कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला शौचालय बन्यो बाह्रबिघा मैदान

जनकपुर — रामजानकी विवाह उत्सव आयोजन स्थलका रूपमा चिनिने ऐतिहासिक रंगभूमि बाह्रबिघा मैदान खुला शौचालयमा परिणत भएको छ । वर्षामा जलमग्न र गर्मीमा धुलाम्मे हुने मैदानको जनकपुर अञ्चल अस्पताल छेउको कुना डम्पिङ साइटमा परिणत भएको छ ।

खुला शौचालय बन्यो बाह्रबिघा मैदान

रंगभूमि मैदानमा धार्मिक, सांस्कृतिक, खेलकुद र राजनीतिक सभासम्मेलनको आयोजना वर्षभरि टुटदैन । रंगभूमि मैदानकै मञ्चबाट देश निर्माण र विकास–समृद्धिको ठूल्ठूला आश्वासन र योजना सुनाउने मन्त्री–नेता भने त्यही रंगभूमि मैदानको दूरवस्थाबारे भने मौन बस्छन् ।

भारत सरकारको आर्थिक सहयोगमा बाह्रबिघा रंगभूमि मैदान मर्मत आयोजना सुरु भएको थियो । सन् २०११ को जनवरीदेखि सुरु भएको उक्त आयोजनाको काम अझै बाँकी छ । तत्कालीन जिविस धनुषाको आर्थिक सहयोगमा रंगभूमि मैदानको दक्षिणी–पूर्वी कुनामा निर्माण गरेको अपूरो शौचालय धार्मिकस्थललाई अझ कुरूप बनाएको छ ।

बाह्रबिघा मैदानका रूपमा चिनिए पनि साविकको क्षेत्रफल १९ बिघा रहेको स्थानीयवासीको दाबी छ । स्थानीयका अनुसार रंगभूमिको पूर्वबाट पीसीसी सडक निर्माण गर्दा झण्डै २ बिघा जग्गा सडकमा मिसाइएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पूर्वअध्यक्ष दीगम्बर राय अझै पनि रंगभूमिको क्षेत्रफल १५ बिघा ११ कट्ठा रहेको दाबी गर्छन् ।

रंगभूमि मैदान मर्मतका लागि भारतीय राजदूतावासका तत्कालीन द्वतीय सचिव महेश सी अडोरा र बृहत्तर जनकपुर क्षेत्र विकासका कार्यकारी निर्देशक नेवल चौधरीबीच २० डिसेम्बर २०१० मा सम्झौता भएको थियो । भारतीय दूतावासको ३ करोड ६४ लाख ८९ हजार आर्थिक सहयोगमा पूर्वतिर पिसीसी सडक निर्माण, कम्पाउन्डवाल निर्माण, सवारी साधन पार्किङ, भूमि सम्याउने तथा ग्रेडिङ गर्ने, सार्वजनिक शौचालय एवं यज्ञशाला आदि निर्माण गर्नुपर्ने थियो तर आयोजना अन्तर्गत पिसीसी सडक, कम्पाउन्ड वाल तथा भूमि सम्याउनेलगायत केही काम मात्र हुन सके । केही ठेकेदार आधा अधुरा काम गरेर आफ्नो भुक्तानी लिएर टाप कसे ।

भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित रंगभूमि मर्मत आयोजनाको पहिलो प्याकेज चन्द्र एन्ड वसन्त कन्स्ट्रक्सन, पुलचौक ललितपुरका विष्णुबहादुर राउतले ठेक्का लिएका थिए । १ करोड ३५ लाखको यस योजनाअन्तर्गत रंगभूमिको पुरानो पर्खाल भत्काई नयाँ पर्खाल र रेलिङ निर्माण गरे पनि यस कम्पनीले पैदलमार्ग तथा ढोका निर्माण गरेनन् ।

