कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बाढीले घेरियो गोबरगाढा बस्ती

पानीको सतह बढेकाले स्थानीय त्रसित
२ सय ५० स्थानीय फसे
अवधेशकुमार झा

राजविराज — सप्तकोसी नदीमा पानीको बहाबको उतारचढावका बीच हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ को गोबरगाढा बस्ती चारैतिरबाट कोसीको पानीले घेरिएको छ । बस्ती नै कोसीको बाढीले घेरिँदा ४० परिवारका २ सय ५० जनाको अवस्था जोखिमपूर्ण रहेको वडाध्यक्ष विन्देश्वरी यादवले जानकारी दिएका छन् ।

बाढीले घेरियो गोबरगाढा बस्ती

‘बस्तीबाट निस्कन सक्ने अवस्था छैन,’ हनुमाननगर बजारबाट डुंगामा जोखिमपूर्ण यात्रा गर्दै शनिबार साँझ गोबरगाढातर्फ जाँदै गर्दा टेलिफोन सम्पर्क भएका यादवले कान्तिपुरसित भने, ‘कोसीमा पानीको सतह बढने क्रम जारी छ, बढेको पानी नआउँदै बस्तीमा पानी पसिसकेको छ ।’ गोबरगाढा कुनै बेला सप्तरीको एउटा गावस थियो । अहिले हनुमाननगर कंकालिनी नगरपालिकाको १३ नम्बर वडा हो । उक्त बस्ती मध्यकोसीमै छ । गोबरगाढामा रहेकामध्ये धेरै जना अन्यत्र घर सारिसके पनि अझै ४० परिवारका २ सय ५० जना त्यहीं बसोबास गर्दै आएका छन् ।

‘तत्काल गोबरगाढामा रहेकालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ,’ बाढीमा आफना छोराछोरी बस्तीतिरै फसेको बताउँदै हनुमाननगर बजारमा रहेकी राधादवी यादवले भनिन्, ‘छोराछोरी उतै बाढीमा फसेका छन्, हामी जान सक्ने अवस्थामा छैनौं, जसरी भए पनि बाढीमा फसेकाहरूको तत्काल उद्धार हुनु जरुरी छ ।’ बडाध्यक्ष यावका अनुसार बस्तीमै रहेको विद्यालय नजिक अग्लो स्थान रहेकाले त्यही स्थानमा सेल्टर बनाई वडावासीलाई सुरक्षित राख्ने प्रयास गरिएको छ । पानीको सतह अझै बढे बस्तीमा रहेको अग्लो स्थान पनि डुब्ने र सर्वसाधारण असुरक्षित हुने उनले बताए । ‘हाम्रो घरमा पानी पसिसकेको छ,’ गोबरगाढामै रहेका प्रमोद यादवले भने, ‘अग्लो स्थान खोज्दै सुरक्षित बस्नुपरेको छ ।’

वर्षातका बेला हरेक वर्ष गोबरगाढा बस्ती चारैतिरबाट बाढीले घेरिने गरेको छ । मध्य कोसीमा रहेको उक्त बस्तीलाई हनुमानगर कंकालिनी नगरपालिकाले सार्ने योजना समेत बनाएको भए पनि यस वर्ष त्यो सम्भव हुन सकेको छैन । ‘पूरा बस्ती डुबेको छ, चारैतिरबाट बाढीले घेरिएको छ, बस्तीबाट निस्कने कुनै अवस्था छैन,’ गोबरगाढाका कुशेश्वर यादवले भने, ‘अहिले २ वटा डुंगा मात्र छन्, डुंगामा पनि जोखिम मोलेर मात्र बस्तीसम्म पुग्न सक्ने अवस्था छ ।’


हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले कोसीमा पानीको सतह बढदै जाँदा गोबरगाढा बस्तीमा पनि जोखिम बढदै गएको बताए । उनले बडाध्यक्षलाई उक्त बस्तीतर्फ शनिबार साँझ डुंगासहित पठाएको जानकारी दिए । ‘अग्लो स्थानमा स्थानीयलाई राखेर सुरक्षित बनाउनका लागि वडाध्यक्ष सहितको टोली गोबरगाढा पठाएका छौं,’ मेयर साहले भने, ‘तत्काल उद्धार गर्ने व्यवस्थापनका लागि पनि तयारी गरिरहेका छौं ।’ सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानीको सतह बढेकाले गोबरगाढावासी आत्तिएको बताए । उनले भने, ‘तत्काल धेरै जोखिम रहेको जस्तो मलाई लाग्दैन, बीच कोसीमा बस्ती रहेको र पानीको सतह बढेकाले स्थानीय आत्तिएका मात्र हुन् ।’

