कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

किशोरी ‘हत्या’को अनुसन्धान फितलो

पवन यादव

निजगढ — कलैया उपमहानगरपालिका–५ घुसुकपुरकी १८ वर्षीया प्रियंकाकुमारी मिश्रको शंकास्पद मृत्यु घटनामा प्रहरी अनुसन्धान फितलो भएको स्थानीयले आरोप लगाएका छन् ।

किशोरी ‘हत्या’को अनुसन्धान फितलो

किशोरीकै पिता बृजकिशोर मिश्राको संलग्नतामा हत्या भएको उनीहरूको भनाइ छ ।


मुख्य आरोपितलाई प्रहरीले एकदुई दिनमै तारेखमा छाडेको र कुनै मुद्दा दर्ता नगरिनुले घटना ढाकछोप गर्न खोजेको स्थानीयले बताए । घटनाको डेढ महिना बितिसकेको छ ।


वीरगन्जस्थित द हिमाल इन्स्टिच्युट हेल्थ एन्ड टेक्निकल साइन्स कलेजमा एचए अध्ययनरत प्रियंका सँगै पढ्ने युवकसँग प्रेममा थिइन् । उनी गर्भवती थिइन् ।


प्रियंकाका बुबा र काका बिहेको प्रस्ताव लिएर घटनाको १० दिनअघि युवकको घर पुगेका थिए । युवकले आफू विवाहित भएको भन्दै प्रियंकालाई स्वीकार्न मानेनन् ।

त्यसपछि अभिभावकले प्रियंकालाई गर्भपतन गराउन दबाब दिए । तर, प्रियंकाले गर्भपतन नगराई कानुनी बाटो रोज्ने बताएपछि परिवारले यातना दिन सुरु गरेको स्थानीयले बताए ।


परिवारले उनलाई असार १२ गते घरमै निर्घात कुटपिट गरेको थियो । सिकिस्त अवस्थामा पुगेकी उनको परिवारले घाँटी थिचेर हत्या गरेको छिमेकीको दाबी छ ।


‘हत्या लुकाउन रातारात शव गाउँ पुर्‍याइयो,’ एक छिमेकीले भने । २ जना आफन्तले मोटरसाइकलमा बीचमा राखेर शव चोरबाटो पुख्र्यौली गाउँ सुर्वणपुर–४ हर्दियामा राति १० बजेतिर पुर्‍याएको एक गाउँलेले बताए । एक स्थानीय महिलाले शवको शरीरभरि नीलडाम र मुखमा चोट देखिएको जनाइन् ।


‘चोटैचोट लागेको शव डरलाग्दो देखिन्थ्यो,’ उनले भनिन्, ‘राति नै अन्तिम संस्कार गरे ।’ उनका अनुसार हतारहतार गाउँनजिकैको खोलाकिनारमा शव जलाइएको थियो ।


बृजकिशोरले भने छोरीको मृत्यु बिरामीले भएको प्रतिक्रिया दिए । ‘छोरी बिरामी भएर मरेको हो,’ उनले भने, ‘अहिले म तपाईंसँग कुरा गर्न सक्दिनँ ।’ उनी पटकपटक यसै भनरे पन्छिए । बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


‘मृतकका बुबालाई नियन्त्रणमा लिएर सोधपुछ गरेका हौं,’ उनले भने, ‘अहिले तारेखमा राखेर घटनाको अनुसन्धान सुरु गरेका छौं ।’ मृत्युको यकिन तथ्य फेला नपरेसम्म बृजकिशोरलाई नियन्त्रणमा राख्न नमिल्ने उनले बताए ।


प्रियंकाको हत्या भएको दाबी गरी दिइएको उजुरीसमेत प्रहरीले दर्ता नगरेको छिमेकी धुरुपप्रसाद यादवले बताए ।


‘प्रहरीले उजुरी समेत दर्ता नगर्नुले झन सशंकित बनाएको छ,’ उनले भने, ‘यसले घटना ढाकछोप गर्न खोजिएको पुष्टि गर्छ ।’ घटना दबाउन चौतर्फी प्रयास भइरहेको उनले आरोप लगाए ।

प्रकाशित : श्रावण २१, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?