अन्न भण्डारमा चटारो

धनुषामा २७, रौतहटमा ४०, बारा–पर्सामा ८५, महोत्तरीमा ५० प्रतिशत रोपाइँ सकियो

जनकपुर — मुलुककै अन्न भण्डार मानिएको प्रदेश २ मा यसपालि धान रोप्न विगतजस्तो पानी अभाव झेल्नुपरेको छैन । वर्षासँगै वैकल्पिक सिँचाइको बन्दोबस्तीले यहाँका आठै जिल्लामा सहजतापूर्वक रोपाइँ भइरहेको छ ।

अन्न भण्डारमा चटारो

धनुषामा २७ प्रतिशत रोपाइँ सकिएको छ । यहाँका पूर्वी र मध्य भेगमा अझै पानी जमिरहेकाले रोपाइँ जारी छ । मनसुन सक्रिय रहेकाले पुन: वर्षा हुने र यस वर्ष धनुषामा धानबाली सप्रिने संकेत मिलेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असार पहिलो सातादेखि नै वर्षा सुरु भएकाले यहाँका कमला, जलाद, विग्घी, हर्दीनाथलगायत नदीमा बहाब बढेको छ ।

किसानले अपुग पानी नदी, कुलो तथा दमकललगायत स्रोतबाट जोहो गरेका छन् । ‘विदेश पलायन भएकाले धान रोप्न मजदुरको अभाव छ । त्यसैले किसान थप ज्याला–सुविधा दिएर धान रोपाइँ गराउन बाध्य छन्,’ बघचौडाका सुकुमार कापडीले भने । कृषि कार्यालयका बाली विकास अधिकृत बद्रिप्रसाद साहका अनुसार समयमा वर्षा भए पनि किसानलाई रोपाइँ गर्ने कामदार अपुग भएको छ ।

धनुषाको कुल ७५ हजार हेक्टर कृषियोग्य जग्गामध्ये ६५ हजार ५ सय ४० हेक्टरमा धान खेती हुन्छ । आव २०७३/०७४ मा ६५ हजार ५ सय ४० हेक्टर जग्गामा धानखेती भई प्रतिहेक्टर ३ दशमलव ४ मेट्रिक टनका दरले कुल २ लाख २५ हजार ३ सय ९८ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७४/०७५ मा ५५ हजार ७ सय ९ हेक्टर जग्गामा मात्र धान रोपाइँ भई प्रतिहेक्टर ३ दशमलव २ मेट्रिक टनका दरले १ लाख ७८ हजार २ सय ६८ मेट्रिक टन उत्पादन भएको थियो ।

धनुषामा ४ सय ५० हेक्टरमा चैते धान, ४ हजार हेक्टरमा भदैया र २७ हजार ९ सय १६ हेक्टरमा अगहनी (मंसिरे) धान खेती हुने गरेको कार्यालयको तथ्यांकले देखाउँछ । खेतको डिल तथा बालीमा उम्रेका झारपातसमेत सुगन्धित बनाउने करियाकमोद, तुलसीफूल र मनग्यै उत्पादन दिने जसवा, दोलन, हरिनकेर, जापानीलगायत धानका रैथाने जात लोप भएका छन् । तिनको ठाउँमा सवा मंसुली, सवर्णसव १, राधा, सुख्खा १, २, ३, रातो बासमती, बासमती, सोना मंसुली, रामविलास, कतरनीललगायतले ओगटेका छन् ।

किसानलाई भ्याइनभ्याइ
रौतहटका किसानलाई पनि अहिले धान रोप्न भ्याइनभ्याइ छ । आकासे पानी, नहर र बोरिङ, पम्पसेटको मद्दतले रोपाइँ थालिएको छ । अहिलेसम्म ४० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनायो । कुल ३४ हजार हेक्टर धानखेती रहेको जिल्लामा अहिलेसम्म ४० प्रतिशत रोपाइँ सकिएको कार्यालय प्रमुख राजनारायण राय यादवले बताए । ‘अहिलेसम्म केही बिग्रिएको छैन,’ उनले भने, ‘साउनभित्र सबै रोपाइँ सकिन्छ । मौसम ठीक छ ।’ यहाँका किसानले पछिल्लो समय मन्सुली, कतर्नी, साबित्रीलगायत धान लगाउने गरेका छन् ।

कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत मोहन महतोका अनुसार गत वर्ष धान उत्पादनमा गिरावट आएको थियो । बाढीले खेतीयोग्य जमिनको क्षेत्रफलसमेत घटेको थियो । ३९ हजार हेक्टरमध्ये ३४ हजारमा मात्र धान लगाइएको थियो ।

अघिल्लो वर्ष ३.३ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने गरेकोमा बाढीका कारण २.९ मात्र उत्पादन भएको थियो,’ उनले भने, ‘यस वर्ष उत्पादन बढ्ने आशा लिएका छौं ।’ वर्षेनी बाढीले यहाँको खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ । रोपाइँ सकिएपछि हुने डुबानले धानलाई असर पुग्ने कार्यालयले जनायो ।

