१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लेनदेन मुद्दामा प्रहरीको पत्र

कान्तिपुर संवाददाता

रौतहट — केन्द्रीय कार्यालयको निर्देशन अटेरी गर्दै रौतहट प्रहरीले लेनदेन मुद्दामा पत्र काटेको छ । एक निजी विद्यालय सञ्चालकलाई हाजिरी हुन पत्र काटेको हो । प्रहरी प्रधान कार्यालयले कुनै पनि लेनदेनका मुद्दा नहेर्न निर्देशन दिएको थियो ।

लेनदेन मुद्दामा प्रहरीको पत्र

यसअघि पनि प्रहरीले नियम मिचेर लेनदेनको विषयमा पत्र पठाएको भन्दै विद्यालय प्रशासनले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुद्दा दायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक मनोज यादवले चन्द्रपुर नगरपालिकास्थित माउन्ट एभरेस्ट आवासीय माविको हिसाबकिताब र कागजपत्र माग गरेका हुन् ।

उनले विद्यालय सञ्चालक उमेशप्रसाद बास्कोटा र लेखापाल अनन्तकुमार अधिकारीसमेतलाई उपस्थित गराउन केही दिनअघि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई पत्राचार गरेका थिए । पत्र आएलगत्तै बास्कोटाले उच्च अदालतमा रिट दायर गरेका थिए । कम्पनी ऐनमा दर्ता भएको संस्थाको हिसाबकिताब सम्बन्धित ऐनअनुसार हुने हुँदा त्यस कार्यालयबाट निवेदकलाई नबोलाउनू, हिसाब किताब नमाग्नु भन्ने अन्तरिम आदेश जारी भएको बास्कोटाले जनाए । सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची १ मा उल्लिखितबाहेक हेर्न नपाउने मुद्दामा समेत प्रहरीको हस्तक्षेप बढेको भन्दै आलोचना भइरहेको छ ।

प्रहरी निरीक्षक यादवले भने जिल्ला प्रशासन कार्यालयको आदेश कार्यान्वयनका लागि विद्यालय सञ्चालकलाई उपस्थित हुन पत्र पठाइएको बताए । उक्त विद्यालयका तत्कालीन प्रिन्सिपल हरेन्द्रराय यादवले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि त्यसै विषयमा छलफल गर्न पत्र पठाइएको प्रहरीले जनाएको छ । यादवले आफूमाथि अन्याय भएको बताएका छन् । ‘विभिन्न कारण देखाएर मलाई अपमान गर्ने काम भयो,’ उनले भने, ‘कतैबाट न्याय नपाएपछि प्रशासन गुहारेको हुँ ।’

जिल्ला प्रहरीले यसअघि चन्द्रपुर ९ सन्तपुरका चालक दिपककुमार तिमल्सिनालाई लेनदेनको विषयमा मौखिक रूपमा हाजिर हुन दबाब दिएको थियो । तत्कालीन प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोख्रेलले लेनदेनको विषयमा हाजिर हुन दबाब दिएपछि तिमल्सिनाले अधिकारकर्मी गुहारेका थिए । उक्त मुद्दामा प्रहरीको आलोचना भएको थियो ।

प्रकाशित : श्रावण २१, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?