विद्यालय जान ‘किशोरी शिक्षा’

किशोरी शिक्षा उपलब्धिमूलक
दलित किशोरी उत्साहित
शिव पुरी

रौतहट — पढ्दापढ्दै बीचमै विद्यालय जान छाडेकी अप्सरा खातुन पुन: स्थानीय जनज्योति माविको कक्षा ८ मा भर्ना भएकी छन् । किशोरी शिक्षाअन्तर्गत उनी भर्ना भएकी हुन् । उच्च शिक्षा हासिल गर्ने सपना पूरा हुन लागेकोमा उनी खुसी देखिन्छिन् ।

विद्यालय जान ‘किशोरी शिक्षा’

खातुनका बुवा शौकत अली सिलाइकटाइ गर्छन् । मुस्लिम केटीले पढेर केही हुँदैन भन्दै बुवाले विद्यालय जानबाट वञ्चित गरेका थिए । ७ कक्षा पढेर छाडेकी उनी निकै तनावमा परिन् । ‘उच्च शिक्षा हासिल गर्ने सपना अधुरो भयो भन्ने लागेको थियो,’ खातुनले भनिन्, ‘फेरि भर्ना भएको छु, अब पढाइलाई निरन्तरता दिन्छु ।’ विश्वशिक्षाको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपालले जिल्लाभरि सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ अभियानअन्तर्गत उनी विद्यालय भर्ना भएकी हुन् ।

ग्रामीण विकास केन्द्रले सुरुमा ३ महिना ब्रिजिङ कक्षा सञ्चालन गरेको थियो । त्यसपछि ९ महिना किशोरी शिक्षा कार्यक्रम माध्यमबाट कहिल्यै पनि विद्यालय नगएकाहरूलाई साक्षर बनाउने काम गरिएको थियो । त्यसका लागि केन्द्रले १ सय ७५ वटा कक्षा सञ्चालन गरेको थियो । त्यसबाट झन्डै ७ हजार ५ सय किशोरी साक्षर बनेको केन्द्रका अध्यक्ष पारस हुसेनले बताए । ‘साक्षर अभियानकै क्रममा हामीले ५ हजार ६ सय ३० जना किशोरीलाई विद्यालय भर्ना गराएका छौं,’ उनले भने, ‘अहिले दलित लगायतका समुदायका किशोरीहरू धमाधम विद्यालय जान थालेका छन् । यसबाट किशोरी शिक्षा अभियानले सार्थकता पाएको छ ।’

विद्यालय भर्ना र निरन्तर अध्ययन गराउन भूमिका खेलको ग्रामीण विकास केन्द्रले विद्यालयमा किशोरीलाई टिकाइराख्न अभिभावकहरूलाई विभिन्न सीप र स्वरोजगारको अवसर समेत दिने पहल थालेको छ । यसले आर्थिक सबल बढ्ने र किशोरीलाई उच्च शिक्षा हासिलमा मद्दत पुग्ने केन्द्रले जनायो । यस्तो कार्यक्रमले बालविवाह न्यून गराउने समेत केन्द्रले अपेक्षा गरेको छ ।

ग्रामीण विकास केन्द्र नेपालले विद्यालय जानबाट वञ्चित र भर्ना नै नभएका विभिन्न नगरपालिका र गाउँँपालिकाका १ सय ३२ किशोरीलाई छात्रवृत्ति वितरण गरेको थियो । चन्द्रपुर ५ की १४ वर्षीय सबरा खातुनले विद्यालय र अध्ययनका बारेमा कहिल्यै थाहा पाइनन् । केन्द्रको पहलमा उनले किशोरी शिक्षा लिइन् र जनज्योति माविको कक्षा ५ मा भर्ना भइन् । उनी अहिले निरन्तर विद्यालय जान थालेकी छन् ।

