कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मुख्यमन्त्रीले लगाए झाडु

श्यामसुन्दर शशि

जनकपुर — मुख्यमन्त्री लालबाबु राउत आइतबार लक्ष्मीनिया गाउँपालिका-३, बनिगामामा झाडु लिएर देखापरे । उनले स्थानीय कुशे मल्लिक डुमको घरअगाडि बढारे । उनीमात्र होइन, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, गाउँपालिकाका प्रमुख बिन्देश्वर यादव, उपप्रमुख सुमित्रा यादवसहितका नेताका पनि हातहातमा झाडु थियो ।

मुख्यमन्त्रीले लगाए झाडु

अनि सिंगै गाउँका स्थानीय उनीहरुलाई सघाइरहेका थिए । मुख्यमन्त्री राउतले प्रदेशमा स्वच्छता अभियान आरम्भ गरेका हुन् । उनले स्थानीयलाई घरआँगनसँगै गाउँको नियमित सफाई गर्ने वचनबद्धतासमेत गराए ।


‘प्रदेश सरकारले ‘स्वच्छता अभियान’ तथा ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’ लाई प्राथमिकतामा राखेको छ । जुन स्थानीयवासीको सहयोगबिना सफल हुन सक्दैन,’ उनले भने । प्रदेश सरकारले ल्याएको प्रदेश लोकसेवासम्बन्धी विधेयकमा महिलालाई ५० प्रतिशत आरक्षण व्यवस्था गरिएको जनाउँदै राउतले महिला, दलित, जनजाति तथा पिछडिएका बालबालिकालाई अनिवार्य विद्यालय पठाउन आग्रह गरे । उनले सरकारले विकास निर्माणसँगै समाज परिवर्तनको अभियानलाई पनि निरन्तरता दिएको बताए । ‘स्वक्षता विकासको अहम् कडी हो । हामीले स्वच्छ, स्वस्थ र सभ्य प्रदेश बनाउन खोजेका हौं,’ राउतले भने ।


जनकपुर उपमहानगरसँगै जोडिए पनि खानेपानी, शौचालय तथा सरसफाइजस्ता जनस्वास्थ्यका न्यूनतम सुविधाबाट वञ्चित दलित तथा गरिब परिवारलाई लक्षित गरी ग्रामीण खानेपानी तथा कोष विकास समितिको सहयोगमा परडेक्स नामक गैरसरकारी संस्थाले अभियान सञ्चालन गरेको हो । १ करोड ८ लाख ४० हजारको लागतमा सञ्चालित अभियानलाई मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत १४ लाख सहयोग गरिएको संघीय समाजवादी फोरम प्रदेश २ का सचिव शेषनारायण यादवले जनाए ।


अभियानका स्थानीय साझेदार संस्था तपसीवावा र गजरिया खानेपानी आयोजनामा संलग्न शेषनारायण यादवले बस्तीमा १ सय ४२ चापाकल जडान गरिनुका साथै सरसफाईसम्बन्धी जनचेतना कार्यक्रम, शौचालय निर्माण, आमाबच्चा स्वास्थ्य शिक्षा आदि कार्यक्रम चलाइने बताए ।

मुख्यमन्त्री राउतले प्रदेश स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरणका लागि ५ करोडसम्म खर्चिइने जानकारी दिए । ‘जानकी मन्दिर यस प्रदेशको पहिचान र प्रतिष्ठासँग जोडिएको छ । यसको सौन्दर्यीकरणको लागी सरकारले सक्दो सहयोग गर्नेछ,’ उनले भने ।

प्रकाशित : श्रावण १३, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?