तीन महिनादेखि विद्युत् अनियमित

सन्तोष सिंह

जनकपुर — जनकपुर उपमहानगरपालिकाको छेउमै रहेको सिन्धुली होटलको हरेक टेबुलमा दुई थान हाते पंखा राखिएको छ । बिहान–बेलुका आउनेले ग्राहकले एक हातले पंखा हम्किँदै अर्को हातले भात खाना खान्छन् ।एकीकृत सहरी विकास परियोजना अन्तर्गत जनकपुरमा सडक निर्माणको काम भइरहेको छ ।

तीन महिनादेखि विद्युत् अनियमित

सडक फराकिलो बनाउँदा विद्युतको पोल पनि सार्नुपर्ने भएकाले जनकपुरमा ३ महिनायता बिजुली अनियमित छ । बिहानैदेखि काटिएको विद्युत् अबेर साँझसम्म पनि नआउँदा सिन्धुली होटलले ग्राहकका लागि हाते पंखाको जोगाड गरेको हो । साउन सुरु भएदेखि जनकपुरको तापक्रम झन् बढेको छ ।

जनकपुर–१० का स्थानीय चन्दन झाका अनुसार तीन महिनादेखि विद्युत् अनियमित भएको छ । ‘एक त दिनभर विद्युत् नै हुँदैन,’ उनले भने, ‘बिजुली आइहाल्यो भने पनि भोल्टेज यति न्यून हुन्छ कि पंखा पनि घुम्न मान्दैन ।’ लो–भोल्टेजका कारण विद्युतीय उपकरण नचल्ने र बिग्रिन थालेका छन् । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारका क्रममा बिजुलीको पोल सार्नुपर्ने भएकाले विद्युत् अनियमित भएको बताउँदै आएको छ । तर, उपभोक्तहरू प्राधिकरणको त्यो वहाना मात्र रहेको आरोप लगाउँछन् । दिनभर विद्युत् नहुँदा इन्भर्टर समेत चार्ज हुन पाउँदैन । जेनेरेटरको आवाजले जनकपुरमा ध्वनि प्रदूषण बढाएको छ ।

‘पोल सार्ने एरियामा लाइन काट्नु स्वाभाविक हो,’ झाले भने, ‘जुन एरियामा सडकको कामै भएको छैन, त्यहाँ पनि दिनभर लाइन हुँदैन ।’ प्राधिकरणले जनकपुरमा सिटी १ र सिटी २ गरेर विद्युत् सेवा दिइरहेको छ । प्राधिकरणका अधिकारीहरू धेरै पुराना ट्रान्सफर्मरका कारण विद्युतको चाप वहन गर्न नसक्दा केही ठाउँमा अनियमित भएको बताउँछन् ।

जनकपुर–८ की कौशिल्या सिंहले भनिन्, ‘गुनासो गर्न प्राधिकरणले राखेको फोन कहिल्यै उठ्दैन, हामी त बिजुलीका कारण आजित भइसक्यौं ।’ प्राधिकरणका एक कर्मचारी प्राविधिक र हाकिमकै लापरबाहीका कारण जनकपुरवासीले महिनौंदेखि समस्या झेलिरहेको बताउँछन् । प्राधिकरण जनकपुर शाखाका निमित्ति प्रमुख प्रवीण मिश्राले सडक र रेल्वे निर्माणका कारण विद्युत् सेवा अनियमित भएको बताए पनि लो–भोल्टेज र छिनछिनमा बत्ती जानेबारे आफू अनभिज्ञ भएको जनाए ।

जनकपुरमा विद्युतको लोड व्यालेन्सको समस्या रहेको भने उनले स्विकारे । जनकपुरमा दैनिक ३० मेगावाट विद्युत् खपत हुन्छ । जनकपुरको डिमान्ड अनुसार नै ३० मेगावाट विद्युत् आपूर्ति भइरहे पनि यहाँका उपभोक्ता प्राधिकरणको लापरबाहीले दिनहुँ दु:ख पाइरहेका छन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?