किशोरी ‘हत्या’को अनुसन्धान फितलो

पवन यादव

निजगढ — कलैया उपमहानगरपालिका–५ घुसुकपुरकी १८ वर्षीया प्रियंकाकुमारी मिश्रको शंकास्पद मृत्यु घटनामा प्रहरी अनुसन्धान फितलो भएको स्थानीयले आरोप लगाएका छन् ।

किशोरीकै पिता बृजकिशोर मिश्राको संलग्नतामा हत्या भएको उनीहरूको भनाइ छ ।

Yamaha

मुख्य आरोपितलाई प्रहरीले एकदुई दिनमै तारेखमा छाडेको र कुनै मुद्दा दर्ता नगरिनुले घटना ढाकछोप गर्न खोजेको स्थानीयले बताए । घटनाको डेढ महिना बितिसकेको छ ।

वीरगन्जस्थित द हिमाल इन्स्टिच्युट हेल्थ एन्ड टेक्निकल साइन्स कलेजमा एचए अध्ययनरत प्रियंका सँगै पढ्ने युवकसँग प्रेममा थिइन् । उनी गर्भवती थिइन् ।

प्रियंकाका बुबा र काका बिहेको प्रस्ताव लिएर घटनाको १० दिनअघि युवकको घर पुगेका थिए । युवकले आफू विवाहित भएको भन्दै प्रियंकालाई स्वीकार्न मानेनन् ।
त्यसपछि अभिभावकले प्रियंकालाई गर्भपतन गराउन दबाब दिए । तर, प्रियंकाले गर्भपतन नगराई कानुनी बाटो रोज्ने बताएपछि परिवारले यातना दिन सुरु गरेको स्थानीयले बताए ।

परिवारले उनलाई असार १२ गते घरमै निर्घात कुटपिट गरेको थियो । सिकिस्त अवस्थामा पुगेकी उनको परिवारले घाँटी थिचेर हत्या गरेको छिमेकीको दाबी छ ।

‘हत्या लुकाउन रातारात शव गाउँ पुर्‍याइयो,’ एक छिमेकीले भने । २ जना आफन्तले मोटरसाइकलमा बीचमा राखेर शव चोरबाटो पुख्र्यौली गाउँ सुर्वणपुर–४ हर्दियामा राति १० बजेतिर पुर्‍याएको एक गाउँलेले बताए । एक स्थानीय महिलाले शवको शरीरभरि नीलडाम र मुखमा चोट देखिएको जनाइन् ।

‘चोटैचोट लागेको शव डरलाग्दो देखिन्थ्यो,’ उनले भनिन्, ‘राति नै अन्तिम संस्कार गरे ।’ उनका अनुसार हतारहतार गाउँनजिकैको खोलाकिनारमा शव जलाइएको थियो ।

बृजकिशोरले भने छोरीको मृत्यु बिरामीले भएको प्रतिक्रिया दिए । ‘छोरी बिरामी भएर मरेको हो,’ उनले भने, ‘अहिले म तपाईंसँग कुरा गर्न सक्दिनँ ।’ उनी पटकपटक यसै भनरे पन्छिए । बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘मृतकका बुबालाई नियन्त्रणमा लिएर सोधपुछ गरेका हौं,’ उनले भने, ‘अहिले तारेखमा राखेर घटनाको अनुसन्धान सुरु गरेका छौं ।’ मृत्युको यकिन तथ्य फेला नपरेसम्म बृजकिशोरलाई नियन्त्रणमा राख्न नमिल्ने उनले बताए ।

प्रियंकाको हत्या भएको दाबी गरी दिइएको उजुरीसमेत प्रहरीले दर्ता नगरेको छिमेकी धुरुपप्रसाद यादवले बताए ।

‘प्रहरीले उजुरी समेत दर्ता नगर्नुले झन सशंकित बनाएको छ,’ उनले भने, ‘यसले घटना ढाकछोप गर्न खोजिएको पुष्टि गर्छ ।’ घटना दबाउन चौतर्फी प्रयास भइरहेको उनले आरोप लगाए ।

प्रकाशित : श्रावण २१, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भिडियोमा उत्कृष्ट तस्बिरहरु

विद्या राई

काठमाडौँ — फोटो पत्रकार क्लब (पिजे क्लब)ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरूको प्रदर्शनी सकिएको छ । काठमाडाै‌को नेपाल आर्ट काउन्सिल, बबरमहलमा  यही साउन १६ गते बुधबारबाट २१ गते सोमबारसम्म चलेको प्रदर्शनीमा १८ हजार दर्शकले अवलोकन गरेको कार्यक्रम संयोजक प्रकाशचन्द्र तिमिल्सेनाले बताए । 

राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए। फोटो पत्रकार क्लवको यो प्रतियोगिता एवं प्रदर्शनी छैठौं संस्करण हो।

फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखााची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटोहरू राखिएको थियो।
‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, कल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटोले प्रतिस्पर्धा गरेको थियो।
काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिएका फोटोहरूको काठमाडौं बाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसैवर्ष सम्पन्न गरिने भएको छ।

प्रकाशित : श्रावण २१, २०७५ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT