१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तस्करीका नयाँ तरिकाः सागको झोलामा मरिच र सुपारी

रवीन्द्र उप्रेती

महोत्तरी — सशस्त्र प्रहरीले सीमा नाकाबाट भारतर्फ तस्करी गरी लाँदै गरेको अवस्थामा शनिबार मरिच र सुपारीसहित साइकल र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

तस्करीका नयाँ तरिकाः सागको झोलामा मरिच र सुपारी

सशस्त्र प्रहरीको मटिहानीस्थित बोर्डर आउट पोस्ट (वीओपी) बाट खटिएको गस्तीले ५० केजी मरिच र १० केजी सुपारी बरामद गरेको हो ।


मटिहानी वीओपीका सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार आलेको कमाण्डमा खटेको गस्तीले मटिहानी ७ स्थित दशगजानजिकको बाटोमा पर्ने परिक्रमा बगैंचाबाट ती सामान पक्राउ गरेको हो ।


२० केजी मरिच वीआर ३२ ए ०३६६ नंको मोटरसाइकलबाट तथा सुपाडी र ३० केजी मरिच २ थान साइकलबाट बरामद भएको सशस्त्रले जनाएको छ ।


आलेका अनुसार पक्राउ पर्ने डरले तस्करले केही समययता मात्रा घटाएर ओसारपसार गर्न थालेको पाइएको छ । सामान्य ग्राहकजस्तो देखिने गरी तरकारीको झोला बोकेर बजार भर्न आउने । मरिच र सुपाडी पोको पार्ने ।


अनि माथिबाट हरिया तरकार, पाकेका आँपजस्ता सागसब्जीले छोपेर सीमा पार गर्ने नयाँ र अनौठा तरिकाले तस्करी हुने गरेको सूचनाका आधारमा सशस्त्रले सीमा नाकामा निगरानी बढाएको थियो ।


बरामद मरिच र सुपारी पनि तरकारीको झोलामा माथिबाट लट्टे (ठडिया) को सागले छोपेर लाँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र निरीक्षक आलेले जनाए । सशस्त्र गस्तीलाई देखी तस्करले सामानसहित साइकल र मोटरसाइकल छाडी भारततर्फ भागेका थिए ।


बरामद सामानको प्रतिवेदन मूल्य ७२ हजार रहेको सशस्त्रले जनाएको छ । बरामद सबै सामान सशस्त्रले शनिबार नै मलिवारास्थित मूल भन्सार कार्यालय बुझाएको जनाएको छ ।

प्रकाशित : असार ३०, २०७५ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?