थारू महिलामा आत्मविश्वास बढ्दै

कान्तिपुर संवाददाता

पर्सा — जितपुर सिमरा उपमहानगर ११ खेस्रौलकी ४८ वर्षीया महगी चौधरीको दैनिकी व्यस्तताले भरिएको छ । बिहान सबेरै उठेर घरको चुलोचौका सक्याएपछि उनी मकै बाली स्याहार्न खेतमा पुग्छिन् । ४ बिघा खेतमा मकै खेती गरेकी उनको खेतको मकैको घोगा दाना लागिसकेको छ ।

जितपुर सिमरा उमनपा ११ खेस्रौलका थारू गृहिणी । तस्बिर : कान्तिपुर

उनका पति बौराही चौधरी सिमरास्थित सूर्य नेपालमा मजदुरी गर्छन् । २ छोराछोरी काम र अध्ययनको शिलशिलामा घर बाहिर छन् । घर मात्र नभई खेतीपातीको जिम्मेवारी पनि महगीकै काँधमा छ । ‘के गर्ने मकै बालीलाई सुगा र जंगली बदेलबाट जोगाउनु पर्छ,’ उनले भनिन्, ‘पतिलाई फुर्सद छैन, छोराछोरी पढ्न गएका छन्, कि त खेत बाँझो राख्नुपर्‍यो, नत्र म आफैं अघि सर्नुपर्‍यो ।’

डेढ बिघा खेतमा मकै खेती गरेकी अर्की स्थानीय गृहिणी ४६ वर्षीया जुगी चौधरीको दैनिकी महगीभन्दा भिन्न छैन । पति भागवत चौधरी राजेश मेटल उद्योगमा काम गर्छन् । छोराछोरीहरू अध्ययनका लागि राजधानीमा छन् । मकै बालीनाली लगाउनेदेखि भित्र्याउनेसम्मको जिम्मेवारी उनले बेहोरेकी छन् । ‘के गर्ने घर व्यवहार चलाउन पतिले जागिर खाएपछि खेत बाँझो राख्न भएन,’ उनले भनिन्, ‘अनि खेतीपातीको सबै जिम्मेवारी हामी महिलाले नै सम्हाल्नुपर्छ ।’

Yamaha

यस सिजनमा ४ बिघा मकै बाली स्याहार्दै छन् अर्की गृहिणी राजकुमारी चौधरी । पति परमानन्द केडिया समूहमा जागिरे छन् । छोराछोरी अध्ययनका लागि भारतमा छन् । उनले पनि घरदेखि खेत सम्मको जिम्मेवारी आफंै सम्हालेकी छन् । ‘के गर्ने हामीले मिहिनेत मजदुरी गरेर छोराछोरीलाई पढाइरहेका छौं,’ राजकुमारी भन्छिन्, ‘भोलि उनीहरूले पढेर जागिरे भएपछि हामीले जस्तो पसिना चुहाउनु नपरोस् ।’

महगी, जुगी र राजकुमारीजस्ता यहाँका थुप्रै थारू महिला अहिले घर र खेत दुवैको जिम्मेवारी सम्हालिरहेका छन् । धरतीपुत्र र सोझासाझा थारू समुदायमा पछिल्लो समय बढेको जागिर र शिक्षाप्रतिको आकर्षणले गृहिणी महिलामा यस्तो जिम्मेवारी थपिने क्रम बढ्दै छ । उनीहरू घरमूलीदेखि गृहिणीसम्मको जिम्मेवारी एक्लै धान्दै छन् । सखारै उठेर गोठका गाइबस्तु स्याहार्नेदेखि चुलोचौका भ्याउनु र खेतीपातीको सिजनमा दिनभरिजसो खेतमा बसेर बालीनाली स्याहार्नु उनीहरूको दैनिकी बनेको छ । तराईमा खेतीपातीको जिम्मेवारी पुरुषले बढी सम्हाल्ने परम्परालाई चिर्दै उनीहरू पुरुषसरहको कठोर जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

राजकुमारी खेतीपातीको सिजनमा आफूहरू दैनिक १६ घण्टासम्म कठोर मिहिनेत गर्ने गरेको बताउँछिन् । ‘भाले नबास्दै हामीले ओछ्यान छोड्ने गरेका छौं,’ उनले भनिन्, ‘राति सबै गाउँले सुतिसकेपछि हामी खेतीपाती र घरव्यवहार सकेर मात्र ओछ्यानमा जान्छौं ।’

