कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा माग्दै प्रशासनमा उजुरी

कटहरियामा जनप्रतिनिधि–कर्मचारी विवाद
शिव पुरी

रौतहट — जनप्रतिनिधि र कर्मचारीबीच विवादले कटहरिया नगरपालिकाको कामकाज प्रभावित भएको छ । असुरक्षाको कारण देखाउँदै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल आइतबार कार्यालय छाडेर सदरमुकाम गौर पुगेका छन् । उनीहरूले जिल्ला प्रशासनमा शान्तिसुरक्षा माग्दै निवेदनसमेत दिएका छन् ।

सुरक्षा माग्दै प्रशासनमा उजुरी

प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनी र लेखापाल राजेश्वरप्रसाद कुसवाहसँग उपमेयर नुरजहा खातुनसहित वडाध्यक्षहरूले गत आवमा भएका विकासनिर्माण लगायत शीर्षकको खर्च विवरण मागेपछि विवाद बढेको हो । ‘हामीले खर्च भएको हिसाव पारदर्शी ढंगले मागेका हौं,’ खातुनले भनिन्, ‘असुरक्षा भन्ने सवाल कहाँबाट आयो ? कुनै कर्मचारीलाई केही भएकै छैन । प्रशासनमा गएको सुन्दा आश्चर्यमा परे ।’

यसअघि पनि विवाद हुँदा जिल्ला प्रशासनले दुबै पक्षलाई बोलाएर साम्य पारेको थियो ।
प्रजिअ गोविन्दप्रसाद रिजालले असुरक्षाको कारण देखाउँदै प्रमुख प्रशासकीय अधिकृत र लेखापालले उपमेयर खातुनका श्रीमान् नसरुद्धिन अन्सारीसहितलाई कारबाही माग्दै निवेदन दिएको बताए ।

‘नगरपालिकामा काम गर्ने वातावरण नभएको र असुरक्षाको कारण जनाउँदै निवेदन दिएका छन्,’ उनले भने, ‘शान्तिसुरक्षा मिलाउन जिल्ला प्रहरीमा लेखेर पठाएको छ ।’ कर्मचारी र जनप्रतिनिधिको विवादले सेवाग्राहीको काम प्रभावित नपार्न दुबै पक्षलाई निर्देशन दिएका छन् । नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच तालमेल छैन । सधैंजसो विवाद र झगडा हुने गरेको स्थानीयको गुनासो छ । विवादकै कारण नगरपालिकाले सवारी खरिदका लागि छुट्याएको १ करोड ५० लाख र अन्य शीर्षकको गरी ३ करोड रुपैयाँ फ्रिज भएको थियो ।

लेखापाल कुसवाहले गत आवका विभिन्न शीर्षकका योजनामा वडाध्यक्ष तथा नगरपालिकाको जिम्मेवार पदाधिकारीहरूलाई झुक्याएर हस्ताक्षर गराएपछि आफूले विरोध जनाएको उपमेयर खातुनले बताइन् । मेयर शियाराम कुसवाह कर्तव्य ज्यान मुद्दामा जेल परेपछि उपमेयर खातुनले नगरपालिका चलाइरहेकी छिन् । विवाद बढेपछि कार्यालयको एउटा कोठामा ताला लगाइएको छ ।

कर्मचारीले खातुनका श्रीमानसहित केही जनप्रनितिनिधिलाई कारबाही माग गरेका छन् । अधिकृत सहनीले आफूहरूलाई कार्यालयमा काम गर्ने वातावरण नभएको बताए । ‘सधैं दुव्र्यवहारजस्तै सहनुपर्ने,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्न सकिँदैन । त्यसैले सुरक्षा माग्दै प्रशासनमा निवेदन दिएका छौं ।’ जनप्रतिनिधि भने कर्मचारीमाथि कुनै दुव्र्यवहार नभएको दाबी गर्छन् । ‘हिसाब माग्दा दुव्र्यवहार भयो, असुरक्षा भयो भन्न मिल्दैन,’ एक वडा अध्यक्षले भने, ‘हिसाब माग्दा उजुरी दिने यो कस्तो नियम हो ।’ प्रमुख प्रशासकीय अधिकृत सहनीलाई प्रभावमा पारी पुराना हिसावकिताब अनुमोदन गर्न खोज्दा पोल खुलेपछि लेखापाल कुसवाहले नाटक रचेको जनप्रतिनिधिको आरोप छ ।

उपमेयरलाई कार्यवाहक नबनाउँदा अहिलेसम्म नगरपालिकाको नगरपरिषदसमेत हुन सकेका छैनन् । चालू आवका विकास निर्माण योजना तर्जुमा गर्न सकेको छैन । कर्मचारीकै कारण यस्तो अवस्था आएको जनप्रतिनिधिको आरोप छ । जनप्रतिनिधिहरू लेखापाल कुसवाहविरुद्ध यसअघि पनि कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासनमा डेलिगेशन गएका थिए । कुसवाहाले खातुनका श्रीमान् नसरुद्धिनले गत बिहीबार नास्ताको विषय लिएर कार्यालयमा धम्क्याएपछि आफू घर बिदामा बसेको बताए ।

प्रकाशित : श्रावण २१, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?