प्रमुख जिल्ला अधिकारीले तत्काल धेरै जोखिम नरहेको बताए पनि स्थानीय बासिन्दाले भने अझै पानी बढे घरसहित त्यहाँ रहेका २ सय ५० जनालाई समेत बाढीले बगाएर लग्न सक्ने खतरा रहेको बताए । इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायव निरीक्षक बलबहादुर खत्रीले तत्काल गोबरगाढा जान सक्ने अवस्था नरहेको बताए । ‘डुंगामा जोखिम मोलेर चारवटा भंगाला तरेर अहिले साँझका बेला जान सकिने अवस्था छैन,’ प्रहरी नायव निरीक्षक खत्रीले भने, ‘हनुमाननगरबाट फोनमार्फत स्थानीयको अवस्थावारे जानकारी लिइरहेको छु ।’

भारतीय लापरबाहीले पश्चिमी तटबन्ध जोखिममा
सप्तकोसी नदीमा पानीको बहाब उतारचढाव भइरहदा कोसीको पश्चिमी तटबन्ध जोखिममा परेको छ । वर्षौंदेखि मर्मतसम्भार हुन नसकेको तथा भारतीय प्राविधिक र ठेकेदारको लापरबाहीका कारण कोसीको पश्चिमी तटबन्ध जोखिममा परेको हो । पछिल्लो २ दिनयता कोसीको पानीले पश्चिमी तटबन्ध छोएको छ ।

बिगत कयांै वर्षदेखि कोसीको पानीले पश्चिमी तटबन्धलाई छोएको थिएन । तर यसवर्ष भारतीय कोसी योजनाका अधिकारीहरू र भारतीय ठेकेदारहरूले आफूखुसी कोसीको बहाबलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि अहिले कोसीको बहाब पश्चिमी तटबन्धतिर मोडिँदा तटबन्ध जोखिममा परेको हो । ‘३ लाख क्युसेकभन्दा बढी पानीको बहाब भयो भने जुनसुकै बेला कोसीको पश्चिमी तटबन्ध भत्किने खतरा बढेको छ,’ हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले भने, ‘एक त पश्चिमी तटबन्धको मर्मत गरिएन, त्यसमाथि नदीको पूरै बहाव पश्चिमतर्फ फर्काइयो जसका कारण अहिले तटबन्ध जोखिममा परेको छ ।’

कोसीको पानी पश्चिमी तटबन्धलाई नै छोएपछि आसपासका बस्तीका सर्वसाधारण त्रसित भएका छन् । ‘कोसीको पश्चिमी तटबन्धमा समस्या आए सप्तरी जिल्लाका एक लाखभन्दा बढी जनताको उठिबास हुने खतरा छ,’ मेयर साहले भने । मेयर साहले योजनाबद्ध ढंगबाट नेपाली बस्ती डुबानमा पार्ने गरी भारतीय पक्षले कोसीको मध्य भागमा च्यानल खनी पानीको बहाब पश्चिमी तटबन्धतर्फ मोडेको आरोप लगाए । यसअघि ब्यारेजभन्दा तल्लो क्षेत्रमा कोसीको बहाब पूर्वी भागबाट हँुदै आएको थियो । पछिल्लो दुई वर्ष लगाएर भारतीय कोसी योजनाका अधिकारीहरूले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी पानीको बहाबलाई पश्चिमतर्फ मोडेपछि अहिले पानीको दबाब पश्चिमी तटबन्धमाथि बढेको हो ।

कोसी ब्यारेजबाट रम्पुरा मल्हनियासम्म हनुमाननगर कंकालिनी नगरपालिकामा १७ किलोमिटर कोसीको पश्चिमी तटबन्ध छ । सन् १९८८ मा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियामा कोसीको पश्चिमी तटबन्ध भत्केको थियो । ‘कोसी भत्केको बेला पछि हालसम्म तटबन्धको मर्मतसम्भार हुन सकेको छैन,’ मेयर साहले थपे, ‘मर्मत सम्भारको अभावमा तटबन्ध जीर्ण छ अनि फेरि पानीको चाप पनि तटबन्धतर्फ सोझयाएकाले पश्चिमी तटबन्ध असुरक्षित भएको छ ।’ कोसीमा हुने मर्मत र निर्माणका कार्य भारतीय पक्षले गर्ने भए पनि सुरक्षा र अनुगमनको कार्य नेपाली अधिकारीहरूको हो ।

‘भारतीयहरूले आफूखुसी एकतर्फी रूपमा च्यानल खनेर कोसीको बहाब पूर्ववाट पश्चिमतर्फ गर्दा हाम्रो सरकार मौन बस्यो,’ कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले भने, ‘अहिले नदीको पूरै बहाब पश्चिमतर्फ मोडिएको छ, पश्चिमी तटबन्धमा पानी छोएको छ, तटबन्ध पूर्णरूपमा असुरक्षित भएको छ, तटबन्ध छेउका बस्तीका बासिन्दा त्रसित भएका छन् ।’

प्रकाशित : असार ३१, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?