कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चुरेको समस्या तराईमा

जनकपुर — चुरे क्षेत्रमा अनियन्त्रित बसोबास, खोलाबाट मनपरी ढुंगागिट्टी उत्खनन र वनक्षेत्रको फडानीले वातावरणमा परेको असर तराई मधेसमा देखा पर्न थालेको विज्ञहरूले बताएका छन् ।

चुरेको समस्या तराईमा

नेपाल वातावरण पत्रकार समूहले बुधबार जनकपुरमा आयोजना गरेको प्राथमिकतामा वातावरण अन्तक्रिया कार्यक्रममा चुरे क्षेत्र संरक्षणमा ध्यान नदिँदा त्यसको असर तराई मधेसले भोगिरहेको सहभागीले बताए । वातावरणसँग जोडिएका सबै समस्याको समाधान चुरे क्षेत्र संरक्षण नै रहेको उनीहरूको तर्क छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले वातावरणको संरक्षणमा गम्भीर हुनुपर्ने बताए । ‘विकासको नाममा वातावरण बिगार्ने काम भइरहेको छ,’ यादवले भने, ‘मधेसमा शीतलहर, गर्मी, बाढीको बेला जनधनको क्षतिजस्ता प्राकृतिक विपत् बढेका छन् । यो वातावरणलाई प्रकृति अनुकूल नबनाएकाले नै भएको हो ।’ मन्त्री यादवले प्रकृति र वातावरणसँग धेरै छेडखानी गरिएकाले त्यसको असर मानव जीवनमा परिरहेको बताए । ‘राजनीति स्वार्थकै कारण चुरे संरक्षण हुन सकेको छैन,’ मन्त्री यादवले भने, ‘चुरेमा अतिक्रमण बढेको छ, नांगो चुरेलाई संरक्षण गर्न दशगजादेखि चुरेसम्मको जनतालाई समेट्नु आवश्यक छ ।’

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले राजनीतीकरणले वनजंगल विनाश भएको स्वीकार गरे । उनले राजनीति परिवर्तनको बेला जंगल मास्ने तत्त्व सक्रिय हुने गरेको बताए । ‘वन विनाशमा राजनीतिकर्मी पनि दोषी छन्, तर वन कार्यालयका अधिकारी पनि कम दोषी छैनन्,’ नेता यादवले भने । नेकपाका नेता रामचन्द्र मण्डलले चुरे र समथल भूभागको रिचार्ज सुक्दा पानीको सतह मुनि झरेको बताए ।

प्रदेशसभा सांसद रामआशिष यादवले जल, जमिन र वायु प्रदूषण बढ्नुमा मानव कारण नै रहेको जनाए । उनले भने, ‘वातावरण र प्रकृतिको दोहन र खेलबाडले मानिसलाई नै बढी नोक्सानी भइरहेको छ ।’ यादवका अनुसार जनकपुरमा पहिला १ सयदेखि २ सय ५० फिट पाइप गाड्दा कलबाट पानी तान्न सकिन्थ्यो । तर, अहिले ४ सय फिट मुनि पाइप जडान गर्दा पनि कलमा मज्जाले पानी आउँदैन । उनले पानीको सतह मुनि झरिरहेकाले मधेसमा चाँडै खानेपानीको संकट देखिने बताए ।

कार्यपत्र प्रस्तोता चन्द्रकिशोरले प्रदेश २ को दक्षिणी क्षेत्रमा खानेपानी अभाव हुन थालेको औंल्याए । उनले चुरे नाँसिदा पानीको स्रोत सुकेको दाबी गरे । ‘चुरेको दोहन जारी रहे केही वर्षमा पानीका लागि मधेसमा द्वन्द्वको अवस्था आउनेछ,’ चन्द्रकिशोरले भने, ‘विकासका नाममा भइरहेको वन फडानीले पनि वातावरणमा ठूलो असर पारेको छ ।’ उनले बाराको निजगढ, रौतहटको चन्द्रनिगाहपुर र सिरहाको राजमार्ग छेउमा पानीको समस्या रहेको बताए ।

वन कार्यालयका पूर्व डीएफओ रामसोगारथ साहले वातावरणको संरक्षण वनजंगलमै निर्भर रहेको बताए । उनले नेपालमा वनजंगल मास्ने र खुम्च्याउने प्रयास भइरहेको बताए । राजनीति उथलपुथलको बेला वनजंगल बढी मासिने गरेको उनले दाबी गरे । सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष चन्द्रदेव चौधरीले राजनीति र सरकारी आडमा वातावरणको सन्तुलन बिगार्ने काम भइरहेको आरोप लगाए । उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको काम पनि फितलो रहेको बताए । महासंघका प्रदेश २ का अध्यक्ष सोम शर्माले ढुंगागिट्टी र बालुवाको दोहनमा माफियाहरू सक्रिय रहेकाले वातावरण विनाश बढेको दाबी गरे ।

वन प्राविधिक सुरेश शर्माले चुरेमा रहेको अव्यवस्थित बसोबास र अतिक्रमण हटाउन भोट बैंकका कारण राजनीति दलले सहयोग नगरेको बताए । उनले राजमार्ग, रेल्वे लाइन, अन्तर्राष्ट्रिय विमानस्थल र विद्युत् प्रसारण लाइन निर्माणका नाममा वनजंगल मास्ने काम भइरहेको बताए । नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालले वातावरण विनाशका कारण प्रदेश २ को जंगल र चुरे क्षेत्र उजाड बनेको बताए ।

प्रकाशित : श्रावण ३, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?