२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चाँदी नदीको सधैं त्रास

शिव पुरी

रौतहट — पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर चोकबाट उत्तरतर्फ रहेको चाँदी खोलाले धार परिवर्तन गरेपछि चन्द्रपुर नगरपालिका क्षेत्र बगाउने खतरा बढेको छ । पूर्वी क्षेत्रबाट बग्ने खोला पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतिर मोडिएर कटान गर्न थालेपछि यहाँ त्रास बढेको हो ।

चाँदी नदीको सधैं त्रास

स्थानीयले कटान रोक्न माग गर्दै आएका छन् । यसका लागि तटबन्ध र स्पर आवश्यक रहेको स्थानीयको भनाइ छ ।

वर्षाका बेला चाँदीखोला खहरेझैं उर्लेर आउँछ । यसले पश्चिम क्षेत्रमा निरन्तर कटान गर्दै आएको छ । जिल्ला भूसंरक्षण कार्यालयले कटान रोक्न २० वटा स्पर निर्माण गरेको छ । अझै २० वटा स्पर आवश्यक रहेको स्थानीय खिला लामिछानेले बताए । लामिछाने अध्यक्ष रहेको उपभोक्ता समितिले अहिले झन्डै १ किलोमिटरसम्म अस्थायी ड्याम बनाइरहेको छ । जलउत्पन्न प्रकोप विभागको बजेटबाट ड्याम निर्माण भइरहेको हो ।

‘निर्माणको काम हँुदै गर्दा बजेट अभावले बन्द हुन लागेको छ,’ उनले भने, ‘यत्रो ठूलो समस्या छ । कटान रोक्न ड्याम निर्माण गर्न चाहिने बजेट उलपब्ध हुँदैन ।’ समितिले जम्मा १० लाखमा ड्यामको काम सुरु गरेको थियो । उनले नदीमा बन्दै गरेको पुल निर्माणको कामले खोलाले धार परिवर्तन गरेको बताए ।

नदीमा शिवशंकर कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहरको छ । बाढीले पुल र कटान रोक्न कन्स्ट्रक्सनले अस्थायी ड्यामको निर्माण सुरु गरेको छ । तर त्यसले रोकथाम नहुने स्थानीयको भनाइ छ । बाढीले कटान सुरु गरेपछि केही दिनअघि वडा अध्यक्ष अमर आलेको अनुरोधमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहितको टोली स्थलगत अध्ययनमा गएको थियो । ‘समयमा रोकथाम गरिएन भने निकट भविष्यमा यसले ठूलो समस्या निम्त्याउँछ,’ उनले भने, ‘कटान रोक्न तटबन्धका लागि माथिल्लो निकायमा कुरा राख्छु ।’ त्यस क्षेत्रमा झन्डै ५ किलोमिटरसम्म स्थायी रूपमा बाँध निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

वडा अध्यक्ष आलेले चाँदी नदीको खतरा बढदै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । वर्षाका बेला ठूलो बाढी आयो भने पश्चिम दक्षिण क्षेत्रबाट खोला पसेर चन्द्रनिगाहपुरलाई ठूलो क्षति पुग्न सक्छ । ‘जंगल क्षेत्रबाट बाढी प्रवेश गर्‍यो भने सिंगो चन्द्रनिगाहपुर बगाउने खतरा छ,’ वडा अध्यक्ष आलेले भने, ‘समयमा सबै सचेत हुनुपर्छ । यहाँ तत्काल स्थायी तटबन्ध गर्नु जरुरी छ ।’ बाढीले क्षति पुर्‍याए पूर्वपश्मिच राजमार्गमा समेत समस्या आउन सक्ने देखिएको छ ।


नदी छेउमा टेकान, कप्तानटोल, ठाडाटोल र मुख्य चोक बजार बढी खतरामा परेको छ । नदी र जंगल छेउमा रहेको यी गाउँमा वर्षाका बेला सधैं त्रासमा बस्नुपर्ने बाध्यता छ । चाँदीले चन्द्रनिगाहपुर मात्र होइन दक्षिण भेगमा समेत कटान गर्दै आएको छ । १० वर्षअघि चाँदीले खैरा बस्ती नै कटान र डुबानम पारेको थियो ।

त्यसपछि सिंगो बस्ती नै विस्थापित भएको थियो । त्यहाँ ठूलो संख्यामा मानिस विस्थापित भए । खेतीयोग्य जमिन कटानमा पर्‍यो । मरधरदेखि दक्षिणका गाउँमा चाँदीको कटानले वर्षेनी समस्या पार्दै आएको छ । यसको स्थायी रोकथाम हुनुपर्ने भन्दै कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले प्रतिनिधि सभामै कुरा उठाएका थिए । ‘लालबकैया, बागमती र चाँदी नदीले वर्षेनी कटान डुबान पार्दै आएको छ,’ सांसद तिमल्सिनाले भने, ‘गाउँ बस्ती डुबान, कटान र मानवीय क्षति भएपछि मात्र सरकार तात्छ । अनि राहतको कुरा गर्छ ।’

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चाँदी बागमती र लालबकैया नदीको कटान रोक्न स्थायी रूपमा ड्याम,तटबन्ध वा स्पर निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । उनले कटान रोक्न चासो देखाएका थिए । गृह जिल्ला आउँदा नेता नेपालले तिनै नदीका बारेमा स्थानीय प्रशासनसित जानकारी लिने गर्छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?