उनका पति परमानन्द पछिल्लो समय यस भेगका थारू समुदायका महिलामा ठूलो जिम्मेवारी थपिएको बताउँछन् । ‘यो परिवर्तन थारू समुदायमा जागिर र शिक्षाको आकर्षण बढेपछि आएको हो,’ उनले भने, ‘नयाँ पुस्तामा शिक्षाको आकर्षण बढेपछि प्राय: सबै घरका छोराछोरीले बढी समय अध्ययनमा दिएका छन्, अध्ययन सकेपछि उनीहरू जागिरको सिलसिलामा घर छोड्छन्, घरमूली पुरुषहरू पनि जागिर र मजदुरीका लागि दैनिक घर छोडेर हिँड्छन्, यस्तो अवस्थामा गृहिणीले दोहोरो जिम्मेवारी सम्हाल्नुको विकल्प छैन ।’

यसले उनीहरूको आत्मविश्वास र जिम्मेवारी वहन क्षमता पनि बढेको परमानन्द बताउँछन् । यस भेगका मधेसी मूलका गृहिणीका तुलनामा थारू समुदायका गृहिणीहरूमा चेतना, जिम्मेवारी वहनको क्षमता बढेको आफूले अनुभव गरेको उनले बताए ।

Esewa Pasal

प्रकाशित : असार २८, २०७५ १०:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनसान जिल्ला समन्वय समिति

भरत जर्घामगर

सिरहा — आर्थिक वर्ष सकिने अन्तिम समयमा योजना भुक्तानीका लागि सेवाग्राहीले भरिभराउ हुने जिविस कार्यालय अहिले टुहुरोजस्तै बनेको छ ।

स्थानीय गाउँपालिका र नगरपालिकामैं सबै अधिकार पुगेपछि जिल्ला समन्वय समिति कार्यालय परिसर अहिले सुनसान छ । सीमित कर्मचारीले कार्यालय कुरेर बस्छन् । स्थानीय तहमैं सेवाग्राहीको काम हुन थालेपछि सदरमुकाम सिरहा बजारका कार्यालय सुनसान बनेको छ । ‘हरेक वर्ष असार मसान्तमा सेवाग्राहीको कामले सास फेर्न समेत मुस्किल पथ्र्यों, तर यो वर्ष फुर्सदिलो छु,’ जिल्ला समन्वय समिति सिरहाका लेखापाल भुवन कर्णले भने ‘सीमित कर्मचारीबाहेक सेवाग्राही नआउँदा सुनसान भएको छ ।’

लेखापाल कर्णका अनुसार जिल्लाभरीका सबै विकास योजनादेखि लक्षित वर्गका कार्यक्रम तत्कालिन जिविसबाटै कार्यसम्पादन हुन्थ्यो । ‘योजना र कार्यक्रमको भुक्तानीका लागि पनि सेवाग्राहीको भीडले खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो,’ उनले भने, ‘तर अहिले जिसस कार्यालय कर्मचारीले कुरेर बस्नुपरेको अवस्था छ ।’ कार्यालयका अनुसार गतवर्षसम्म झण्डै १ अर्बको कारोबार हुन्थ्यो । उनका अनुसार यसवर्ष कर्मचारी तलब, भत्ताका लागि ८५ लाख ९५ हजार, कार्यालय सञ्चालनका लागि २५ लाख, समन्वय समितिको बैठक सञ्चालनका लागि १० लाख र पुँजीगत खर्चका २५ लाख गरी डेढ करोड रुपैयाँमात्र जिससको वार्षिक कारोबार हुने गरेको छ । आर्थिक कारोबार नभएकै कारण पनि कार्यालय सुनसान भएको उनले सुनाए । विगतमा ४५ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा अहिले १७ कर्मचारी मात्र छन् ।

प्रशासन प्रमुख विनोद पासवानले १७ जनामध्ये पनि दरबन्दी कटौती भएर १३ मा झरेको छ । तीमध्ये पनि स्थानीय अधिकारी १, शाखा अधिकृत, नायव सुब्बा, लेखापाल, इन्जिनियर, सबइन्जिनियर, खरिदार १/१ जनाको दरबन्दी छ भने २ चालक र ४ कार्यालय सहयोगी दरबन्दी कायम गरिएको छ । ‘अधिकांश कर्मचारी गाउँपालिका र नगरपालिकामा समायोजन भइसके,’ उनले भने, ‘अब बाँकी कर्मचारी पनि नयाँ आर्थिक वर्ष साउनदेखि समायोजनको तयारी भइरहेको छ ।’

प्रकाशित : असार २८, २०७५ १०:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT