मौखिक आग्रह गरेको छु,’ उनले भने । ठेकेदार श्याम पोखरेललाई बजेट आएमा मिलाउने गरी काम गरिदिन आग्रह गरेको डिई नेपालीले बताए । ‘बजेट एक पैसा छैन,’ डिई नेपालीले भने, ‘तर पनि संरचना त जोगाउनैपर्यो । ठेकेदारलाई पुलमा थप क्षति रोक्ने किसिमले कम गरिदिन आग्रह गरेको छु ।’
प्रकाशित : असार २८, २०७५ १०:५९