कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीपले हौसिए गृहिणी

पर्सा — चुलोचौकाबाट फुर्सद मिलेपछि वैजयन्ति राउतलाई दिउँसोको समय खाली बस्दा दिन काटन मुस्किल हुन्थ्यो । टोलमै कुशन र खेलौना बनाउने तालिम पाएपछि उनी दंग छिन् । हातमा सीप भएपछि सीपलाई व्यावसायिकतामा ढाल्ने आत्मविश्वास उनमा पलाएको छ ।

सीपले हौसिए गृहिणी

‘पहिले केही सीप जानेको छैन भनी सधैं थकथक लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले थोरै भए पनि सीप जानिएको छ र यही सीपबाट घरमै बसेर पनि केही आर्जन गर्न सकिन्छ भन्ने आँट आएको छ ।’

अर्की स्थानीय गृहिणी सुनिता थापाको पनि राउतकै जस्तै अनुभव छ । छोराछोरी स्कुल पढन र पति जागिरमा गएपछि उनी पनि दिउँसो घरमा एक्लै हुन्छिन् । ‘जीवनको महत्त्वपूर्ण समय चुलोचौका गर्दै बित्यो,’ उनले भनिन्, ‘यस क्रममा केही सीप नसिकेको कुरोको पछुतो मनमा रही रहन्थ्यो ।

सीप जानेपछि यसबाट थोर बहुत कमाइ पनि गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।’ बैजयन्ति र सुनिताजस्ता ४० गृहिणी महिला अहिले यस्तै अनुभव गर्दैछन् । घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जको सहयोगमा पर्सा सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको १५ दिने कुशन र खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू यी सामग्री बनाउन पोख्त भएका छन् । तालिम आइतबार सम्पन्न भएको हो । अत्यधिक माग रहेका कुशन र खेलौना घरघरमै बनाएर वा सामूहिक रूपमा पसल नै खोलेर भए पनि आफ्नो सीपलाई व्यावसायिकता दिने लक्ष्य तालिम लिएकामध्ये धेरै गृहिणीको छ ।

तालिम आयोजक संस्थाका कार्यक्रम संयोजक वीरेन्द्र राउत तालिममा बेरोजगार गृहिणीहरू, एकल महिला समेतलाई प्राथमिकता दिइएको बताउँछन् । तालिमका सहभागी महिलाले पनि अत्यन्त उत्साहका साथ तालिम लिएकाले भविष्यमा उनीहरूले आफ्नो सीपलाई व्यावसायिकताका ढाल्ने प्रवल सम्भावना रहेको उनले बताए । महिलाले उत्पादन गर्ने सामग्रीको बजारीकरणका लागि पनि संस्थाले सक्दो सहयोग गर्ने उनले बताए ।

प्रकाशित : श्रावण १, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?