कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घरेलु मदिरा बिक्री रोकिएन

सन्तोष सिंह

जनकपुर — धनुषा, कमला नगरपालिकाको लक्कडमा विशाक्त मदिरा सेवनले ७ जनाको मृत्युको घटना सेलाउन नपाउँदै बजारमा खुलेआम अवैध बिक्री–वितरण भइरहेको छ ।असार १३ मा ७ जनाको मृत्यु भएपछि प्रदेश सरकारले जनकपुरसहित ८ जिल्लामा प्रहरीले घरेलु मदिरा बिक्री–वितरण निषेध गरेको थियो ।

घरेलु मदिरा बिक्री रोकिएन

तर, दुई साता नबित्दै प्रहरीकै सहयोगमा अवैध मदिरा बिक्री फस्टाएको छ ।

जनकपुरका होटलमा बिक्रीका लागि राखिएका घरेलु मदिरा प्रहरीले छापा मारेर नष्ट गरेको थियो । घटना भएको २/३ दिनसम्म होटलमा घरेलु मदिरा बिक्री–वितरण ठप्प भयो । घरेलु मदिराको अभावमा होटलमा सेवाग्राही आउनै छोडेपछि व्यवसायीले नजिकका प्रहरी प्रमुखलाई प्रलोभनमा पारेर पुन: विशाक्त मदिरा बिक्री–वितरण थालेका छन् ।

अवैध मदिरा बिक्री–वितरण गर्न कडाइ गर्नुका साथै राजमार्ग क्षेत्रबाट आउने बसमा समेत चेकजाँच बढाइएको छ, प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले भने, ‘कडाइ गरे पनि मदिरा आउने क्रम जारी छ । हामीले पछिल्लोपटक मोटरसाइकल र स्कुटीमा समेत निगरानी बढाएका छौं ।’ प्रहरीकै केही कमीकमजोरीका कारण अवैध मदिरा बिक्री–वितरण पूर्णरूपले नियन्त्रण हुन सकेको छैन, उनले भने ।

जनकपुरका होटलमा पाइने अवैध घरेलु मदिरा धनुषाकै राजमार्ग र सिन्धुलीबाट ल्याउने गरिएको छ । होटलमा घरेलु मदिरा बिक्री गरे बापत जिल्ला प्रशासनका कर्मचारी र प्रहरीले होटल सञ्चालकबाट रकम असुल्ने गरेका छन् । जनकपुरको बस पार्क, जिरोमाइल, स्टेसन एरिया, माछा बजार, भानु चोक, हनुमान नगर, मुरली चोक, पिडारी चोक, मुजेलिया, थापा चोक र प्रदेश २ को मन्त्रायल अगाडिकै होटलमा समेत अवैध घरेलु मदिरा खुलेयाम बिक्री भइरहेको जानकारी दिन्छन् स्थानीय ।

जनकपुरको पिडारी चोक, वंशी चोक, थापा चोक, मुजेलियामा अवैध घरेलु मदिरा बेच्ने २० भन्दा बढी होटल छन् । यी होटलले सिन्धुली र धनुषाको राजमार्ग क्षेत्रबाट प्रहरीलाई पैसा बुझाएर जनकपुरमा घरेलु मदिरा भित्र्याउँछन् । होटलले १० लिटर मदिरामा ३० लिटरसम्म पानी मिसाएर बेच्ने गरेको छ । एउटा होटलले दिनमा ५० लिटरभन्दा बढी मदिरा बेच्ने गरेको छ ।

जनकपुरको पिडारी चोककै आसपासका होटलमा दैनिक १ हजार लिटर मदिरा खपत हुने गरेको छ । एक होटल व्यवसायीले भने, ‘जनकपुरमा दैनिक ५ हजार लिटरभन्दा बढी घरेलु मदिरा खपत हुन्छ । घरेलु मदिरा सेवनकर्ता सिल बन्द र ब्रान्डेड मदिरा सेवन गर्न मान्दैनन् । मदिराको कमाइमा प्रहरीले कमिसन लिएपछि व्यापार वैध भएको छ ।’ प्रहरीलाई पैसा बुझाएर ढुक्कसाथ घरेलु मदिरा व्यापार गर्न सकिन्छ, उनले भने । मदिरा व्यवसायीले प्रहरीलाई झुक्याउन होटलमा आवश्यकताअनुसार मदिरा राखेर होटल बाहिरको घरमा मदिरा भण्डारण गर्ने गरेका छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले धनुषामा विशाक्त मदिरा सेवनले ७ जनाको मृत्यु भएपछि होटलमा विशेष निगरानीका लागि प्रहरीलाई निर्देशन दिएका थिए । यादव आफैंले पनि अनुगमन गर्ने बताएका थिए । तर कार्यान्वयन भने हुन सकेन । गत जेठ महिनामा बसेको सुरक्षा बैठकमा मन्त्री यादवले ८ जिल्लाको सीमा क्षेत्रमा रहेको मदिरा पसल बन्द गराउन निर्देशन दिएका थिए । सीमा क्षेत्रबाट १ किलोमिटरसम्म खोलिएको मदिरा पसल बन्द गर्न दिएको निर्देशनसमेत कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित : असार ३१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?