विद्युत् अनियमितता छानबिन गरिने

भूषण यादव

वीरगन्ज — विद्युत् प्राधिकरणले मापदण्डविपरीत उद्योगलाई ट्रान्सफरमर जडान गरेको विषयमा छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

विद्युत् अनियमितता छानबिन गरिने

इनर्जी इफिसियन्सी तथा चुहावट नियन्त्रण विभागका निर्देशक रामजी भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको नेपाल विद्युत् प्राधिकरण विभागीय कारबाही शाखा प्रमुख चूडामणि आचार्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । प्राधिकरणको कर्मचारी युनियनको उजुरीका आधारमा समित गठन भएको हो ।

कर्मचारीका अनुसार प्राधिकरणको मापदण्डअनुसार टेस्ट रिपोर्ट र सर्टडाउन चार्जबिना १६५० केभीए ११०००/४३३ भोल्टको ट्रान्सफरमर जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले गलत मनसाय राखी औद्योगिक ग्राहक त्रिवेणी सिम्प्याक्स प्रालिमा कार्यालयमा सरुवा भइआएको केही समयमै जडान गरेका थिए ।

यसैगरी पर्सा वारा औद्योगिक कोरिडोरका दुई उद्योगलाई विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले आफ्नै खर्चमा ‘सिंगल फिडर’ निर्माण गरिदिएका छन् । उद्योगले फिडर निर्माणका लागि आफैंले खर्च गर्नुपर्ने प्रावधान छ । दुईवटा उद्योगलाई फिडर निर्माण गरिदिँदा करिब ६० लाख रुपैयाँ घाटा भएको प्राविधिकले जनाएका छन् । एउटा उद्योगले मात्र सिंगल फिडर प्रयोग गरेमा दोब्बर महसुल लाग्ने भएकाले उक्त फिडरमा अर्को उद्योगलाई पनि जोडिएको छ । लोड धान्न नसकेर अहिले ती उद्योगमा ट्रिपिङको समस्या देखिएको छ ।

पर्साको छातापिपरास्थित नारायणी स्ट्रिप्स र शुभश्री जगदम्बा सिमेन्टका लागि सिंगल फिडर निर्माण भएको छ । दोहोरो शुल्कबाट जोगाउन नारायणी स्ट्रिप्समा मारुती पेपर र सिमेन्टको फिडरमा नजिकैको एउटा मैदा उद्योगलाई ग्राहक बनाइएको छ । प्राधिकरण स्रोतका अनुसार यसअघिका कार्यालय प्रमुख सरुवा हुनु अगावै यी दुई उद्योगलाई सिंगल फिडर निर्माण गरेका हुन् ।

कर्मचारीले कार्यालय प्रमुखलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । ‘निलम्बन गरी छानबिन गर्दा कार्यालय प्रमुखले गल्ती सच्याउने सम्भावना रहन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, ‘यसकारणले हाकिमलाई निलम्बन गरेर समितिले छानबिन गर्नुपर्छ ।’

प्रकाशित : असार ३०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?