निकुञ्जले मेलालाई अनुमति नदिने
पर्सा — पर्सा राष्ट्रिय निकुञ्जको रामभौरीभाठामा लाग्ने साउनी मेलालाई यसपटक निकुञ्ज प्रशासनले अनुमति नदिने भएको छ । चैत मसान्त र वैशाख पहिलो साता गरी भाठा क्षेत्रमा जंगली हात्तीको आक्रमणमा ३ जनाको ज्यान गएपछि निकुञ्जले मेला रोक्ने अडान लिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मेला समितिले आगामी साउन १२ देखि साउने मेला लगाउने प्रयास गरिरहेको जानकारी आएको तर त्यसको अनुमति मागको पत्र समितिले हालसम्म निकुञ्ज प्रशासनलाई नदिएको बताए । पत्र आए पनि भाठा क्षेत्रमा मेला लगाउने अनुमति कुनै हालतमा नदिने उनको भनाइ छ ।
‘हाल भाठा क्षेत्रमा झाडी बढेको छ, पहिले एउटा हात्ती मात्र सक्रिय थियो, अहिले झुन्ड नै छ, त्यहाँ मेला लागाउनु भनेको वन्यजन्तु र स्थानीयबीच जानाजान द्वन्द्व बढाउनु मात्र हो,’ उनले भने ।
उक्त मेला अन्यत्रै लगाउने सम्बन्धमा बिहीबार प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकाय प्रमुख, निकुञ्जका प्रशासन प्रमुख, मेला समितिका पदाधिकारी समेतका बीच बिहीबार सम्पन्न बैठक निष्कर्षविहीन रह्यो । बैठकमा निकुञ्ज प्रशासनले वन्यजन्तु र स्थानीय बासिन्दाको सुरक्षार्थ पनि निकुञ्जभन्दा ४ किमि दक्षिण पटेर्वासुगौली गाउँपालिकाको चौरमा मेला लगाउनुपर्ने, त्यहीँ मन्दिर बनाउनुपर्ने र दर्शनार्थीहरूलाई मात्र व्यवस्थित रूपमा सवारी साधनमा राखेर भाठा बाबा मन्दिरमा दर्शन गराई फिर्ता ल्याउनुपर्ने अडान लिएको थियो ।
मेला समितिका पदाधिकारीले भने नयाँ मेलास्थल तथा मन्दिर निर्माणको सम्पूर्ण खर्च निकुञ्ज प्रशासनले व्यहोर्नुपर्ने माग राखेका छन् । माघमा इकोनोमिक रिपोटर्स एसोसिएसन वीरगन्जको सहजीकरणमा वीरगन्जमा सम्पन्न बैठकमा निकुञ्ज प्रशासन र मेला समिति दुबै पक्षले मेलालाई व्यवस्थति, प्रदूषण रहित र दर्शनार्थीलाई सहज हुने गरी तथा निकुञ्जको वातावरण समेत नखलबलिने गरी आयोजना गर्ने निर्णय गरेका थिए । तर त्यसको कार्यान्वयन हुन सकेको थिएन । वसन्तपञ्चमी मेलालगत्तै मेला तथा मन्दिर समितिले दीर्घकालीन योजना छलफलका लागि पेस गर्ने निर्णय समेत बैठकले गरेको थियो । तर समिति त्यसपछि निष्क्रिय रह्यो ।
मेला लाग्ने ठाउँ निकुञ्जको महत्त्वपूर्ण तथा अतिसंवेदनशील क्षेत्रमध्ये एक हो । मेलाका कारण वन्यजन्तुको चोरीसिकारको जोखिम पनि अत्यधिक रहन्छ । मेला क्षेत्रमा रहेको ठूलो मानव बस्तीलाई आर्थिक वर्ष २०६५/०६६ मा तत्कालीन सोनवर्षा–९ सुन्दरपुरमा स्थानान्तरण गरिएको थियो । वन्यजन्तुको वासस्थान विस्तार गर्ने उद्देश्यले बस्ती स्थानान्तरण गरिए तापनि मेलाको कारण त्यहाँबाट मानवीय गतिविधि पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।
बस्ती स्थानान्तरणपछि त्यहाँ ८० हेक्टर घाँसे मैदान विकसित भएको छ । यसकै कारण त्यहाँ वन्यजन्तुको गतिविधि समेत बढेको छ । चितवन राष्ट्रिय निकुञ्जबाटसमेत गैंडा आएका छन् । तुलनात्मक रूपमा पानीको स्रोत कम रहेको निकुञ्जको त्यस क्षेत्रमा भने खोला र मानवनिर्मित पोखरी पर्याप्त छन् । त्यसैले बाघ, हात्ती, चित्तल,हरिण,जरायो,निलगाईजस्ता वन्यजन्तुको उपस्थिति समेत बढेको छ ।