रौतहट — चन्द्रपुर नगरपालिका–४ स्थित चाँदी खोलामा ड्याम बनाउन वडा कार्यालयले भाडामा स्काभेटर ल्याएको छ । जबकि नगरपालिकाकै ना१क ४६३५ नम्बरको जेसीबी कार्यालयमै थन्किएको छ । आफैंसँग स्रोतसाधन हुँदा पनि जनप्रतिनिधिले विकास योजनाको काम गराउन बाहिरबाट चर्को भाडामा उपकरण मगाइरहेका छन् ।
यही विषयलाई लिएर केहीले नगरप्रमुख रामचन्द्र चौधरीको चर्को आलोचना गरेका छन् । अहिले चाँदी खोलामा प्रयोग गरिएको निजी मेसिनले प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ लिन्छ ।
नगरपालिकाको मेसिन चलाउँदा आफैंले तेल राखेर प्रतिघण्टा १ हजार २ सय मात्र पर्छ । सबैजसो वडाध्यक्षले महँगोमा काम गराइरहेका छन् । ‘खोलाको धार परिवर्तन नगरे चन्द्रनिगाहपुर नै बगाउने खतरा छ,’ ४ नम्बर वडाअध्यक्ष अमर आलेले भने, ‘नगरपालिकाको मेसिनको भर पर्दा वर्षामा जोखिम निम्तिन सक्छ ।’
स्थानीय भने नगरपालिकाकै आम्दानी बढ्ने भएको उक्त जेसीबी नै प्रयोगमा ल्याउनुपर्ने पक्षमा छन् । नगरकै केही कर्मचारीले निजी मेसिन खरिद गरी भाडामा लगाएको र कार्यालयको जेसीबी थन्क्याएर राख्न बाध्य पारेको उनीहरूको आरोप छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले ४ महिनायता कार्यालयको जेसिबीबारे आफूलाई केही थाहा नभएको बताए । ‘केही समय बिग्रिएर थन्किएको थियो । अहिले मर्मत गरेर चालु हालतमा राखिएको छ,’ उनले भने । वडाको काममा भाडामा जेसीबी ल्याइएको बारे उनले अनभिज्ञता दर्साए ।
रकम हिनामिना
नगरपालिकाले विभिन्न वडा तथा अन्यत्र विकास निर्माणका काममा भाडामा लगाउन गत वर्ष जेसीबी खरिद गरेको थियो । तर, एक वर्षमै बिग्रिएको थियो । यो अवधिमा जेसीबीमार्फत भएको आम्दानी सबै हिनामिना भएको छ । हिसाबकिताब सार्वजनिक गर्न स्थानीय रोशन काफ्लेले नगरपालिकामा निवेदन दिएका छन् । निवेदनमा उनले एक वर्षमा २४ सय घण्टा जेसीबी चलेको जनाउँदै नगरपालिकाका कर्मचारीले सबै रकम हिनामिना गरेको आरोप लगाएका छन् ।
नगरपालिकाको लगबुकमा जेसीबी झन्डै २ हजार ४ सय ५० घण्टाभन्दा बढी चलेको देखिन्छ । यसबापतको आम्दानी झन्डै २५ लाख हुन आउँछ । काफ्लेले नगरपालिकाले हिसाब सार्वजनिक नगरे अख्तियार र उच्च अदालतमा निवेदन दिने बताए । ‘चन्द्रपुर नगरपालिकामा जस्तो बेथिति कतै छैन,’ उनले भने, ‘जेसिबीको सबै रकम अनियमितता गरिएको छ । विभिन्न कामका लागि दातृ निकायले दिएको करौडौं रकम हिनामिना भएको छ ।’ काफ्लेले नगर क्षेत्रमा रहेको पिपलको रुख समेत सस्तो मूल्यमा व्यक्तिलाई काट्न दिइएको आरोप लगाए ।
नगरको दमकल सशस्त्रमा
चन्द्रपुर नगरपालिकाले वारुण यन्त्र (दमकल) खरिद गरेको एक वर्ष बितिसकेको छ । तर अग्निनियन्त्रक नियुक्ति गर्न नसक्दा दमकल सशस्त्र प्रहरी (एपिएफ) को सन्तपुर बेशमा थन्किएको छ । कतै आगजनी भए सशस्त्र आफैं बारुणयन्त्र लिएर जान्छ । स्थानीय तह निर्वाचनको एक वर्ष बित्दा पनि नगरपालिकालाई आवश्यक कर्मचारी नियुक्ति गरेको छैन । नगर प्रहरी नहुँदा सुरक्षा प्रभावित भएको छ । ‘नीति नियमले समयमा कर्मचारी नियुक्ति गर्न नसकेका हाैं,’ नगर प्रमुख रामचन्द्र चौधरीले भने, ‘दमकलचाहिँ सुरक्षाका दृष्टिले पनि सशस्त्र बेशक्याम्पमा राखेका हौं ।’ सशस्त्रले घटनास्थलको दूरी हेरी दमकल र सुरक्षाकर्मी खटाउने गरेको छ । अग्नि नियन्त्रकका रूपमा खटिने शसस्त्रका जवान पनि प्राविधिक ज्ञान र तालिमप्राप्त छैनन् । नगरपालिकाले अहिलेसम्म परिषदसमेत गर्न सकेको छैन ।