२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मोदी भ्रमण खर्च सार्वजनिक

कान्तिपुर संवाददाता

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला भएको खर्चको हिसाब प्रदेश सरकारले अढाई महिनापछि बल्ल सार्वजनिक गरेको छ । भ्रमणको खर्च सार्वजनिक गर्न प्रदेश सरकारमाथि चर्को दबाब परेको थियो ।

मोदी भ्रमण खर्च सार्वजनिक

वैशाख २८ गते भारतबाट सीधै जनकपुर भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीको रंगभूमि मैदानमा नागरिक अभिनन्दन गरिएको थियो । जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्न जनकपुर आएका मोदीको स्वागत र अभिनन्दनमा तीनै तहले तयारी र खर्च गरेका थिए ।

भ्रमणको खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना पाटीमा टाँसेको छ । मोदी भ्रमणका क्रममा प्रदेश सरकारले २ करोड ७६ लाख ४१ हजार ९ सय ९ रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता पद्म पोखरेलका अनुसार भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला प्रदेश सरकारबाट भएको खर्च रकम संघीय सरकारबाट भुक्तानी भइसकेको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार मोदी भ्रमणका बेला सबैभन्दा बढी खर्च नागरिक अभिनन्दनका लागि बनाइएको पन्डाल र मञ्चमा भएको छ । जनकपुरको रंगभूमि मैदानमा मोदीको नागरिक अभिनन्दनका लागि विशाल पन्डालको निर्माण गरिएको थियो । त्यसका लागि १ करोड ४९ लाख ७२ हजार ३ सय ५४ रुपैयाँ खर्च भएको छ ।

मोदीको जनकपुर भ्रमणका बेला प्रदेश सरकारले जनपरिचालनमा पनि ठूलो रकम खर्चेको थियो । प्रदेश २ को ८ वटै जिल्लाबाट मोदीको नागरिक अभिनन्दनमा मानिस ल्याउन प्रदेश सरकारका ८ जना मन्त्री खटिएका थिए । ७४ लाख ६८ हजार ७ सय ४४ रुपैयाँ जनपरिचालनमा खर्च भएको जनाइएको छ । त्यसमा बसको भाडा र हरेक बसमा खाजाबापत ५ हजार रुपैयाँ यो खर्चमा समेटिएको छ ।

तेस्रो बढी खर्च बुलेटिन, स्वागत द्वार, फलेक्स, अतिथि सत्कार, जानकी मन्दिरको रंगरोगन, सूचना प्रकाशन र प्रसारण र उपहारमा २५ लाख ६ हजार ५५ रुपैयाँ भएको छ । यस्तै, प्रचारप्रसारमा २० लाख ६२ हजार १३ रुपैयाँ खर्च भएको प्रदेश सरकारले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला सुरक्षा व्यवस्थापनमा ५ लाख ७५ हजार २ सय २१ रुपैयाँ र नगर सरसफाइमा ५७ हजार ५ सय २२ रुपैयाँ खर्च भएको प्रदेश सरकारले सार्वजनिक गरेको छ ।

उपमहानगरको खर्च ‘गुपचुप’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जनकपुर उप–महानगरपालिकाले गरेको खर्च अझै सार्वजनिक गरिएको छैन । मोदीको नागरिक अभिनन्दनको तयारी र व्यवस्थापन प्रदेश सरकारसँगै उपमहानगरपालिकाको कार्यालयले पनि गरेको थियो ।

मोदी भ्रमणका बेला जानकी मन्दिरदेखि रामान्दन चोकसम्मको सडक कालोपत्रे, जानकी मन्दिरको उत्तरी पर्खाल र रंगभूमि मैदानको पर्खालको रंगरोगन र मिथिला पेन्टिङ, सरसफाइलगायतको काम उपमहानगरपालिकाले गरेको थियो । जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश ढुंगानाले मोदी भ्रमणका बेला करिव १ करोड ८६ लाख रुपैयाँ खर्च भएको दाबी गरे ।

प्रकाशित : श्रावण १५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?