२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एकदिने गोष्ठीका लागि ३ लाख

कान्तिपुर संवाददाता

वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा १ को कार्यालयमा सोमबार राजस्व सुधार कार्ययोजनाबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

एकदिने गोष्ठीका लागि ३ लाख

गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल र कार्यकारी अधिकृत शेरे मुस्तुफा उपस्थित रहेको गोष्ठीका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

आव सकिएको २१ औँ दिनमा भइरहेको उक्त कार्यक्रम कानुनत: त्रुटिपूर्ण रहेको जिल्ला समन्वय समितिले जनाएको छ । सोही गाउँपालिकाले साउन ७ देखि गाउँसभा सदस्यका लागि नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम आयोजना गरेको थियो । सखुवाप्रसौनी ५ महुवनमा सम्पन्न भएको उक्त तालिमका लागि गत आवको बजेटमा ७ लाख रुपैयाँ छुट्याइएको थियो ।

यसैगरी साउन ९ मा उक्त गाउँपालिकाले दिपनारायण उच्च मावि औराहामा बालविवाह तथा दाइजो प्रथा विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । वक्तृत्वकला कार्यक्रम आयोजक संस्थासँग सम्झौता नै नगरी गरिएको पाइएको छ । कार्यकारी अधिकृत शेरे मुस्तुफाले उक्त कार्यक्रमको सम्झौता नगरिएको खुलाए ।

‘वक्तृत्वकला कार्यक्रम हुने दिन बिहान फोन गरी बोलाएका थिए,’ उनले भने, ‘कार्यक्रम आयोजना गर्ने संस्थासँग कुनै सम्झौता गरिएको छैन ।’ महुवन, मधुवल मथवल र पचगावा श्रीपुरका विद्यार्थी सहभागी भएका वक्तृत्वकलाका विजेतालाई वितरण गरिएको प्रमाणपत्रमा मिति समेत उल्लेख गरिएको छैन । स्रोतका अनुसार गाउँपालिका अध्यक्ष प्रदीप जैसवालले वक्तृत्वकलाका लागि ३ लाख रुपैयाँ निकासा दिने आयोजक संस्थालाई आश्वासन दिएका थिए ।

‘सम्झौता भए/नभएको मलाई जानकारी भएन,’ अध्यक्ष जैसवालले भने, ‘तर, कार्यक्रम उपलब्धिमूलक रह्यो ।’ राजस्व परामर्श र गाउँसभा सदस्यको तालिम कार्यक्रमको बजेट फ्रिज नहुने भएकाले आव सकिएपछि कार्यक्रम गरिएको मुस्तुफाले बताए । ‘असार मसान्तमा विकास निर्माणको कामले भ्याइनभ्याइ थियो,’ उनले भने, ‘पेस्की दिइसकेका थियौँ ।’ जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी निश्चल पान्डेले पुरानो बजेटबाट नयाँ आर्थिक वर्षको कार्यक्रम गर्दा गाउँसभाबाट पारित गराई गर्नुपर्ने बताए ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?