१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एकतर्फी निर्णयमा मोही कायम

भूमिसुधारको बदमासी
भूषण यादब

वीरगन्ज — भूमिसुधार कार्यालय पर्साले मोही नलाग्ने जग्गामा एकतर्फी निर्णय गरी मोही कायम गरेको पाइएको छ । कार्यालयले ०५२ पुस १६ मा लालपर्सा निवासी गोपाल साह तेलीको जग्गामा एका–संगोल मोही कट्टा गरिसकेको छ ।

एकतर्फी निर्णयमा मोही कायम

साविक कित्ता नम्बर ३९ को जग्गा किताकाट हुँदा कित्ता नम्बर १८७ र १८५ कायम भयो । १८७ को मोही एका संगोलको भनेर कट्टा गरियो । तर, कित्ता नम्बर १८५ को जग्गामा ०७३ माघ २४ मा कार्यालय प्रमुख गमबहादुर विकले मोही कायम गरी पतिराम साहका नाममा नामसारी गर्ने निर्णय गरे । तेलीका अनुसार साबिक कि.नं. ३९ को जग्गा कित्ताकाट भइ कायम भएको कि.नं. १८७ को जग्गामा भूमिसुधार कार्यालयले नै एका संगोलको मोही लगत कट्टा हुने गरी ०५२ पुस १६ मा निर्णय गरेको थियो ।

‘प्रमाणमा रहेको मिसिल प्रमाण कागजलाई ग्रहण नगरी भएको फैसला त्रुटिपूर्ण छ । जग्गामा विवाद नभएकाले विगतदेखि नै मैले घर बनाई बसोबास गरी आएको छु,’ गोपाल साह तेलीले भने, ‘विपक्षीले विगतदेखि नै उक्त जग्गा जोतकोड गरेका छैनन् ।’ तेलीले भूमिसुधार कार्यालयको निर्णय थाहा पाएपछि ०७३ चैतमा त्रुटिपूर्ण फैसला खारेजीका लागि उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । उच्च अदालतले उक्त मुद्दाको मिसिल पठाइदिन भूमिसुधारलाई ३ पटक पत्राचार गरिसकेको छ ।

शाखा अधिकृत केशवराज कौशिकका अनुसार प्रतिवादी गोपाल साह तेली र वादी पतिराम साह तेली भएको मोही नामसारी मुद्दामा उच्च अदालतले २ पटक पत्राचार गर्दा पनि मिसिल प्राप्त नभएकाले तेस्रोपटक ताकेता गरिएको हो । स्रोतका अनुसार कार्यालयबाट उक्त जग्गाको मिसिल नै गायब पारिएको छ । केही वर्षयता भूमिसुधार कार्यालये मोही नै नभएको जग्गामा धमाधम मोही कायम गरिरहेको छ । कार्यालयविरुद्ध उच्च अदालतमा करिब एक दर्जन मुद्दा दर्ता भएका छन् ।

यसै गरी तत्कालीन विर्वागुठी–९ (हाल पर्सागढी नगरपालिका– ४) निवासी राजभरी महतो धानुक र राजेश महतो धानुकबीचको विवादमा पनि मोही कट्टा नगरी ०७४ भदौ १४ मा मोही कायम गर्ने फैसला गरिएको छ । वीरगन्ज महानगर–७ चिरंजीवीलाल अग्रवालको जग्गामा पनि मरुवा मोही कट्टा हुनुपर्नेमा ०७४ कात्तिक २३ गते अरूलाई मोही ठहर्‍याई कायम गरिएको छ । ०७३ चैत २२ मा भूमिसुधार कार्यालयले वीरगन्ज महानगर–६ निवासी दशरथ प्रसाद गुप्ताको मोही नभएको जग्गामा पनि मोही कायम गरिएको छ ।

गुप्ताको श्रीसिया खल्वाटोलामा रहेको कित्ता नम्बर ४८ को जग्गाको फिल्डबुक उतारमा जग्गाधनी महलमा उनको आमाको नाम उल्लेख छ भने मोही महल खाली छ । ४८ कित्ताबाट कित्ताकाट भइआएको कित्ता नम्बर ९३ को जग्गाधनी दर्ता प्रमाण पुर्जाको मोही महल खाली छ । ‘उक्त कित्तामा झिंगन राउत कुर्मी मोही नै रहेको देखिदैँन,’ गुप्ताका वारेस आमोद कुमार गुप्ता भन्छन्, ‘अनि उनको मृत्युपछि उनकी श्रीमती कसरी मोही भइन् ?’ कार्यालय प्रमुख गम बहादुर विकले श्रीमानको नाममा मोही नभएपछि श्रीमतीको नाममा पनि कायम हुनै नसक्ने बताउँछन् । ‘बनावटी मोही कायम गरिएको छैन,’ उनले फोनमा भने, ‘लगत बाहिरको नयाँ मोही कायम गर्न सकिँदैन ।’ कसैले सुटुक्क मोहीको नाम हटाएको हुन सक्ने उनको जिकिर छ ।

प्रकाशित : श्रावण ७, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?