यसैगरी भूमि सम्याउने, ग्रेडिङ गर्ने तथा सवारी पार्किङ निर्माण गर्ने ठेक्का कवोल गरेको शनि कन्स्ट्रक्सन, बगरा, महोतरीले पार्किङ निर्माण गरेन भने शौचालय निर्माणको ठेकेदार जयबाबा गणिनाथ निर्माण सेवा जलेश्वरले निर्माण गरेको शौचालय हालसम्म सुचारु हुन सकेको छैन ।त्रेतायुगमा राम जानकीबीच सम्पन्न वैवाहिक कार्यक्रमको मुख्य आयोजन (दुलहा–दुलही मिलन) यसै रंगभूमि मैदानमा भएको किंवदन्ती छ । रामायणकालीन यस उत्सवलाई निरन्तरता दिंदै राम जानकी विवाह महोत्सवमा प्रत्येक वर्ष यहाँ राम–जानकीको डोलाको संगम गराइन्छ । यस वैवाहिक महोत्सवमा एक लाखभन्दा धेरैको सहभागिता हुने गर्छ ।

यसका साथै श्रावण महिनाभरि आयोजन हुने झुलनोत्सवको प्रारम्भ पनि रंगभूमि मैदानबाटै हुन्छ । मणिपर्वत भनिने यस उत्सवमा पहिला घोडा दौड, हात्ती दौड, गोरु गाडा दौड तथा पहलमानीजस्ता मनोरम कार्यक्रम पनि आयोजन हुन्थ्यो । जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवका अनुसार आधुनिक सवारी साधनको प्रयोगसँगै पारम्परिक दौड प्रतियोगिता समाप्त भएको हो ।

छोटे महन्थका अनुसार रंगभूमि जानकी मन्दिरको स्वामित्वमा भए पनि यसको प्रयोग भने धार्मिक, सांस्कृतिक, मनोरञ्जन, खेलकुद तथा ठुल्ठुला राजनीतिक सभा सेमिनार लगायतका सार्वजनिक काममा प्रयोग हुँदै आएको छ । पहिला यो जानकी मन्दिरको फूलबारी थियो तर २०१६/०१७ सालतिर यसमा जनकपुर हवाई अड्डा निर्माण हुने हल्ला चल्यो ।

‘हवाई अड्डा बन्ने हल्लासँगै रुख काट्ने होड चल्यो अनि केही दिनभित्रै सिंगै फूलबारी मैदान बन्यो ।’ बृहत्तर जनकपुरका पूर्वअध्यक्ष दीगम्बर राय सम्झन्छन् ।

वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोह रंगभूमि मैदानमा आयोजन गर्ने निर्णय गरिए पनि जलजमावको कारण आयोजक जनकपुर उपमहानगर पालिका र प्रदेश २ सरकारका लागि टाउको दुखाइ बनेको थियो ।

मोदीको जनकपुर आगमनपूर्व हावाहुरीसँगै पानी पनि परेकाले समारोह आयोजन गर्न आयोजकले माटो पुर्न लाखौं खर्चिए पनि पनि हिलामै कुर्सी राखेर दर्शक बस्ने व्यवस्था गर्नुपरेको थियो । एसियाली विकास बैंकको सहयोगमा जनकपुरमा एकीकृत सहरी विकास परियोजना सञ्चालित छ । परियोजनाअन्तर्गत नगरमा ढल तथा सडक निर्माण तीव्र गतिमा हुँदै छ तर रंगभूमिको पानी निकासका लागि कुनै ठोस योजना भने देखिएको छैन ।

स्थानीय उमेश साह रंगभूमिको पानी निकासको ठोस योजना बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘नगरमा एकीकृत सहरी विकास परियोजना सञ्चालित छ । यसै परियोजनाअन्तर्गत रंगभूमिको पानी निकासीको व्यवस्था पनि गर्नुपर्छ ।’


रामजानकी विवाह महोत्सवका क्रममा रंगभूमि मैदानमा ओर्लेको श्रद्धालुको भीड ।

प्रकाशित : श्रावण ३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?