छैन सीमामा रोकटोक

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका ४ बिर्ता निवासी गीता कलवार सोमबार अपराह्न घरायसी किनेमेलका लागि सीमावर्ती भारतीय बजार पुगिन् । मात्र ४ किलोमिटरको दूरीमा रहेको बजार भए पनि त्यो अर्कै देश हो । सीमा पार गर्दा कलवारलाई कुनै पनि देशका सुरक्षाकर्मीले केरकार गरेनन् ।

छैन सीमामा रोकटोक

भन्सारका कर्मचारी होउन् वा अध्यागमनका कसैले पनि चासो लिएनन् ।

रक्सौल सजिलै प्रवेश गरेकी ४७ वर्षीया कलवारलाई फर्किंदा भने ४ ठाउँमा जाँच गरियो । २ झोलाभरि सामान खरिद गरी रिक्सामा फर्किरहेकी कलवारलाई भारतीय कस्टम, वीरगन्ज भन्सार, रजतजयन्ती चोक र केडिया दन्त कलेज अगाडिको सडकमा जाँच गरिएको थियो । भारतीय बजारमा खरिद गरी फर्किने प्रत्येक नेपालीलाई सुरक्षाकर्मीले कर छलीको आशांकामा चेक गर्छन् । कलवार प्रतिनिधि पात्र मात्र हुन् । वीरगन्ज र रक्सौलबीच ओहोरदोहोर गर्ने नेपाली नागरिक होउन् वा भारतीय, कसैको पनि सीमामा परिचय मागिँदैन । मुख्य नाकामा मात्र होइन ग्रामीण क्षेत्रका नाकाको अवस्था पनि यस्तै छ ।

दुवैतिरको नाकामा को व्यक्ति आफ्नो मुलुकमा प्रवेश गर्दै छ भन्ने विवरण राख्ने गरिएको छैन । नेपाल भारतबीच सदियौँदेखि चलिआएको सम्बन्धका कारण एक देशबाट अर्को देशमा बिनारोकतोक आवतजावत हुँदै आएको छ । दिल्ली र काठमाडौँबीचको राजनीतिक र कूटनीतिक सम्बन्ध तलमाथि हुँदा मात्र नाकामा खटेका भारतीय सीमा सुरक्षा बलले नेपालीलाई अनावश्यक केरकार, दुव्र्यवहार गर्छन् ।

खुला सिमानाका कारण दुवै देशले अनेक समस्याको सामना पनि गर्दै आएका छन् । दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा सम्बन्ध अधिकारीबीच हुने सुरक्षा बैठकमा पनि खुला सिमानाबाट आउने सुरक्षा चुनौतीकै बारे अधिकांश समय छलफल हुने गरेको छ । खुला सिमानाको फाइदा उठाउँदै एउटा देशमा अपराध गरी अर्को देशमा लुक्ने परम्परा पनि विगत लामो समयदेखि चल्दै आएको छ । यसका साथै लागूऔषध ओसारपसार, नक्कली भारतीय नोटको कारोबार, हातहतियारको सप्लाइ लगायतका आपराधिक गतिविधि सजिलै हुँदै आएको छ । जानकारका अनुसार खुला सिमानाले जनस्तरमा सांस्कृतिक, भाषिक, आर्थिक, सामाजिक, सम्बन्ध स्थापित तथा प्रगाढ बनाउन सकारात्मक भूमिका निर्वाह गरेको भए पनि खुला सिमाना भएकाले सीमापार अपराध, हातहतियार तथा लागूऔषध तस्करी, मानव बेचबिखन जस्ता समस्याले दुवै देशको आन्तरिक सुरक्षा तथा सामाजिक सद्भावमा गम्भीर चुनौती पनि सिर्जना हुने गरेको छ । यसैबीच नेपाल भारत प्रबुद्ध समूहको हालै काठमाडौँमा सम्पन्न ९ औँ बैठकले खुला सिमाना ‘रेगुलेट’ गर्ने दुवै देशका सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

वीरगन्जकास्थित नारायणी अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताका अनुसार दुवै देशका कर्मचारी र सुरक्षातन्त्रको नियत सफा नहुन्जेल बोर्डर रेगुलेट गर्ने निर्णय गरे पनि त्यो सफल कार्यान्वयन नहुने बताउँछन् । उनका अनुसार दुवै देशका प्रहरीले संयुक्त कारबाहीमा धेरै अपराधी नियन्त्रणमा लिएका छन् ।

‘बोर्डर रेगुलेट गर्ने निर्णय गरिए पनि व्यवहारमा ल्याउन कठिनाइ हुन्छ,’ उनले भने, ‘बिहान भारत पसेर दिउँसो नेपाल फर्किने बानी अधिकांश सीमावर्ती क्षेत्रका बासिन्दाको बानी नै छ ।’ ओहोर–दोहोर गर्दा अधिकांशले परिचय पत्र पनि बोकेका हँुदैनन् । जिल्लाका एक उच्च सुरक्षा अधिकारीका अनुसार अपराध र अवैध क्रियाकलाप नियन्त्रणमा सीमा रेगुलेटको निर्णयले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

मुख्य नाकाबाट मात्र ओहोरदोहोर नभई ग्रामीण नाकाबाट दुवै देशका व्यक्ति सजिलै अर्को देशमा प्रवेश गर्दै आएका छन्, नाम उल्लेख नगर्ने सर्तमा ती सुरक्षाकर्मीले भने, यसका लागि जनशक्ति थप्ने, सबैलाई परिचयपत्र अनिवार्य गर्न आवश्यक छ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?