समयमै रोपाइँ
बाराका किसान अहिले धानको बेर्ना उखेल्न र रोपाइँमा व्यस्त छन् । उनीहरू बिहानै पहिलो लटमा बेर्ना उखेल्छन् । त्यसपछि त्यसको मुठा बनाई रोपाइँका लागि खेतभरि छरिदिन्छन् । दोस्रो लटमा महिला मजदुरले बेर्नाको मुठा खोल्दै छुपुछुपु रोपाइँ गरिरहेको दृश्य जिल्लाभरि देखिन्छ । मजदुरहरूले स्थानीय भाषामा लोकगीत बिरहा, सोहरलगायत गाउँदै रोपाइँ गरिरहेका छन् ।

आवश्यकताअनुसार वर्षा भएकाले यसपालिको रोपाइँ समयमै सम्पन्न हुन लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले बताए । ‘अहिलेसम्म बारामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी जग्गामा साउन पहिलो सातासम्ममा भइसक्छ ।’ साहका अनुसार जिल्लाको ६० हजार ४ सय ५० हेक्टरमा धानखेती गरिएको छ । तर, नगदे बाली भनिने उखु र तरकारीले विस्तारै धान उत्पादनको क्षेत्रफल खुम्च्याउँदै लगेको उनले बताए ।

‘समयमै वर्षा भएकाले रोपाइँ गर्न धेरै सजिलो भयो,’ कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका किसान ब्यास ठाकुर लोहारले भने, ‘रोपाइँका लागि इन्धनमा खर्चिने रकम रोगियो ।’ उनका अनुसार वर्षा नभएको भए रोपाइँका लागि पानी तान्न ४० लिटरभन्दा बढी डिजेल खर्चिनुपथ्र्यो ।

साउनअघि नै रोपाइँ
मनसुनको सुरुवातमै भारी वर्षा भएपछि पर्साका किसानले पनि साउन नलाग्दै रोपाइँ भ्याएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय वीरगन्जका प्रमुख वीरेन्द्र सिन्हाका अनुसार जिल्लाको करिब ८५ प्रतिशत खेतमा रोपाइँ भइसकेको छ ।

सहरी क्षेत्रको प्रभाव रहेको पोखरिया नगरपालिका र वीरगन्ज महानगर क्षेत्रको आसपासका गाउँमा भने अझै हुन बाँकी छ । अलौं, बिन्दवासिनी, बैरियावीर्ता क्षेत्रमा कृषि मजदुरको अभाव देखिएको छ । पहिलेका कृषि मजदुरहरू अहिले राम्रो आम्दानी हुने भएपछि वीरगन्जतिरै अन्य मजदुरीमा खटिएका छन् । समयमै रोपाइँ भए पनि भविष्यमा हुने मनसुनी वर्षा र गण्डक नहरको तालिकाले उत्पादनमा असर पन सक्ने सिन्हाले बताए ।

पूर्व तालिका अनुसार असार १५ मै गण्डक नहरमा पानी आइसक्नुपथ्र्यो । तर यस वर्ष भारतले नहर मर्मतका कारण तालिका अनुसार पानी दिएको छैन । यस वर्ष धानखेती हुने क्षेत्रमा कमी देखिएको छ । गत वर्षदेखि कतिपयले उखु खेतीमा जोड दिन थालेका छन् । जिल्लाका पोखरिया, बिरन्चीबर्वा, बिन्दवासीनी, लंगडी, हरिहरपुर, भीखमपुर, रामनगरी क्षेत्र धानखेतीका लागि प्रसिद्ध छन् । यहाँ सोनामन्सुली, स्वर्णसव १, साबित्री, हर्दिनाथ १ जातका धान बढी लगाइन्छन् । अघिल्लो वर्ष ४५ हजार हेक्टरमा २ लाख २ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष पनि त्यसै हाराहारी उत्पादन हुने अनुमान गरिएको छ ।

कतै डुबान, कतै सुक्खा
महोत्तरीमा पनि ५० प्रतिशत रोपाइँ सकिएको छ । यहाँको ४५ हजार धान खेतमध्ये २२ हजार हेक्टरमा रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालायले जनाएको छ । कार्यालय प्रमुख ओमप्रकाश विराजीका अनुसार भौगोलिक जटिलताका कारण रोपाइँमा एकनास छैन ।

उत्तरी भेगमा ३० र दक्षिणमा सरदर २० प्रतिशत रोपाइँ सकिएको उनले जनाए । वर्षाले दक्षिणमा टुसाउँदै गएको बेर्नामा क्षति पुग्दा उत्तरको तुलनामा रोपाइँ केही पछि सरेको हो । असार अन्त्य हुन लाग्दा दक्षिणी भेगमा डुबान समस्या देखिएको छ भने उत्तरी भेगमा सुक्खा छ ।

वर्षा थामिएपछि भावर क्षेत्रको खेत सुक्खा भएको छ । गौशाला, बर्दिवास, सोनमालगायतका किसान पम्पबाट पानी तानेर रोपाइँ गर्न विवस छन् । ‘तर, अहिले नै निराश हुनुपर्ने अवस्था छै,’ विराजीले भने, ‘यहाँ साउन १५ सम्मै रोपाइँ हुने गरेको छ । त्यति बेलासम्म रोपाइँ ९० प्रतिशतभन्दा बढी सम्पन्न हुनेछ ।’
(श्यामसुन्दर शशि/जनकपुर, शिव पुरी/रौतहट, पवन यादव/बारा, शंकर आचार्य/पर्सा र रवीन्द्र उप्रेती/महोत्तरीको सहयोगमा)

धनुषामा रोपाइँमा जुटेका मजदुर ।

प्रकाशित : असार ३२, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?