‘यसरी पढ्न पाउँछु भनेर सोचेको पनि थिइनँ,’ उनले भनिन्, ‘अभिभावकै कारण विद्यालय जान नपाएको हो ।’ उनका बुवा इद्रिस मन्सुरी सानो व्यापारी हुन् । आर्थिक अवस्थाकै कारण इद्रिसले छोरीलाई विद्यालय पढाउने सोच बनाएनन् । छोरीले रुचि देखाएर विद्यालय जान थालेपछि अहिले परिवारका सदस्य सबै खुसी छन् । जिल्लाका अधिकांश दलित समुदायमा किशोरीलाई विद्यालय पढाउन पठाउँदैनन् । उनीहरूले भर्ना समेत गराउँदैनन् ।

किशोरी शिक्षा अभियानअन्तर्गत गाउँँगाउँँ गएर अभिभावकलाई सम्झाउने बुझाउने गरिन्छ । उनीहरूको भावनाअनुसार कक्षा लिइन्छ । र साक्षर भएपछि विद्यालय भर्ना गराइन्छ । ‘सुरुमा गाउँँका सबैले मास्टर्नी हुन आई भनेर अपमान जस्तै गर्थे,’ केन्द्रकी सहजकर्ता रिना यादवले भनिन्, ‘धेरै लामो समयपछि किशोरीहरूलाई साक्षर बनाउन सफल भयौं ।’

तराई मधेसमा छोरीलाई पढाउँदै नपढाउने र सानै उमेरमा विवाह गर्ने प्रचलन बढेको भन्दै नेता नेपालले दु:ख व्यक्त गरे । उनले किशोरी शिक्षा अभियान अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको औंल्याए । कापी–कलम साथमा भएन भने जीवन आफ्नो साथमा कहिले नहुने उनले सुनाए ।

बेटी बचाऊँ, बेटी पढाऊँ
‘बेटी बचाऊँ, बेटी पढाऊँ, बेटीलाई स्वावलम्बी बनाऊँ’ भन्ने मूल नारा लिएर अहिले जिल्लाभरि अभियान सुरु गरिएको छ । अभियानलाई सफल बनाउन स्थानीय तहले छोरीलाई विद्यालय जान प्रोत्साहन गर्दै साइकल वितरण गर्दै आएको छ ।

अभिभावकहरूले छोरीलाई विद्यालय पढाउने प्रतिबद्धता समेत जनाएका छन् । यो जिल्ला शिक्षामा निकै पछि परेको छ । रामदुलारी शिव समाज केन्द्र, नेपाल भारत मैत्री बिरंगना फाउन्डेसन काठमाडाैं र भारतीय महावाणिज्यदूतावास वीरगन्जको संयुक्त तत्वाधानमा ‘बेटी बचाउँm, बेटी पढाऊँ, बेटीलाई स्वावलम्बी बनाऊँ’ भन्ने मूल नारा लिएर जनचेतनामूलक कार्यक्रम सुरु गरिएको थियो । छोरीलाई विद्यालय पठाउन अनुरोध सहित जिल्लामा ‘बेटी बचाऊँ बेटी पढाऊँ’ अभियान सुरु गरिएको हो । तराईका जिल्लाहरूमा छोरीलाई हेला गर्ने, दाइजोको नजरले हेर्ने, बालविवाह गरिदिने, छोरीलाई विद्यालय नपठाउने जस्तो प्रथा अझै कायम छ ।

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ‘बेटी बचाऊँ बेटी पढाऊँ’ को अवधारणा अघि सारेका हुन् । यसको न्यूनीकरणका लागी प्रदेश सरकारले मुख्यमन्त्री ‘बेटी बचाऊँ बेटी पढाउँm’ अभियानका लागि २० करोड विनियोजन गरेको छ । यो प्रदेश विकास र शिक्षामा निकै पछि परेको छ । गरिबीका कारण अशिक्षा, अशिक्षाका कारण गरिबी रौतहटको मुख्य समस्या हो । अधिकाश दलित परिवारका बालबालिका विद्यालय जाँदैनन् । हुनेखानेका छोरीलाई समेत विद्यालय पठाउँदैनन् । पढ्न गएका छोरीलाई समेत विभिन्न बहाना देखाएर छुटाउँछन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?