तरकारीको मूल्य अकासियो

शंकर आचार्य

पर्सा — वर्षायामको सुरुवातमै वीरगन्जमा हरियो तकारीको मूल्य अकासिएको छ । साता अघिको भन्दा हाल प्राय: सबै तरकारीको मूल्य दोब्बर, तेब्बरसम्म बढेको छ । परवल, बोडी, भिन्डी, लौका, घिरौंला, झिङ्नी, करेला, भान्टा, गोलभेंडा, काँक्रो, बन्दा, काउली, मुला, खुर्सानी, धनिया लगायतको मूल्य ह्वात्तै बढेको छ ।

तरकारीको मूल्य अकासियो

स्थानीय उत्पादनले नधान्दा वीरगन्जमा बारा, लालबन्दी, मकवानपुरको हेटौंडा, पालुङ, राजधानी तथा भारतको छपवादेखि कोलकातासम्मबाट समेत दैनिक तरकारी आउँछ । हाल परवलको मूल्य प्रतिकिलो ३० रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । परवल लालबन्दी र भारतको कोलकाताबाट आउँछ ।

बोडी र भिन्डी प्रतिकिलो २० बाट ८० रुपैयाँसम्म पुगेको छ । बोडी लालबन्दीबाटै आइरहेको छ भने भिन्डी स्थानीयका साथै लालबन्दी र भारतको छपवाबाट समेत आइरहेको छ । लौका र घिरौला सरदर २० बाट ७० रुपैयाँसम्म पुगेको छ । लौका पनि लालबन्दी र भारतको छपवाबाटै आइरहेको छ । घिरौला स्थानीय किसानले उत्पादन गरेका छन् । झिङ्नी बाराको कलैया क्षेत्रबाट आउँदै छ ।

करेला प्रतिकिलो ३० बाट ६० रुपैयाँ पुगेको छ । करेला हाल भारतको छपवाबाट आउँदै छ । भन्टा प्रतिकिलो ३० बाट ७० रुपैयाँ पुगेको छ । काउली प्रतिकिलो ६० रुपैयाँबाट सय रुपैयाँ पुगेको छ । काउली हाल पालुङ्गबाट आउँछ ।

मुला प्रतिकिलो २० बाट ४० रुपैयाँ पुगेको छ । मुला पनि पालुङ्गबाटै आउँछ । गोलभेडा प्रतिकिलो ३० बाट ६० रुपैयाँ पुगेको छ । गोलभेडा हाल राजधानीबाट आउँछ । धनिया प्रतिकिलो १ सयबाट ३ सय रुपैयाँ पुगेको छ । खुर्सानी प्रतिकिलो ६० बाट १ सय ६० रुपैयाँ पुगेको छ । वीरगन्जका तरकारी व्यापारी बिजय कोइरी यस वर्ष वर्षा छिट्टै आएकाले वर्षायामको सुरुवातमै तरकारीको मूल्य बढेको बताउँछन् । सामान्यतया प्रत्येक वर्षामा यसरी तरकारीको मूल्य बढ्ने गरे पनि यस वर्ष भने छिटो बढेको उनले बताए । वर्षाले गर्दा तरकारीको उत्पादनमा ह्रास आउने भएकाले यसरी मूल्य बढ्ने गरेको उनले बताए । झरी लागेपछि हालको भन्दा तरकारीको मूल्य झनै बढ्ने उनले बताए ।

प्रकाशित : असार २८, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?